सन्दर्भः १२औं पुण्यतिथि
–सुरेशकुमार यादव
मधेशको मुद्दालाई संस्थागत रुपमा उठाउने स्व.गजेन्द्रनारायण सिहको देहावसान भएको आज १२ वर्ष भएको छ । तर उहाँ भर्खरै ओझेल भएको जस्तो लाग्छ । मधेशमा उहाँले ल्याएको अधिकारमुखी नारा र मुद्दा मधेशी जनताको मुखमा अझै झुण्डिएकै छ । ५४ जनाको सहादत हुने गरी भएको मधेश विद्रोह पनि गजेन्द्रनारायण सिहको ठाउँ लिन सकेका छैनन् ।
भनिन्छ, गजेन्द्रनारायण सिहले २००७ सालदेखि उठाउनु भएको मुद्दालाई नै मधेशी जनताले आगो बालेर राज्यको सामु प्रस्तुत गरे । उहाँले उठाउनु भएको मुद्दाभन्दा अहिले कुनैपनि नयाँ मुद्दा छैन । ४० वर्षदेखि उठाउँदै आएको त्यही संघीयताको मुद्दा, समावेशीको मुद्दा, नागरिकताको मुद्दा, नेपाली सेनामा मधेशीको समावेशीलगायतका मुद्दाबारेमा नै बहस भइरहेका छन् तर हालसम्म कार्यान्वयन भएको छैन र सोही प्राप्तीका लागि सद्भावना पार्टीलगायतका दलहरु संघर्षरत रहेका छन् ।
सप्तरी जिल्लाको कोइलाडीबरसाइनको एक सम्भ्रान्त राजपूतपरिवारमा गजेन्द्रनारायण सिंहको जन्म भएको हो । वि.सं. २००३ सालमा कलिलै उमेरमा नेपाली राष्ट्रिय कांग्रेसमा प्रवेश गर्नु भएका उहाँ विद्यार्थी छँदा भारतमा अंग्रेजविरुद्धको स्वतन्त्रता आन्दोलन र नेपालमा निरंकुश राणा शासनको अन्त्य गर्ने लडाइ चरम उत्कर्षमा थियो । वारी र पारी प्रजातन्त्रका लागि भइरहेको सो संघर्षलाई अत्यन्तै नजिकबाट हेर्ने मौका पाएका स्व.गजेन्द्रनारायण सिह नेपालको राणा विरोधी आन्दोलनलाई सफल पार्न बीचैमा पढाई छाडेर काँग्रेस पार्टीको सम्पर्कमा जानु भएको थियो ।
जाडो विदा सकाएर पढ्नका लागि घोडचढी गरी भारत विहारको पटना गइराख्नु भएका गजेन्द्रनारायण सिह र काँग्रेसका तत्कालिन नेता कृष्णप्रसाद भट्राईसँग बाटोमा भेट भएको थियो । भट्टराई र गजेन्द्रनारायणबीच भएको भेटघाटपछि नउहाँ स्कूल जानुभयो नघर फर्किनुभयो । त्यही दिनदेखि राणा विरुद्धको आन्दोलनमा सक्रिय हुनुभयो । सहारा टाइम्समा उर्मिला यादवले लेख्नु भएको छ, ‘सानैदेखि ठुला ठुला नेताको संगतमा रहेर संघर्ष गरेका कारण उहाँको राजनीतिक चेतना उच्च थियो ।’ विस २००७ देखि २०३३ सालसम्म काँग्रेसमै सक्रिय रही सप्तरी जिल्लाका अध्यक्ष समेत बन्न भ्याउनु भएका गजेन्द्रनारायण सिहको राजनीतिप्रतिको लगाव र प्रजातन्त्र स्थापनाको अभिलाषाकै कारण कांग्रेसले शुरुमा उहाँलाई उच्च मुल्यांकन गर्दै वि.सं. २०३४ मा पार्टीको पूर्वाञ्चल संयोजक बनायो । त्यसपछि त उहाँको राजनीतिक भेट्घाट र सक्रियता झनै बढेर गयो । विस २०३६ मा बहुदलको पक्षमा उहाँले खुलेरै प्रचार प्रसार गर्नुभयो ।
