Labels

Sunday, June 16, 2013

मधेशमा दल बदल


जतिजति सविधानसभा चुनावको वातावरण तयार हुँदैछ, त्यति त्यति तराई—मधेशका नेताहरु एक पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्दैछन् । खाशगरी मधेसवादी राजनीति गर्ने नेताहरु लिङ्गेपिङ खेलेजस्तो घरि यो पार्टी त घरि त्यो पार्टीमा चहारिरहेका छन् । तराईको राजनीतिमा दलबदल गर्ने प्रवृत्ति अहिले त होडबाजीकै रुपमा फस्टाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी वा नेपाली काँग्रेसजस्ता निश्चित दर्शन र सिद्धान्तबाट प्रेरित भएर लामो समय ती पार्टीमा रहेकाहरु त निष्ठाभन्दा पद वा अन्य स्वार्थका बसमा परेर पार्टीहरु चहारिरहेका देखिन्छन् भने ०६२–६३  को आन्दोलनपछि एकाएक ‘संघीयता’को लहरमा लहरिँदै मधेसकेन्द्रित नयाँ पार्टीमा लागेकाहरुलाई बाँध्ने दर्शन, निष्ठा र सैद्धान्तिक आदर्श नै छैन । पञ्चायतकालमैं मधेसको आवाज उठाउँदै सद्भावना पार्टी गठन गरेका गजेन्द्रनारायण सिंहसँगै काम गरेका त्यो पार्टीका नेताहरु छरपष्ट भएका छन् भने भेलमा माछा हात पार्न चाहने नयाँ ‘मछुवा’ नयाँ नयाँ खोला खोजिरहेका छन् ।
भर्खरै नेकपा एमालेमा प्रवेश गर्नुभएका रत्नेश्वरलाल गोइतले तीस वर्ष कम्युनिष्ट आन्दोलनमा बिताउनुभएको थियो । तर पाँचवर्ष अगाडि एमाले पार्टीबाट मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । फोरम नेपालमा एकवर्ष नपुग्दै विजयकुमार गच्छदारको पार्टी मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा लाग्नुभयो । त्यहाँ सो पार्टीमा एकवर्ष नपुग्दै उहाँ फोरम नेपालबाट अलग भएका अमर यादवको तराई मधेश फोरममा प्रवेश गर्नुभएको थियो । त्यहाँ ६ महिना पनि टिक्न सक्नुभएन र धनुषामा उहाँले आफ्नै नेतृत्वमा एक छुट्टै पार्टी गठन गर्नुभएको थियो । त्यो पार्टीलाई एकवर्ष पनि चलाउन सक्नुभएन र तराई मधेश लोकतान्त्रिक पार्टीमा सह महामन्त्रीको पदमा प्रवेश गर्नुभयो । त्यहाँ सात महिना नपुग्दै भ्रमबस मधेस राजनीतिमा लागेको वोध भएपछि उहाँ पुनः एमालेमा फर्किनु भएको छ ।  
रत्नेश्वरलाल गोइतएमालेमा फर्केको भोलिपल्ट नेपाली काँग्रेसमा प्रवेश गर्नुभएका पूर्व सभासद् तिलक रावल नेपाली काँग्रेसबाट फोरम नेपाल र फोरम नेपालबाट फोरम लोकतान्त्रिक हुँदै पुनः काँग्रेसमा फर्किनु भएको छ ।
