Labels

Sunday, March 9, 2014

उपेन्द्रजी नआएपनि हामी छुट्टै एकीकरण गर्छौ

–राजेन्द्र महतो
मधेसमा भइरहेको शोषण उत्पीडनका विरुद्ध लड्नका लागि मधेसी दल वा शक्तिहरु एकजुट भएर लड्नुपर्छ भन्ने धारणाको विकास अहिलेदेखि नभएर २२ वर्षदेखि नै भएको हो । यद्यपि त्यसले पूर्णता पाउन सकेन । हाम्रो पार्टीको स्थापनादेखि नै त्यसको मूल उद्देश्य भनेको नागरिकता, समानता, समावेशिता, सम्मान जस्ता विषय थिए र त्यो प्राप्तिका लागि सबै दलहरु मिलेर अघि बढ्नुपर्छ भन्ने थियो । त्यतिवेला अहिलेको जस्तो मधेसकेन्द्रित दलहरु थिएनन् । हामी एक्लै थियौं ।
पहिले–पहिलेको चुनावमा कांग्रेस एमालेका मधेसी नेताहरु मधेसको मुद्दा हामी उठाउँछौं । हामी मधेसलाई अधिकारसम्पन्न गराउँछौं भनेर भोट माग्थे र अन्त्यमा उस्तै उत्पीडन, अन्याय र शोषणमा मधेसी जनता बस्नुपथ्र्यो । त्यतिवेला हाम्रो पार्टीले मधेसका सवालमा मिलेर काम गर्न अन्य पार्टीका नेताहरुसँग धेरैपटक छलफल ग¥यौं । तर सफल हुन सकेन र विस्तारै मधेस आन्दोलन हुँदै मधेशकेन्द्रित दलहरुको सँख्यामा वृद्धि भएको हो । अघिल्लो संविधानसभाको निर्वाचनमा पनि हामी एकताबद्ध भएर चुनाव लड्न त सकेनौं तर आन्दोलनमा सँगसँगै थियौं । त्यतिवेला नै चुनावमा एकताबद्ध भएर जानुपथ्र्यो तर सकिएन ।

