Labels

Sunday, January 19, 2014

सहिदको सम्झना भयो तर घाइतेको पिडा कसले सुन्ने ?


मधेसवादी दल र नेताहरुले मधेस आन्दोलनको स्मरण गर्दै लहानस्थित सहिद रमेश चोकमा बलिदानी दिवस मनाउन थालेको आज छैटौँ वर्ष पूरा भएर सातौं वर्ष पुग्दैछ तर मधेस आन्दोलनमा घाइते भएकाहरुका लागि भने त्यो दिन मन पोल्ने गरी आउने गरेको स्वयम् घाइतेहरु नै बताउँछन् । “आन्दोलनमा ज्यान गुमाउनेहरु त सहिद भए, सम्बन्धित परिवारले थोरै भए पनि राहत पाए तर म त आन्दोलनको घाइते, मैले उपचार खर्चबाहेक केही पनि पाइनँ, आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर खुट्टा नै काटिएपछि मेरो त सर्वस्व नै गुमेको छ । जहान, बालबच्चाको पालनपोषण गर्नै समस्या भएको छ । मधेस र मधेसीको मुक्तिको कुरा गर्ने मधेसी दलहरुको कुरा र व्यवहारले मन दुख्छ”, सिरहाको गोविन्दपुर गाविस–३ ग्रामीण टोलका ३३ वर्षीय मधेस आन्दोलनका घाइते किसुन साह गुनासो गर्छन् ।

    रिक्सा चलाएर परिवारको गुजारा चलाउँदै आएका साह गोली लागेर खुट्टा गुमाएपछि आफूसहित तीन छोराछोरी र श्रीमतीको हातमुख जोड्न नक्कली खुट्टाको भरमा गाउँदेखि करिब एक किलोमिटर उत्तरतिर रहेको खुट्टी खोलामा गिट्टी बालुवा चाल्न बाध्य छन् । उनले आन्दोलनमा घाइते भएपछि उपचारबाहेक केही पाउन नसकेको मात्र होइन, अपाङ्ग भएपछि मधेसका नेताले आफूलाई बेवास्ता गरेको गुनासो गरे । सुकम्बासी परिवारका उनले जहान बालबच्चाको भरण पोषणका लागि गिट्टी बालुवा नचाले भोकै सुत्नुपर्ने बाध्यता रहेको छ । मधेस आन्दोलनका अगुवा नेतालाई कैयौँपटक रोजगारी खोजी गरिदिन आग्रह गरे पनि नेताहरुले केही नगरेकामा उनले आक्रोशसमेत व्यक्त गरे ।
    “भाषणमा मधेस र मधेसीको मुक्तिको कुरा गर्ने मधेसवादी दलका नेताहरु सत्ताको भ¥याङ उक्लिनमात्र त्यसो भनिरहेका छन्” साहले सुनाए “नत्र आन्दोलनमा सहिद भएकाको परिवार र घाइतेहरुको अवस्था कस्तो छ भन्ने कुनै चासो हुनुपर्दैन ?” “मधेस आन्दोलनका नाममा म जस्तो व्यक्तिले खुट्टा गुमाएर के पाएँ ?” उनको प्रश्न थियो । खुट्टा सद्दे हुँदा झारजङ्गल गरेर भए पनि जीविका चलाउँदै आएका उनले खुट्टा काटिएपछि नक्कली खुट्टाको सहारामा दिनभरि काम गरेर घर फर्कंदा खुट्टा सुन्निएर अर्को कष्ट सहनुपर्ने दैनिकी सुनाए । “मधेस आन्दोलनका कमाण्डर उपेन्द्र यादव लहान आउँदा कष्ट सहँदै लहानसम्म आएर जीविकाका लागि केही सहयोग मागेको थिएँ” विगत कोट्याउँदै उनले सुनाए, “उहाँले आफ्नो पार्टीका सभासद् विजयकुमार यादवसँग भेट गर्नु भन्दै दुईवटा मोबाइल नं पनि दिनुभयो, त्यसपछि उक्त नं मा फोन गर्दा विस्तारै उठ्न पनि छोड्यो ।” “नेताहरुले आश्वासनबाहेक केही दिएनन्”, उनको गुनासो थियो ।
    रिक्सा चालकका रुपमा मजदुरी गरेर एक छोरा, दुई छोरी र श्रीमतीसहितको परिवारको हातमुख जोड्दै आएका साह २०६३ माघ ८ गतेका दिन लहानमा प्रहरी र प्रदर्शनकारीको झडप हेर्दै गर्दा प्रहरीको गोली लागेर दाहिने खुट्टा नै गुमाउनुपरेपछि सर्वस्व गुमाउनुपरेको महसुस गरिरहेका छन् । “झडप हेरिरहँदा अकस्मात लागेको प्रहरीको गोलीले अचेत भएपछि भोलिपल्ट राजधानी काठमाडौँको छाउनीस्थित दीपेन्द्र प्रहरी अस्पतालमा खुट्टा काट्न चिकित्सकले सुनाउने बेलामा मात्र थाहा पाएँ” मसँगै ल्याइएका ढोढना मोहनपुरका बेचन महतोको निधन भएपछि मनमा चिसो पसेको थियो” उनले सुनाए, “खुट्टा नकाट्न चिकित्सकलाई बिन्ती गरेँ तर पछि क्यान्सर हुन सक्ने बताएपछि मनले हार खायो ।”
     अन्ततः गोली लागेको पर्सिपल्ट माघ १० गते दाहिने खुट्टाको घुँडामुनिको भाग काटियोे । त्यसपछि निरन्तर अर्को वर्षको वैशाख २६ गतेसम्म अस्पतालमै बसेर डिस्चार्ज भएपछि आफ्नो जन्मथलो फर्किएयता उनले जीवन गुजाराका लागि सकस झेल्दै आएका छन् । पीडा पोख्दै किसुनदेवले भने, “मधेस आन्दोलनको नाउँमा धेरैले सहिद र घाइतेहरुको नाम भजाए, तर हामीजस्ता आन्दोलनमा घाइते भएकाले केही पाएनौँ ।” विसं २०६२/०६३ को जनआन्दोलनपछि २०६३ माघ १ गतेदेखि लागू भएको अन्तरिम संविधानमा सङ्घीयता र समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था नगरिएको भन्दै मधेसी जनअधिकार फोरम नेपालको आह्वानमा सुरु भएको आन्दोलनका क्रममा माघ ५ गते लहानमा तत्कालीन माओवादी पार्टीका सियाराम ठाकुरले चलाएको गोली लागेर विद्यार्थी रमेश महतोको मृत्यु भएपछि आन्दोलन देशव्यापी भएको थियो । आन्दोलनका क्रममा सिरहाका विभिन्न ठाउँका पाँचजनाले सहादत प्राप्त गरेका थिए भने तीन दर्जनभन्दा बढी घाइते भएका थिए ।
    मधेस आन्दोलनका क्रममा तराईका जिल्लाबाट ३८ जनाको निधन भएको थियो भने ५८ जना गम्भीर घाइते भएका थिए । तर घाइतेहरुले अहिलेसम्म राहत नपाएको गुनासो गरेका छन् । सरकारसँग घाइतेलाई राहत उपलब्ध गराउने, घाइते, अपाङ्ग, उपचार हुन बाँकी रहेकाहरुको औषधि उपचारको व्यवस्था गर्नेसहितको सम्झौता भए पनि उपचारबाहेक केही नपाएको घाइतेहरुको गुनासो रहेको छ
Madan Das

No comments:

Post a Comment