वि.सं. २०४२ सालमा नेपाल सद्भावना परिषद् गठन गरि आफ्नो राजनीतिक सक्रियतालाई कायमै राख्ने प्रयास गर्नुभयो । विस २०४३ मा तत्कालिन पञ्चायती व्यवस्थामा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचन हुँदा उहाँले पनि आफ्नो उम्मेदवारी दिनु भएको थियो । तर कालो पञ्चायती शासकहरुले उहाँको प्रचारमा बन्देज मात्रै लगाएन, उहाँलाई निर्वाचन क्षेत्रमा निर्धक्क रुपमा हिड्डुलमा समेत प्रतिबन्ध लगाएको अवस्था थियो । विभिन्न अवरोध र आरोहलाई छिछोल्दै जनताका माझ उहाँ गोप्य रुपमा प्रचारको नीति अङ्गीकार गर्नुभयो ।
तत्कालिन सरकारको षड्यन्त्रमा आफ्ना नेता परेको भन्दै सप्तरीका जनताले सिंहलाई अत्याधिक मत दिई विजयी बनाएका थिए । यहाँका दलहरुले पञ्चायतविरुद्ध आन्दोलन जारी राखेकै कारण वि.सं. २०४६ सालमा जनआन्दोलन सफल भयो र मुलुकमा बहुदलीय व्यवस्था आयो ।
त्यसपछि वि.सं. २०४७ साल बैशाखको पहिलो साता आफ्नो नेतृत्वमा रहेको नेपाल सद्भावना परिषद्लाई नेपाल सद्भावना पार्टीमा परिणत गर्नुभयो । त्यसपछि भएको चुनावमा पनि उहाँले विजय हासिल गर्नुभयो । विस २०४८ र २०५१ म भएको प्रतिनिधिसभाको निर्वाचनमा सप्तरी क्षेत्र नं. ३ बाट निर्वाचित हुनभयो । त्यसपछि शुरु भएको सत्ता राजनीतिमा उहाँ पनि सहभागी हुन थाल्नु भयो । सत्ता बाहिर रहेर मधेश र मधेशीको मागको सम्बोधन हुन नसक्ने भन्दै उहाँ पटक–पटक सरकारमा सहभागी हुनुभयो । उहाँ आपूर्ति, स्थानीय विकास, विज्ञान तथा प्रविधि र उद्योगमन्त्री समेत बन्नुभएको थियो । उहाँलाई धेरैले मधेशवादको आधुनिक प्रवर्तक भनेर पनि चिन्छन् । उहाँलाई यसो भन्नुको कारण चाहीं पार्टी स्थापनाकालदेखि नै मधेशमा रहेको नागरिकता समस्या, भाषिक र सांस्कृतिक समस्या, जनसंख्याका आधारमा आरक्षणको सवैधानिक व्यवस्था, संघियता, संविधानसभालगायतका माग जोडतोडका साथ उठान गर्नु नै हो । हिन्दी भाषालाई मधेशको सम्पर्क भाषा बनाउनुपर्ने अडान राख्दै आउनु भएका प्रतिनिधिसभामा हिन्दीमै भाषण दिँदा उहाँको भाषणमा रोक लगाइएको थियो । जति अवरोध भएपनि उहाँले प्रतिनिधिसभामा कहिले पनि हिन्दी भाषाबाहेक अरु कुनै भाषा प्रयोग गर्नु भएका थिएन । तत्कालिन सरकारले प्रतिनिधिसभामा हिन्दीमा दिएको उहाँको भाषणलाई अभिलेख राख्न समेत उचित ठानेका थिएन । उहाँले आफ्नो पार्टी स्थापनाकालदेखि नै संघीयताको कुरा उठाउँदै आउनु भएको थियो । उहाँले त्यतिबेला मधेशमा दुईटा प्रान्तसहित उपत्यका र पहाडी क्षेत्रमा दुई गरी पाँच प्रदेशको पक्षमा हुनुहुन्थ्यो । अहिले मधेशमा एक प्रदेशको कुरा जोडतोडले उठ्न थालेका छन् । यहाँसम्म कि उहाँले छाडेर गएका पार्टीका नेताहरुले पनि अहिले एकमधेश एकप्रदेशकै पक्षमा उभिएका छन् ।
