Labels

Thursday, April 10, 2014

चाचा पन्नालालको अखबारी पहिचान

–सुरेशकुमार यादव
७४ वर्षीया पन्नालाल गुप्त अहिले पनि कुनै तन्नेरी जस्तै साइकलमा चढेर नियमित रिपोर्टिगंमा जानुहुन्छ । पन्नालाल चाचाको नामबाट चिनिएमा उहाँबाट अहिले पनि युवाहरु धेरै कुरा सिकिरहेका छन् । नेपाल टिभीमा कार्यरत पत्रकार विजय वर्माका अनुसार पुरानो पत्रकार भएपनि उहाँमा नयाँ जोश जाँगर र ज्ञान पनि छन् । अहिले पनि उहाँले युवा पत्रकारहरुलाई पत्रकारीतामा लाग्न नयाँ नयाँ टिप्स दिइरहनु हुन्छ । नेपालगञ्ज नगरपालिकाका पन्ना चाचा पत्रकारीता गर्नुअघि सानोतिनो व्यावसायमा थिए जब उहाँका दाई महावीरप्रसाद गुप्त पत्रकारीता छाडेर नगरपालिकाका मेयर हुनुभयो अनि त्यसको बिडो पन्ना चाचाले सम्हाल्नु भयो ।
आदर र श्रद्धाका साथ के युवा के बृढा सबैले उहाँलाई चाचाजी भनेर सम्बोधन गर्छन् । नेपालगन्जलाई कर्मथलो बनाएर पत्रकारिता जगतको यात्रा पूरा गरेको ४१ वर्ष भयो ।