त्यतिवेला पहिलो चरणको आन्दोलनको नेतृत्व उपेन्द्र यादवले गर्नुभएको थियो र दोस्रो चरणमा हामी तीनवटै पार्टी मिलेर ग¥यौं । ठ््याक्कै आन्दोलन सकिएपछि विजयकुमार गच्छदारसहित विभिन्न ठूला पार्टीका नेताहरु उपेन्द्र यादवको पार्टीमा प्रवेश गरे । त्योभन्दा अगाडिसम्म हामीबीच कार्यगत एकता गरेर चुनाव लड्नेबारे छलफल भइरहेको थियो । तर अन्य दलका नेताहरु उहाँको पार्टीमा प्रवेश गरेसँगै उपेन्द्रजीलाई मेरो पार्टि ठूलो भयो अब किन अरु दलसँग कार्यगत एकता गरेर जाने भन्ने खालको भ्रम चढ््यो र उहाँ एकताको पक्षमा रहनु भएन । एकताबद्ध भएर चुनाव लड्ने चाहना पूरा भएन । यदि त्यो चुनाव कार्यगत एकता गरेर लडेको भए मधेसमा दुई सय सीट जितिन्थ्यो तर हामी ८० सीटमा खुम्चनु प¥यो ।
पद, कुर्सी र शक्तिका लागि केही नेताहरुले पार्टी विभाजन गरेका हुन् । यो मधेस आन्दोलनमा देखिएको नकारात्मक पक्ष हो, यसलाई स्वीकार्नुपर्छ । त्यहाँबाट मधेसकेन्द्रित दल र नेताप्रति वितृष्णा आयो र त्यसैको रिफ्लेक्सन दोस्रो संविधानसभामा देखियो । यो चुनावमा पनि हामीले चुनावी कार्यगत एकताको प्रयास गरेका हौं तर सफल भएन । सबै पार्टी चुनाव जितिरहेको सपना देखिरहेका थिए । त्यही कारण सफल भएन । यो चुनावमा पनि जनताले मधेसी दललाई मत दिएको हो तर मत बाँडिंदा हामी कमजोर देखिएका हौं । र यो संविधानसभामा मिलेर अघि बढ्न जनताले सन्देश दिएका छन् । त्यही भावनालाई आत्मसात गरेर एकताको प्रयास शुरु गरेका हौं ।
एकताको प्रयास जारी छ र त्यसका लागि प्रयास भइरहेको छ । पार्टी एकता गर्ने भनेपछि धेरै कुरामा छलफल गर्नुपर्ने हुन्छ । हामी अहिले छलफल गरिरहेका छौं । बाहिरको हल्ला उपेन्द्र यादवको कारण एकीकरण रोकिएको हो भन्ने जुन हल्ला छन् त्यो असत्य हो । हाम्रो तीन पार्टीको औपचारिक बैठकमा यस्तो कुरा आएको छैन । अहिलेसम्म एकताकै लागि प्रयास भइरहेको छ । उहाँले यदि कुनै दिन हामी एकताको पक्षमा छैनौं, अहिले एकता असम्भव भयो भन्नुभयो भने हामी त्यसपछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्छौ । तर अहिले नै एकताको प्रयास बिग्रेको वा रोकिएको छैन ।
मूल आन्दोलनकारी शक्ति रहेको र मधेसको मूल अर्थात माउ पार्टी रहेकाले मात्र हामीले यो बीचमा एकता प्रयास गरेका हौं । तर उपेन्द्रमा त्यस्तो विचित्रको कुनै गुण भएको होइन । तीन वटा पार्टी एकता गर्ने चाहना हो । यदि कुनै पार्टीले म अहिले एकता गर्दिनँ भन्छन् भने त्यो उसको अधिकारको कुरा हो, हामीले केही गर्न सक्दैनौं । यदि उहाँले गर्नुभएन भने पनि दुई पार्टीबीच पनि एकताको प्रयास गर्छौ । र अन्य पार्टीलाई पनि समेट्ने प्रयास गर्छौ । कतिपयले यो एकीकरण भारतको चाहना अनुसार भइरहेको पनि आरोप लगाएका छन् तर यो भारतको चाहना होइन, मधेसी जनताको चाहना हो । तीन पार्टी विभाजन भएर १३ बन्दा मधेसी जनताले रुचाएनन् र उनीहरुले यो निर्वाचनमा एकताका लागि दबाब नै दिएर त्यही प्रकारको परिणाम दिए । यसलाई बिर्सिएर भारतको चाहना भन्नु गलत हो । आफ्ना जनताको दबाबलाई बिर्सिएर हामी यो जस भारतलाई नदियौं ।
एक जमानामा सम्पूर्ण मधेसलाई भारत भनिन्थ्यो, तर हामीलाई विभिन्न खालका आरोप लाग्नेगरेको छ र अहिले पनि लाग्यो होला । र पनि नेपालको विकास, समृद्धि, स्थायित्वमा भारतको सकारात्मक चासो रहने गरेको छ । यो मधेसमा मात्र होइन, नेपालभरि उसको चासो छ । एक समय गजेन्द्रनारायण सिंहले मधेसको मुद्दा उठाउँदा कांग्रेस, एमाले र माओवादीमा रहेका नेताहरु गजेन्द्रनारायणलाई गाली गर्थे । अहिलेका मधेसकेन्द्रित नेताहरु पनि त्यो सूचीमा थिए । तर आज आएर ती नेताहरुले स्विकार गरेका छन् । यो सफलता हो । हिजो उपेन्द्रजीको पृष्ठभूमि माओवादी थियो होला, कसैको कांग्रेस र कसैको एमाले थियो होला तर आज उहाँहरु मधेसवादप्रति सकारात्मक हुनुहुन्छ । मधेसमा रहेको शोषण उत्पीडनप्रति उहाँहरु सहमत हुनुहुन्छ । समानतावादी राज्य निर्माणका पक्षमा उहाँहरु आइसकेपछि हामीबीच सैद्धान्तिक धार नै एउटै भइसकेको छ । मधेसका मुद्दालाई हेर्ने दृष्टिकोणमा समानता आइसकेपछि अब हामीमा कुनै सैद्धान्तिक विमति बाँकी छ जस्तो लाग्दैन ।

No comments:

Post a Comment