गजेन्द्रनारायण सिंहलाई मधेशी राजनेताको उपाधि प्राप्त थियो । उहाँलाई विभिन्न उपनाम समेत दिइएको थियो । कसैले गजेन्द्र बाबु, केहीले गज्जुबाबु र केहीले मधेशका मसीहा भनेर सम्बोधन गर्थे । गज्जुबाबु चाहीँ नेपाली मिडियाहरुले होच्याउनका लागि प्रयोग गरिएको शब्द भएको भन्दै पार्टी कार्यकर्ताहरुले धेरै पटक आपत्ति प्रकट पनि गरेका थिए । राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले नेता गजेन्द्रनारायणले मधेशको आवाजलाई बुलन्द बनाएपनि उहाँ कहिल्यै मधेशी नेताको रुपमा रहेर ‘स्तुतिगान’ गर्नुभएन । गजेन्द्रनारायण सिंह लोककल्याणकारी प्रतिष्ठानद्वारा प्रकाशित ‘गजेन्द्रनारायण सिंह स्मृति ग्रन्थ’ नामक पुस्तकको राष्ट्रपति भवन शीतल निवासमा २०६६ फागुन २१ मा विमोचन गर्र्र्दै राष्ट्रपति यादवले पनि भन्नु भएको थियो,‘ स्वर्गीय सिंह देशभक्त, राष्ट्रवादी र लोकतन्त्रवादी नेता थिए । सत्य र निष्ठाको राजनीति गर्ने सिंहले नै सबैभन्दा पहिला अहिलेको पाँच विकास क्षेत्रलाई प्रान्तको स्वरुप दिनुपर्ने बताउनु भएको थियो ।’ राष्ट्रपति महोदयको यो भनाईले गजेन्द्रनारायण सिंह दीर्घकालिन सोच भएका राष्ट्रवादी नेता भएको पुष्टि गर्न काफी छ । अझ उक्त कार्यक्रममा तत्कालिन सभामुख सुवास नेम्वाङले गजेन्द्रनारायण सिंहलाई ‘सिंगो मुलुकका लागि उहाँ आदरणीय नेताका रुपमा रहेको सिंहले मुलुकको पहिचान, मानवअधिकारको मूल्यमान्यता र लोकन्त्रका लागि लड्नु भएको थियो ’ भनेर उच्च सम्मान दिनुले पनि गजेन्द्रनारायण सिह ऐतिहासिक पुरुष भएको प्रमाणित गर्छ । त्यही कार्यक्रममा तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री राजेन्द्र महतोले गजेन्द्रनायारणलाई यसरी सम्झ्नु भएको थियो, ‘मधेशी जनताको सम्मान र अधिकारका लागि जीवनभर संघर्ष गर्नुभएका नेता सिंहले नेपालमा मधेशवादको जन्म दिनु भएको हो ।’ पूर्व सभामुख दमननाथ ढुंगानाले उक्त कार्यक्रममा ‘आजको नेपाल सिंहकै सपनाको नेपाल हो भन्दै मधेशको आवाजलाई उहाँले बुलन्द पार्नुभएको हो’ भन्नु भएको थियो ।
गजेन्द्रनारायण सिंहको नेतृत्वमा रहेको नेपाल सद्भावना पार्टीको पहिलो विभाजन २०५१–०५५ को अवधिमा उहाँ त्यसबेला उहाँ निकै दुखि हुनु भएको थियो । विभाजनको मुख्य कारण गठबन्धनको राजनीतिमा कांग्रेससँग कि एमालेसँग जाने भन्ने विवाद थियो । गजेन्द्रनारायण सिंह कांग्रेससँग जान चाहनु हुन्थ्यो तर सोही पार्टीका तत्कालिन नेता ह्रदयश त्रिपाठी एमालेसँग जान चाहनु हुन्थ्यो । एमालेले त्रिपाठीलाई सार्वजनिक लेखा समितिको सभापति बनाउने आश्वासन दिएको थियो । जुन पार्टी विभाजन गरेर पुरा पनि भयो । पार्टी विभाजनमा मुख्य भूमिका खेल्ने रामेश्वर राय यादव सोही पार्टीबाट वन मन्त्री पनि बन्नु भएको थियो ।
