Labels

Sunday, July 6, 2014

नइ माय तुँ चिन्ता नइ कर, हमरा किछो ने हेतै

‘नइ माय तुँ चिन्ता नइ कर, हमरा किछो ने हेतै’ अर्थात आमा तिमी चिन्ता नगर, मलाई केहि पनि हुँदैन । २०५७ सालअघि इनरबति देवीका जेठा छोराले उनलाई भनेको कुरा सम्झिदैं भक्कानो छाडेर रोइन् । ‘त्यस बेला कहिलेकाहिं घर आउँदा किन माओवादीमा लागेको ?, घरमै बसेर खेतीपाती गर्न अथवा पढ्न भनिरहेको थिएँ । तर मानेनन् उनले’ सप्तरीको मलेकपुर गाविस ५, खुरहुरिया निवासी इनरबति देवी यादव सम्झेर भन्छिन्, ‘‘तैपनी छोराले आफ्नो सुरक्षा गर्न भन्दै खुट्टा ढोगेर आर्शिवाद लिन्थे र म दिन्थे पनि । आखिर छोरा न हुन् ।’

यसरी छोरालाई दिएको आर्शिवाद काम लागेन इनरबतिलाई । २०५७ साल मंसिर महिनातिर जेठा छोरा बिनोद (२०) बोदे बर्साइनमा मारिएको खबर आएको थियो । मारिएको खबर आएको समयमा इनरबत्तिदेवी बेहोस भएकी थिइन् र धेरै दिनसम्म उनलाई होसै आएन । छोराको मृत्युको छोरा विनोदको बारेमा कुरा गर्दा इनरवतिले भनिन्, ‘हाम्रो संस्कारमा जेठो छोराले दागबत्ति दिएमा मुक्ति हुने विश्वास छ । तर अब त्यो पनि भएन् ।’’
तीन जना छोरा भएपनि सबैभन्दा बढी माया आफूले उसैलाई गर्ने गरेको बताछिन् ६५ वर्षीया इनरबतिले । एसएलसी पास गरेलगत्तै २०५५ सालतिर माओवादीमा प्रवेश गरेका बिनोद २०५७ सालमा सेनाद्वारा मारिएको खबर पाइएपनि उनको परिवारले अझै लास पाउन सकेको छैन । छोराको लास पाउन उनले प्रयास नगरेको होइन तर लास पाएको छैन । ‘कम्तीमा छोरोको लास पाउँदा हुन्थ्यो ।’’ आफ्नो घरमा उनी यो कुरा भनिरहँदा भक्कानो पारेर रोएकी थिइन् ।
माओवादीमा रहँदा अशोक नामले चिनिने बिनोद जन्मेको समयमा छिमेकीहरुलाई भोज खुवाइएको थियो । ‘गाउँलेहरुको नजरमा पनि सभ्य युवक भएका बिनोद माओवादीमा नलाग्दासम्म आफ्नो नजरबाट कतै नगएको र एक दिनको लागि जाँदा पनि आफूलाई डर चिन्ता लागिरहन्थ्यो’ इनरबत्ति देवी थप सम्झिन्छिन्, ‘‘कारण मेरो मुटु ऊ नै हो जस्तो लाग्थ्यो ।’ छोराको मृत्यु भएको खबरपछि माओवादी नेताहरु सान्त्वना दिन पनि नआएको बताउने इनरबति देवी सरकारको तर्फबाट ३ लाख रुपियाँ क्षतिपूर्ती पाएको बताउँछिन् ।
छोरा गुमेको पाँच वर्षपछि पतिको २०६२÷६३ को जनआन्दोलनमा प्रहरीको दमनबाट ज्यान गएको थियो । उनका पति दशन यादव नै जनआन्दोलनका पहिला शहीद हुन् । तीन छोरामध्ये बिनोद मारिएपछि बाँकी दुई छोरा राजविराजमा नीजि व्यापारिक प्रतिष्ठानमा काम गरिरहेका छन् ।
यस्तै इनरवत्तिदेवी जस्तै दुःखित र नेताहरुप्रति आक्रोसित छन् दिघवा गाविसका ६५ वर्षीय जामुन दास । मधेश आन्दोलनका क्रममा २०६४ फाल्गुन १३ गते प्रहरीको गोली लागी जामुनका छोरा गुलटेन दासको ज्यान गएको थियो ।
आफ्ना श्रीमतिसहित ६ सन्तान र आमाबुवाका एक्ला पालनकर्ता गुलटेन मारिएको केही दिनसम्म शोकमा डुबेपनि पछि देशको संरचना परिवर्तनका लागि ज्यान गुमाएको सम्झेँर आँशु झार्न बन्द गरेका जामुन भन्छन्–‘‘ तर छोराले बगाएको रगत बेकार भएको अहिले अनुभूति भइरहेको छ ।”
जुन उद्देश्यका साथ आफ्ना छोराले बलिदानी दिएका थिए आखिर त्यो पनि  पुरै भएन् जामुनको भनाई छ । यत्रो रगतको खोलो बगेपनि मुलुकमा कुनै परिवतर्न नहुँदा शहिद परिवारहरु मात्र होईन, घाईते र बेपता परिवारहरु पनि रुष्ट बनेका छन् ।

No comments:

Post a Comment