मधेशवादी दलमा तल्लो तहकामात्र होइन, ठूलो पदका नेताहरु पनि पार्टी फेरी फेरी राजनीति गरिरहनु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २०४८ मा नेपाली काँग्रेसमा प्रवेश गर्नुभएका पूर्व मन्त्री एवं पूर्व सभासद् शरत्सिह भण्डारीले लगभग १५ वर्षभन्दा बढी समय बिताएर फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । सो पार्टीमा लगभग डेढ साल काम गरेपछि उहाँ गच्छदारसँगै बाहिरिएर फोरम लोकतान्त्रिक गठन गर्नुभएको थियो । उपाध्यक्ष भएर गच्छदारसँग जना मिलेर गठन गरेको सो पार्टीमा साढे चारवर्ष निकै मिलेर काम गर्नुभयो । पछि, भण्डारीको एक अभिव्यक्तिले सविधानसभामा समेत कुरा उठेपछि उहाँले रक्षा मन्त्री पदबाट राजिनामा दिनुभयो । पार्टीमा निस्कृय रहेका भण्डारी ६ महिनापछि तराई मधेश अभियान सञ्चालन गरेर आफ्नै नेतृत्वमा राष्ट्रिय मधेश समाजवादी पार्टी गठन गर्नुभयो ।
पूर्व मन्त्री एवं पूर्व सभासद् जयप्रकाश गुप्ता नेपाली काँग्रेस हुँदै मधेश फोरम नेपालमा प्रवेश गर्नुभयो । मधेश आन्दोलनपछि फोरम नेपालमा सक्रिय गुप्ताले पाँचवर्ष नपुग्दै आफ्नै नेतृत्वमा फोरम गणतान्त्रिक पार्टी गठन गर्नुभयो । फोरम गणतान्त्रिकबाट एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराई नेतृत्वको सरकारमा सञ्चार मन्त्री रहेकै बेला भ्रष्टाचार मुद्दामा जेल पर्नुभएका गुप्ता १३ महिनापछि रिहा हुनु भयो र तराई मधेश राष्ट्रिय अभियान गठन गरेर मधेश दौडाहामा निस्किनु भयो । नेकपा मानन्धर समूहबाट एमालेमा प्रवेश गर्नुभएका पूर्व मन्त्री एवं पूर्व सभासद् उपेन्द्र यादव एमालेबाट माओवादीमा प्रवेश गर्नुभएको थियो । माओवादीमा रहेकै बेला मधेशमा मानवअधिकारका लागि काम गर्ने संस्थाको रुपमा मधेशी जनअधिकार फोरम नेपालको जन्म दिनुभएको थियो । र, पछि सोही फोरम नेपालबाट मधेश आन्दोलन भयो र आन्दोलनपछि त्यसलाई पार्टीको रुप दिई अहिले उहाँ त्यसको अध्यक्ष हुनुहुन्छ ।
पूर्व मन्त्री विजयकुमार गच्छदार पनि नेपाली काँग्रेसमा लामो समय काम गरी काँग्रेस विभाजन हुँदा शेरवहादुर देउवाको पक्षमा लाग्नु भएको थियो । काँग्रेसमा एकीकरण भएपछि मधेश राजनीतिमा पाइला टेक्नु भएका उहाँ जेपी गुप्तासँगै फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । फोरम नेपालबाट ०६६ सालमा अलग भएर आफ्नै नेतृत्व फोरम लोकतान्त्रिक गठन गर्नुभयो ।
नेकपा (मानन्धर समूह)बाट राजनीतिक शुरु गर्नुभएका पूर्व सभासद् एवं पूर्व मन्त्री महेन्द्र राय यादव एमालेमा धेरै समय काम गर्नुभयो । त्यहाँ मधेशको मुद्दाबारे कुरा नमिल्दा राजिनामा दिएर महन्थ ठाकुरसँगै तमलोपा गठन गर्नुभएका उहाँले दुई वर्षपछि जातिवाद, नेतृत्वको अभाव, पार्टीभित्र अलोकतान्त्रिक पद्धति लगायतका आरोप लगाएर आफ्नै अध्यक्षतामा तमलोपा नेपाल गठन गर्नुभयो । 