त्यसपछि त के भयो कुनी हरेक सत्ता उलट पुलट अथवा राजनीतिक उथर पुथलमा सद्भावना पार्टी विभाजन हुँदै गए । जतिपटक विभाजन भए मन्त्री पदको लोभमा विभाजन भए । गजेन्द्रनारायण सिहले स्थापना गर्नुभएको सद्भावना पार्टी हाल आधा दर्जनभन्दा बढी टुक्रामा विभाजित भएर बसेका छन् त्यसमध्ये राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी र अनिल झा अध्यक्ष रहेको संघीय सद्दभावना पार्टी हाल सक्रिय छन् र सविधानसभामा प्रतिनिधित्व पनि गरेका छन् ।
उहाँ निधन भएको २०५८ माघ १० गतेलाई गजेन्द्रनारायण सिंहको पुण्यतिथिको रुपमा मनाउँदै आएको छ । विभाजित रहेका हरेक सद्भावना पार्टीहरु त्यसदिन छुट्टा छुट्टै कार्यक्रम गरेर सम्झने गरेका छन् । गोरखापत्र दैनिक (२०१० जनवरी) मा पत्रकार सीताराम अग्रहरीले गजेन्द्रनारायण सिंहलाई यसरी सम्झ्नु भएको छः गजेन्द्रनारायण सिंह २००६ मा सत्याग्रहमा भाग लिए, कुटाई खाए । लामो समयसम्म कांग्रेसमा बसे । २०१७ सालमा जेल परे । १८ वर्ष भारतमा निर्वासित जीवन बिताए । जनमत संग्रहको बेला उनी स्वदेश फर्के । मधेशको मुद्दामा पार्टीभित्र टक्कर प¥यो । हर्क गुरुङको प्रतिवेदनले सद्भावना परिषद्का नेताका रुपमा नयाँ गजेन्द्रनारायणको जन्म भयो । त्यसपछि झनै दुःख । गिरफ्तारी, जेल, राजकाज मुद्दा सामान्य कुरो बन्यो । २०४२ मा रामराजाप्रसाद सिंहले बमकाण्ड गराउनु भयो, तर, पक्राउ पर्नुभयो गजेन्द्रनारायण सिंह । उहाँको हातमा हत्कडी, खुट्टामा सिक्री लाग्यो ।
हनुमान ढोकाबाट छोडिँदा एक प्रहरी अधिकृतले सोधे, ‘तपाई« बारम्बार पक्राउ पर्ने काम किन गर्नुहुन्छ ?’ ‘राजा, देश र जनताविरुद्ध मैले केही गरेको छैन’ गजेन्द्रनारायणले जवाफ फर्काएका थिए । अनि किन पहाडे–मधेशे भन्नुहुन्छ ? अधिकृतको प्रश्न थियो । ‘म सम्पूर्ण मधेशीलाई नेपाली बनाउन चाहन्छु’ उहाँको अर्को जवाफ थियो । गजेन्द्रनारायण विभेदविरुद्ध शान्तिकामी आवाज थिए । मधेशी जनतालाई समानताको हक दिलाउन, उहाँको नको भाषा, संस्कृति तथा पहिचानलाई मान्यता दिलाउने अहिंसावादी, गान्धीवादी नेता हुनुहुन्थ्यो । आफ्नो एउटा भाषणमा उहाँले भन्नुभएको थियो, ‘मधेश र मधेशीलाई यस देशको अभिन्न अंगका रुपमा मान्यता दिलाउने मेरो उद्देश्य हो ।’ तर शासकवर्गले कहिल्यै उहाँलाई ठीक ढंगले बुझ्न सकेनन् ।
No comments:
Post a Comment