Labels

Thursday, May 1, 2014

२२ वर्षमा २२ सरकार, काँग्रेसले ११ पटक नेतृत्व लिए

प्रजातन्त्र पुर्नस्थापनादेखि २२ वर्षमा २२ पटक सरकार परिवर्तन भए तर ती सरकारले मन्त्री बनाउनेबाहेक अन्य महत्वपूर्ण कुनै काम गरेका छैनन् । २२ वर्षको राजनीतिक सत्ताको वरिपरी नै घुमिरहे । २०४७ देखि २०७० सालसम्म चार सय ४३ क्याविनेट स्तरका मन्त्री भएका छन् । यसैगरी एक सय ९३ राज्यमन्त्री र ७१ सहायकमन्त्री भए । ०४७ यता हालसम्म मन्त्री हुनेमा सबैभन्दा बढी काँग्रेसका छन् । काँग्रेसबाट मात्र दुई सयभन्दा बढी नेताहरु मन्त्री भएको देखिन्छन् । त्यस्तै एमालेबाट ९६, राप्रपाबाट ४८, सद्भावनाबाट १७ र माओवादीबाट ५० भन्दा बढी मन्त्री तथा राज्यमन्त्री बनेका छन् । प्रजातन्त्र पुनस्स्थापना भएयता १२ प्रधानमन्त्री र १६ उपप्रधानमन्त्री भए । कांग्रेसले मात्र एघारवटा सरकारको नेतृत्व गरिसकेका छन् ।
कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराई दुईपटक, गिरिजाप्रसाद कोइराला पाँचपटक र शेरबहादुर देउवा तीनपटक, सुशील कोइराला एकपटक (बहाल) प्रधानमन्त्री बनेका छन् । त्यस्तै एमालेबाट मनमोहन अधिकारी, माधवकुमार नेपाल र झलनाथ खनाल एक एक पटक प्रधानमन्त्रीको कुर्सीमा बसिसकेका छन् । पञ्चायतकालमा पटकपटक प्रधानमन्त्री बनेका राप्रपाका सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द प्रजातन्त्र पुनस्स्थापनायता पनि दुई दुईपटक प्रधानमन्त्री भए ।
माओवादीका पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई एक एकपटक प्रधानमन्त्री भए । राजनीतिक खिचातानीको फाइदा उठाउँदै खिलराज रेग्मी पनि मन्त्रीपरिषद्का अध्यक्ष बन्ने मौका पाए त्यस्तै राजा ज्ञानेन्द्रले मुलुकको शासनभार आफ्नो हातमा लिएका बेला मन्त्रिपरिषद्को उपाध्यक्षमा किर्तीनिधि विष्ट र डा.तुलसी गिरीलाई उपाध्यक्ष बनाइएको थियो भने आफू अध्यक्ष भएका थिए । काँग्रेस नेता खुमबहादुर खड्का प्रजातन्त्र बहाली भएयता मात्र आठ पटक मन्त्री बने । त्यस्तै पहिले काँग्रेसबाटै मन्त्री भएका तर, यतिबेला फोरम (लोकतान्त्रिक) का अध्यक्ष बनेका विजयकुमार गच्छदार पनि खड्कालाई पच्छ्याउँदै आठै पटक मन्त्री बनेका छन् । कांग्रेसका डा. रामशरण महत सात पटक र महन्थ ठाकुर (हाल तमलोपा) र प्रकाशमान सिंह छ पटक तथा चिरञ्जीवी वाग्ले, गोविन्दराज जोशी पाँच, रामचन्द्र पौडेल, ढुण्डीराज शास्त्री चारपटक मन्त्री बनेका छन् । यसैगरी कांग्रेसकै मार्शलजुलुम शाक्य, शेख इद्रिस, बलबहादुुर राई, चक्रप्रसाद बास्तोला, पूर्णबहादुर खड्का पनि चारपटक मन्त्री बनेका छन् । काँग्रेसबाट फोरम लोकतान्त्रिक हुँदै आफ्नै पार्टी राष्ट्रिय मधेश समाजवादी पार्टी खोलेका शरतसिंह भण्डारी, फोरम नेपालबाट फोरम गणतान्त्रिक गठन गरी अहिले तराई मधेश राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका जयप्रकाशप्रसाद गुप्ता पनि चारपटक मन्त्री बनिसकेका छन् । ०४७ सालमा भट्टराई नेतृत्वको सरकारबाट सत्ता राजनीतिमा प्रवेश गरेको एमाले त्यसयता १३ वटा सरकारमा सहभागी भएको छ  । ३९ सदस्यीय पोलिटब्युरो सदस्यमा विष्णु रिमाल, पशुपति चौलागाईं र प्रकाश ज्वालाबाहेक सबै नेता मन्त्री भइसकेका छन् । त्यस्तै एक सय १५ केन्द्रीय सदस्यमा पनि मन्त्री नभएका अनुहार कमै छन् । एमालेमा मन्त्री हुनेको संख्या ९६ छन् । एमालेबाट भरतमोहन अधिकारी पाँच र सहाना प्रधान चारपटक मन्त्री बने । यसैगरी अमृतकुमार बोहोरा, भीम रावल मन्त्री बन्नेमा अगाडि छन् ।
०६२ र ६३ को जनआन्दोलनपछि सत्ता राजनीतिको केन्द्रमा पुगेको माओवादीले पाँच वर्षको अवधिमा दुईवटा सरकारको नेतृत्व गरे । २८ चैत ०६४ संविधानसभा निर्वाचनपछि माओवादीका अध्यक्षसमेत रहेका दाहालले सरकारको नेतृत्व गरे । माओवादीबाट कृष्णबहादुर महरा, देवप्रसाद गुरुङ, मातृकाप्रसाद यादव, पम्फा भुसाल, हिसिला यमी, गोपाल किराँती, गिरिराजमणि पोखरेल, लेखराज भट्टलगायत दुई र दुई पटक मन्त्री बनेका छन् । सोही मन्त्रीमण्डलमा डा. बाबुराम भट्टराई अर्थमन्त्री थिए पछि प्रधामन्त्री पनि भए । खाँटी राजतन्त्रवादीका रुपमा चिनिने राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि प्रजातन्त्र बहालीपछि पाँच पटक मन्त्री बने । त्यस्तै राप्रपाका डा. प्रकाशचन्द्र लोहनी (हाल राजपा) चार, पद्मसुन्दर लावती (हाल राप्रपा नेपाल), बालाराम घर्तीमगर, बुद्धिमान तामाङ, रामकृष्ण आचार्य, फत्तेसिंह थारु, रवीन्द्रनाथ शर्मा, सर्वेन्द्रनाथ शुक्ल (हाल तमलोपा) तीन पटक मन्त्री बनेका छन् । राप्रपाको केन्द्रीय तहमा रहेका अधिकांश नेता मन्त्री भएका छन् ।
नेपाल सद्भावना पार्टीबाट स्व.गजेन्द्रनारायण सिंह पाँच पटक मन्त्री भने राजेन्द्र महतो चार पटक । रामेश्वर राय यादव, बद्री मण्डललगायत मधेशवादी दलका राजकिशोर यादव, अनिल झा, नन्दन दत्त, अकवाल अहमद्, इस्तिकाय राइन, विजय यादव, दानबहादुर चौधरी, हरिनारायण यादव, रामचन्द्र राय, सर्वेन्द्रनाथ शुक्ला, ह्रदयश त्रिपाठी, महेन्द्रराय यादव, वकिल मुस्लमान, श्यामसुन्दर गुप्ता, रेणु यादव, रामचन्द्र कुशवाह, मृगेन्द्रकुमार सिंह, गणेश तिवारी नेपाली, सर्वदेवप्रसाद ओझा, सञ्जयकुमार साह, रामबच्चन अहिर यादव, करिमा वेगम, शत्रुधनप्रसाद सिंह कोइरी, सरोजकुमार यादव, गोविन्द चौधरी, कलावतीदेवी दुसाध, चन्दा चौधरी, वृजेशकुमार गुप्ता, हेमराज तातेड, राजलाल यादव, सरिता गिरी, खोभारी राय, सुरिताकुमारी महतो, लक्ष्मण महतो, दुर्गादेवी महतो, काशीदेवी झा, ईश्वरदयाल मिश्र, अरविन्द साह, ओमप्रकाश यादव पनि मन्त्री भइसकेका हुन् ।

No comments:

Post a Comment