काठमाडौं, माघ १३ –एमओवादी नेतृत्वको १९ दलीय मोर्चाको सभासद्द्वारा संविधानसभाको माघ ६ गते राती गरिएको तोडफोड, आक्रमणको घटनामा संलग्न सभासदहरुलाई संविधानसभा नियमावलीअनुसार निलम्बनको तयारी गरिएको बुझिएको छ ।
घटनाको छानविन गर्न संविधानसभा सचिवालयको महासचिव मनोहरप्रसाद भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरिएको थियो । संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ्लाई बुझाउने तयारी गरेको प्रतिवेदन अनुसार समितिले प्रारम्भिक अध्ययनका आधारमा करिब ३० लाखको क्षतिभएको बताएको भएपनि अध्ययनपछि वास्तविक क्षतिको विवरण आउने ती सदस्यको भनाई छ । तोडफोड र आक्रमणले दुईवटा टिभी स्क्रिन, कुर्सी, टेबल, माइकसहितका सरसामानहरु तोडफोड गरिएका थिए ।
बयान लिने, अनुसन्धान गर्नेलगायतका काम भएपनि फोटोहरु संकलन गर्नमा ढिलाई भएको कारण प्रतिवेदन बुझाउन ढिलो भएको बताइन्छ । माघ १५ गतेभित्र प्रतिवेदन बुझाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।