फोरम लोकतान्त्रिकका महासचिव जितेन्द्र देव २०३० मा नेपाल कम्युनिष्ट पार्टी (मानन्धर समूह) हुँदै एमाले, त्यसपछि माले र पुनः एमाले हुँदै फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । फोरम नेपालबाट विजयकुमार गच्छदार अलग भएपछि उहाँ पनि फोरम लोकतान्त्रिकमा प्रवेश गर्नुभयो । रामेश्वर राय यादव राप्रपा हुँदै नेपाल सद्भावना पार्टीमा लाग्नुभयो । स्वं गजेन्द्रनारायण सिहसँग मन्त्रीपदको विवादले गर्दा उहाँले आफ्नै अध्यक्षतामा नेपाल समाजवादी पार्टी खोलेर वन मन्त्री हुनुभएको थियो । पछि पुनः नेपाल सद्भावना पार्टीमै फर्किनु भयो । सद्भावना पार्टीबाट मधेश आन्दोलनपछि फोरम नेपालमा प्रवेश गर्नुभएका उहाँ ०६६ मा गच्छदारसँगै फोरम लोकतान्त्रिक पार्टी गठनमा लाग्नुभयो ।
राप्रपाबाट ०४८ मा कांग्रेस प्रवेश गर्नुभएका गोविन्द चौधरी (रौतहट) पनि विभिन्न पार्टी परिवर्तन गर्दै हाल गच्छदारको पार्टी फोरम लोकतान्त्रिकमा हुनुहुन्छ । काँग्रेस विभाजन हुँदा नेका (पजतान्त्रिक) मा लाग्नुभएका उहाँ ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन व्यवस्थामा मन्त्री समेत बन्नुभएको थियो । मधेश आन्दोलनपछि तमलोपामा प्रवेश गर्नुभएका चौधरी महेन्द्रराय यादवसँगै अलग भएर तमलोपा नेपाल गठन गर्नुभएको थियो । जे आरोप लगाएर तमलोपाबाट तमलोपा नेपालमा प्रवेश गर्नुभएको थियो त्यही आरोप लगाएर तमलोपा नेपाल पनि छाड्नु भएको थियो ।
राप्रपाका जिल्ला नेता दानबहादुर चौधरी नेकपा एमालेमा प्रबेश गरी संसद सदस्य बन्नुभएका थियो । तर उहाँ एमाले छाडेर नेपाल सद्भावना पार्टीमा प्रवेश गर्नुभयो । मधेश आन्दोलनपछि तमलोपामा प्रवेश गर्नुभएका उहाँ दुई वर्ष नपुग्दै महेन्द्रराय यादवको साथमा तमलोपा नेपाल गठन गर्नपुग्नुभयो । सद्भावना पार्टीबाट राजनीति शुरु गरेकी करिमा बेगम मधेस आन्दोलनसँगै फोरम नेपालमा आउनु भएको थियो । उहाँ दुई वर्ष नपुग्दै विजय गच्छदारको फोरम लोकतान्त्रिकमा प्रवेश गर्नुृभयो । फोरम लोकतान्त्रिकमा तीन वर्ष नपुग्दै अहिले फोरम नेपालमा प्रवेश गर्नु भएको छ । सद्भावना पार्टीबाट राजनीतिक शुरु गर्नुभएकी सन्ध्या देव फोरम नेपाल, फोरम गणतान्त्रिक हुँदै अहिले शरत्सिह भण्डारीको राष्ट्रिय मधेश समाजवादी पार्टीमा केन्द्रीय सदस्य हुनुहुन्छ ।
राजनीतिबाट एकाएक ओझेल परेका नन्दन दत्त पनि काँग्रेसबाट उपेन्द्र यादवको पार्टी फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । २०६८ मा फोरम नेपाल विभाजन गरेर जेपी गुप्तासँगै उहाँ फोरम गणतान्त्रिकमा जानुभयो । फोरम गणतान्त्रिकका तत्कालिन अध्यक्ष जेपी गुप्ता जेल परेपछि राजकिशोर यादवसँग विवाद उत्पन्न भयो र आफूलाई फोरम गणतान्त्रिकको कार्यवाहक अध्यक्ष दावी गर्दै आउनु भएको थियो । काँग्रेसमा लामो समयसम्म कार्य गर्नुभएका सर्वदेव ओझा पनि मधेश आन्दोलनसँगै फोरम नेपालमा प्रवेश गर्नुभएको थियो । फोरम नेपाल विभाजन भएपछि गच्छदारको पक्षमा लागेका उहाँ त्यहाँ तीनवर्ष पनि टिक्न सक्नु भएन र राजिनामा दिएर हाल जेपी गुप्ताको तराई मधेश राष्ट्रिय अभियानमा सक्रिय रहनु भएको छ ।