     १३ वर्षअघि नेपाल पत्रकार महासंघले उहाँलाई प्रेस स्वतन्त्रता सेनानीको उपाधि दिएको थियो । पेशाप्रतिको निष्ठा र सम्मान रुपी उर्जाकै कारण हो पत्रकारिता जीवनबाट विश्राम लिनु पर्ने समयमा स्वतन्त्रता सेनानी चाचाजी युवा रिपोर्टर जस्तो समाचारको दुनियामा खटिइरहनु भएको छ । ‘जीवन न टायर्ड हुन्छ न रिटायर्ड’ हास्दै उहाँले भन्नुभयो ‘पेशा र समाजप्रतिको समर्पणले मलाई उर्जा दिइरहेको छ ।’ दशर्कौदेखि किरण साप्ताहिकको सम्पादन कार्यमा व्यस्त छन्, चाचाजी । प्रेस युनियनमा आवद्ध चाचाको नामबाट प्रेस युनियन बाँकेले पन्ना चाचा पत्रकारीता पुरस्कारको पनि स्थापना गरेको छ ।
प्रेस स्वतन्त्रता सेनानी भएपनि चाचाजीले आफ्नो पत्रकारिताको कार्यथलो नेपालगञ्जलाई रोज्नुभयो । राजधानी बाहिरका मान्छेलाई मान्छे नगन्ने काठमाडौंको कृसंस्कृतिमा अहिले पनि परिवर्तन आएको छैन । झन् पंचालयकालमा कस्तो थियो होला π अनुमान लगाउन सकिन्छ । जतिबेला भैरव रिसाल, गोकुल पोखरेल, हरिहर विरही लगायतका वरिष्ठ पत्रकार काठमाडौंमा पत्रकारिताको अभ्यास गर्दै थिए, नेपालगन्जमा चाचाजी अखवारी लेखनमा आफ्नो छुट्टै पहिचान बनाईसक्नु भएको थियो । राजधानीलाई कार्यथलो बनाएको भए चाचाजी पहिचान र स्तर बेग्लै हुन्थ्यो । यसमा कुनै संदेह छैन ।
थोरै मान्छेहरुका जिन्दगी अर्थपूर्ण अनि जीवन्त इतिहास बन्दोरहेछ । बाँकी मान्छे जसरी यो संसारमा पदार्पण गरे, त्यस्तै विलय पनि भए । चाचाजीलाई सम्झनलाई अनेक कारण छन् । खुला किताबका रुपमा छन् उनी । सिर्फ पढ्न सक्नु पर्यो । उहाँले भन्नुभयो,–‘लुकाउनलाई केही छैन, जे छ सामुन्ने छ ।’ पत्रकारितामा योगदान पु¥याए वापत सम्मान तथा पुरस्कार प्राप्त गरेको संख्या उहाँ आफैलाई आफै थाहा छैन । औला भाचेर ठ्याक्कै गन्न नसकेपनि तीन दर्जनभन्दा बढी सम्मान ग्रहण गरिसक्नु भएको छ ।
केहीवर्ष पहिले नेपालगन्जमा अवधी पत्रकार शिरोमणिका रुपमा सात वटा सामाजिक संस्थाले उहाँलाई एकसाथ सम्मानित गरे । देशका तीन जना त प्रधानमन्त्रीले उहाँलाई सम्मान गर्नुभएको छ । २०५६ पुस १५ मा रिपोर्टर्स क्लवमा तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अभिनन्दन–पत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो । २०६० वैशाख २० मा नेपाल पत्रकार महासंघले प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दमार्फत प्रेस स्वतन्त्रता सेनानीका रुपमा सम्मान गर्यो । त्यस्तै, २०६१ असोज ७ मा प्रेस काउन्सिलको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गोपालदास पत्रकारिता पुरस्कारबाट सम्मान गर्नुभएको थियो । स्थानीयस्तरमा विभिन्न सामाजिक तथा साहित्यिक संस्था र राजनीतिक पार्टीहरुबाट पाएको सम्मान तीन दर्जन भन्दा बढी होला ।
प्रेस स्वतन्त्रताको लडाई विश्वमै जारी छ । मिडिया निरपेक्ष हुन सकेको छ्रैन । चाचाजी भन्नुहुन्छ ‘नियन्त्रण र हस्तक्षेप उस्तै छ । फरक त्यत्ति हो, हिजो शासकको नियन्त्रणमा मिडिया हुन्थ्यो, आज लगानीकर्ताको ।’ झन पंचायतकालमा प्रेस स्वतन्त्रताको अवस्था कस्तो थियो होला ? युवा पुस्ता केवल अग्रजबाट सुन्न सक्छन, कितावमा पढ्न सक्छन । वास्तविक अनुभूति त उनैलाई छ, जो लडाईको मैदानमा होमिएका थिए । २०३१ सालदेखि नेपालगन्जबाट महावीरप्रसाद गुप्त र विजयकुमार गुप्तको सम्पादन एवं किरणप्रभा गुप्तको प्रकाशनमा किरण साप्ताहिक छापिन थाल्यो । चाचाजीको पत्रकारिता यात्रा पनि त्यही किरण साप्ताहिकबाट सुरु भयो । केही वर्षपछि चाचाजीले सो पत्रिकाको प्रधान सम्पादकको जिम्मेवारी पाउनुभयो । कति दैनिक तथा साप्ताहिक पत्रिका यसबीच उदय भए र विलाए पनि । नामोनिसान छैन । तर पन्नालाल गुप्त अर्थात चाचाजी प्रधानसम्पादक रहेको यो पत्रिका आजसम्म पनि आफूलाई जीवित राख्न सफल छ । २०६४ सालमा हिन्दी भाषामा प्रकाशित नव मधेश जागरण दैनिकमा उहाँले करिब एक वर्ष सम्पादकको रुपमा काम गरिसकेका छन् । उमेरले आठ दशकभन्दा बढी यात्रा तय गरेपनि चाचाजीको उत्साहमा कुनै कमी आएको छैन । भलै केही सयमयता शरीरले साथ दिन सक्दैन कि भनेर इनकार गरिरहेको छ ।
पञ्चायतकालमा व्यावसायिक पत्रकारिता थिएन । मिडिया मिसनका रुपमा सञ्चालित थिए । व्यक्ति वा कुनै संस्था विशेषको मुखपत्र भनेपनि हुन्छ । चाचाजी मीडियामा प्रवेश गरेको पनि त्यही मिसन थियो । प्रजातन्त्रका लागि पञ्चायतलाई कसरी ढाल्ने भनेर योजनाका साथ मिसन पत्रकारिता सुरु गरेका थिए । उहाँले भन्नुभयो–‘पंचायतविरुद्ध बोल्न पाइन्थेन । घुमाउरो तरिकाले लेख्नु पथ्र्यो ।’ राजाको विरुद्ध लेखेको आरोपमा तीन पटक राजकाज विरुद्धको अपराधमा जेल परिसकेका छन् । पक्राउ परेपछि प्रहरीले बीस दिन भन्दा बढी थुनामा राख्थे । पत्रकारको नाताले जेलमा दुव्र्यवहार भने गर्दैनथे । ‘कतिपय पञ्चायती पत्रकार मेरै पक्षमा तर खुलेर आउदैनथे । पञ्चायत समर्थकलाई जनताको अदालतमा उभ्याउनु पर्छ भनेर बर्दिया मैनापोखरबाट आएको एउटा पाठक पत्र छापेका थिए । त्यो छापेकै आरोपमा उनी पक्राउ परे । तारिख लिन काठमाडौ जानु पथ्र्यो । पछि कृष्णप्रसाद भट्राई प्रधानमन्त्री भएपछि मुद्दा फिर्ता लिए ।’ उहाँले भन्नुभयो ।
 गांधीवादी विचारधाराबाट प्रभावित चाचाजी कांग्रेसी थिए । तर कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको पत्रकार सम्मेलन आफ्नै घरमा गराएका थिए । ‘मनमोहन अधिकारी विपरित राजनीतिक विचारधाराका नेता भएपनि मैले आफ्नै निवासमा उनको पत्रकार सम्मेलन गराएको थिए ।’ चाचाजीले भन्नुभयो ।
वर्तमान पत्रकारिताबाट पूर्णरुपमा सन्तुष्ट नभएपनि भविष्यको पत्रिकारिता आसलाग्दो अनि तारिफ योग्य ठान्छन उहाँ । शिक्षित, तालिमप्राप्त युवापुस्ता जोश जागरका साथ व्यावसायिक पत्रकारिता पेशामा आएको देखेर उहाँ साह्रो खुशी हुनुहुन्छ । भन्नुहुन्छ–‘मिडिया उद्योगको रुपमा विकसित भैसकेको हुँदा व्यावसायिक रुपमा पत्रकारितामा लाग्नेको भविष्य उज्जवल छ ।’ पत्रकारिता सम्मानित पेशा हो । प्रेसले सामाजिक दायित्व निर्वाह गर्नुपर्छ । अनि मात्र पत्रकार व्यावसायिक हुन सक्ने चाचाजीको अनुभवले भन्छ ।

No comments:

Post a Comment