Labels

Tuesday, January 7, 2014

एकताका लागि तीन दल तयार

काठमाडौ पुस २३ गते । दोस्रो सविधानसभामा सोचेअनुसार परिणाम हासिल गर्न नसकेका मधेशवादी दलहरुले अहिले आएर एकीकरणमा जोड दिएका छन् ।
पार्टी स्थापनासँगै २०६४ सालमा लोकतान्त्रिक मधेशी मोर्चा गठन गरेका मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) र सद्भावना पार्टीबीच मंगलवार एकीकरण गर्ने सैद्धान्तिक सहमति भएको छ ।
तमलोपाका अध्यक्ष महन्थ ठाकुरको निवासमा बसेको तीन दलको बैठकमा पार्टी एकीकरण गर्ने सैद्धान्तिक सहमति भएको हो । हुनत चुनावअघि पनि यी तीन दलबीच एकीकरणको प्रयास नभएको होइन तर नेतृत्वका लागि एक अर्कालाई स्विकार नगरेका कारण प्रयास असफल भएको थियो तर अहिले चुनावमा असफलता हात लागेपछि उहाँहरु एकीकरण गर्नका लागि बाध्य हुनु भएको छ ।

यी तीन दलमध्ये सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तमलोपाका ठाकुर सविधानसभाको चुनावमा पराजित हुनु भएको छ भने फोरम नेपालका अध्यक्ष उपेन्द यादव मोरगं र सुनसरीमध्ये सुनसरीबाट मात्र चुनाव जित्नु भएको छ ।
फोरम नेपालका अध्यक्ष यादवले मधेशी जनता दलहरुको बीचमा एकता चाहेका छन् भने कुरा निर्वाचनको परिणामले पुष्टि गरिसकेकाले एकता र सहकार्यको विकल्प नरहेको बताउनु भयो । हुनत चुनावअघि पनि एकीकरण गर्ने भनि दलहरुको बीचमा सैद्धान्तिक सहमति नभएको होइन तर अहिले परिस्थिति बदलिएको छ, उहाँले भन्नुभयो–‘लामो प्रयासपछि आज एकीकरण गर्ने सहमति भएको हो अझ धेरै विषयमा छलफल हुन बाँकी छ ।’
चुनावअघि तमलोपा र फोरम नेपालबीच एकीकरणको कुरा अन्तिमचरणमा पुगेको थियो । सबै विषयमा कुरा मिलेपनि एकीकृत पार्टीको नेतृत्व कसले गर्ने विषयमा टुगों लागेका थिएन र एकीकरणको प्रकृया भंग भएको थियो । त्यसपछि सद्भावना पार्टी र तमलोपाबीच एकीकरणको कुरा तिब्र रुपमा अगाडि बढेको थियो तर त्यहाँ पनि नेतृत्वको कुरा नमिलेपछि एकीकरण हुन सकेका थिएन ।
स्रोतका अनुसार तमलोपाका अध्यक्ष महन्थ ठाकुरले एकता र एकीकरणका लागि आफ्नो पार्टीले पहल गरेको कारण शुरुमा आफूले पार्टीको नेतृत्व गर्नुपर्ने दावी गर्दै आउनु भएको छ । यी दुई नेताभन्दा अध्यक्ष ठाकुर अनुभवले पाको, उमेरले पाको र इमान्दार भएका कारणले पार्टीले पनि एकीकृत पार्टीको नेतृत्व पाउनुपर्ने निर्णय नै गरेका छन् ।
सद्भावना पार्टीका अध्यक्ष महतोले विगतको चुनावमा दलहरुले मोर्चाबन्दीमा बढी जोड दिएका थिए त्यसबेला तीन पार्टी मात्रै थिए तर अहिले आएर मोर्चाबन्दीभन्दा एकीकरणमै केन्द्रित भएर छलफल भइरहेको बताउनुभयो । मोर्चा बनाउन त कुनै समस्या छैन, दलहरुको बीचमा एकीकरण अलि अप्ठ्यारो छ तर छलफल जारी रहेकाले एकताको संभावना बढ्दै गएको छ, उहाँले भन्नुभयो–‘तीन दलबीच एकताकै लागि छलफल जारी छ तर एकता नभए मोर्चा बन्दी अवश्य हुन्छ ।’
मधेश आन्दोलनताका शुरुमा फोरम नेपाल र सद्भावना पार्टीबीच मोर्चाबन्दी भएको थियो पछि तमलोपा गठन भएपछि तीन दलको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा गठन भएको थियो । पछि यी तीन दलहरु विभाजित हुँदै गएपछि मोर्चामा पाँच दल पुगेका थिए भने उपेन्द्र यादव मोर्चाबाट बाहिरीएका थिए ।
सद्भावना पार्टीका अध्यक्ष महतोले शुरुमा तीन दलको एकीकरण भएपछि मात्र अरु दललाई समावेश गराउने बताउनु भयो । एकीकरण भएपछि अरु दल स्वतः आफै आउने बताउँदै उहाँले दल फोरेर जानेहरुसँग आफूहरु सतर्क रहेको उहाँले बताउनुभयो । यी तीन दलबाट नै विभाजित भएर अन्य दलहरु निर्माण भएका छन् ।
यता यी तीन दलबाट अलग भएका दलहरु संघीय सद्भावना पार्टी, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, तराई मधेश फोरम, नेपाल सद्भावना पार्टीबीच पनि एकीकरण हुने प्रयास भइरहेका छन् । यसका लागि आठ सदस्यीय कार्य दल पनि बनेको छ । त्यस्तै एकीकरण वा मोर्चाबन्दीको दौडमा राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिह भण्डारी, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादव भने मौन देखिएका छन् ।


1 comment:

  1. This is really very good initiation if Upenra Yadav is leading all three parties It will be better....

    Thanking You

    ReplyDelete