पार्टी बदल्नमा अभ्यस्त देखिनुभएका अनिस अन्सारीले नेपाल सद्भावना पार्टीबाट राजनीति शुरु गर्नुभएको थियो । केही समयका लागि काँग्रेसमा पनि काम गर्नुभएको थियो । काँग्रेसबाट तमलोपामा आउनु भएका उहाँले महेन्द्रराय यादवसँग तमलोपा नेपालमा पनि काम गर्नुभएको थियो तर विभिन्न कारण देखाउँदै सबैलाई छाडेर पुनः राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीमा फर्किनु भएको छ । भर्खरै फोरम नेपालमा प्रवेश गर्नुभएका पूर्व स्वतन्त्र सभासद् बबन सिह काँग्रेस पृष्ठभूमिबाट राजनीतिमा लाग्नुभएको हो । रौतहट क्षेत्र नं. १ बाट स्वतन्त्र सभासद्मा जित्नुभएका उहाँ सविधानसभा रहेकै बेला अविर माला लगाएर तमलेपामा प्रवेश गर्नुभएको थियो । तर तमलोपाबाट कहिले निस्किएर पुनः स्वतन्त्र हुनुभयो त्यो जानकारी तमलोपालाई समेत हुन सकेन ।
सविधानसभा विघटनपछि काँग्रेसमा जाने उद्घोष गरिसक्नुभएका उहाँले काँग्रेसको विभिन्न मञ्चबाट भाषणा समेत गर्नुभएको थियो । बेला बेलामा माओवादीमा जाने समेत उहाँले नै चर्चा गर्नुहुन्थ्यो । यसरी विभिन्न पार्टीमा जाने चर्चा चलिरहेकै बीचमा उहाँ फोरम नेपालमा प्रवेश गर्नुभएको छ । भैरहवाका प्रत्यक्ष निर्वाचित पूर्व सभासद् ओमप्रकाश गुल्जारी पनि विभिन्न पार्टीको स्वाद चाख्दै हालै सद्भावना पार्टीमा प्रवेश गर्नुभएको छ । मधेश आन्दोलनसँगै फोरम नेपालबाट राजनीतिक यात्रा शुरु गर्नुभएका उहाँ जेपी गुप्तासँगै फोरम गणतान्त्रिकमा जानु भएको थियो । गुप्ता जेल परेपछि कहिले राजकिशोर त कहिले नन्दन दत्तको पक्षमा ओहर दोहर गर्ने गुल्जारी जेपीको रिहाइपछि अभियानमा लाग्नु भएको थियो । अभियानमा तीन महिनामात्र टिक्न नसकेका उहाँ गत आइतवार सद्भावना पार्टीमा प्रवेश गर्नुभएको छ ।
मधेशमा दल बदलको बारेमा मधेशी राजनीतिक विश्लेषक चन्द्रकिशोर झासँग गोरखापत्रले राखेको जिज्ञासा राख्दा उहँले मधेशवादी दल तथा नेताहरुको भविष्य अनिश्चित भएका कारण यसरी दौडा दौड भएको टिप्पणी गर्नु भयो । कुन दलमा कहाँ कसरी आफूलाई सुरक्षित गर्न सकिन्छ भने खोजिमा लागेका छन् मधेशका नेताहरु, उहाँ भन्नुहुन्छ–‘यो क्रम त्यतिकै रुक्नेवाला छैन, सविधानसभा निर्वाचनका लागि उम्मेदवारी दिने दिनसम्म यो क्रम जारी रहने छ ।’

No comments:

Post a Comment