Labels

Thursday, May 1, 2014

तीन दलको अडान कायमै, कार्यदलद्वरा विकल्प प्रस्तुत



  • एकीकरण नभए नहोस् सद्भावना शब्द छोडिन
  • महतोले भने, एकीकरणको बाधक म हुँदिन
  • अध्यक्षमा फोरम नेपालको दावी कायमै
  • नेतृत्व पाउने ढुक्क भएर तमलोपा गौण 

मधेशवादी तीन दल मधेशी जनअधिकार फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीचको एकीकरणमा हालसम्म धेरै कुरा भएको छ र केही पनि भएको छैनन् नेताहरुले बताउँन थालेका छन् । एकीकरणकै लागि हालसम्म ३० पटक भन्दा बढी बैठक बसिसकेका छन् तर एकआधबाहेक कुनै कुरामा टुगों लागेको छैन । पार्टीका नेताहरुलाई यसबारे जिज्ञासा राख्दा उनीहरुले सबै कुरामा छलफल भएको छ एकीकरणको नजिकमा छौ तर केही कुराको टुगों नलागेको प्रतिकृया दिएका छन् ।

केही दिनपहिले सिहदरवारमा भेट भएका सद्भावना पार्टीका सहअध्यक्ष तथा कार्यदलका सदस्य लक्ष्मणलाल कर्णसँग अनौपचारिक जिज्ञासा राख्दा उनले सहमतिको नजिक पुगिसकेका छौ तर कुनै विषयमा सहमति भएको छैन भनि प्रतिकृया दिएका थिए । उनले भने, हेर्नुस् एकीकरणको विकल्प छैन अब यसबाट कोही पनि पन्छिन मिल्दैन, केही सानातिना कुरामा अड्किएको छ कुरा मिलेपछि एकीकरणको घोषणा हुन्छ ।’ हालसम्म तीन पार्टीबीच दुईटा कुरामा लिखित रुपमा सहमति भएको छ त्यो हो एकीकृत पार्टीको मस्यौदा र केन्द्रीय कार्यसमितिको सँख्या । सद्भावना पार्टीका महासचिव एवं कार्यदलका सदस्य मनिष सुमनले पार्टीको मस्यौदामा तीन अध्यक्षको हस्ताक्षर भएको छ भने ३०१ सदस्य कार्यसमिति रहने गरी सहमतिमा हस्ताक्षर भएको जानकारी गराए ।
पार्टीको नेतृत्व कसले लिने र नेतृत्वको स्वरुप, झण्डा, चुनाव चिन्ह र पार्टीको नाम बारे हालसम्म कुनै सहमति भएको छैन । सद्भावना पार्टीले तीन पार्टीकै अस्तित्व रहने गरी एकीकरण हुनुपर्छ भन्दै पार्टीको नाममा तीन पार्टीकै अस्तित्व झल्किनु पर्ने र तीन पार्टीमध्ये एउटाको झण्डा, एउटाको चुनाव चिन्ह र एउटाको नेतृत्व हुने गरी बाँडफाँड हुनुपर्ने प्रस्ताव गरेको महासचिव सुमनले बताए । त्यसअनुरुप पार्टीको नाम सद्भावना लोकतान्त्रिक फोरम नेपाल हुनुपर्ने, झण्डा तीर वा मसाल हुनुपर्ने र झण्डा पनि फोरमको वा सद्भावना पार्टीको हुनुपर्ने र एकीकृत पार्टीको नेतृत्व तमलोपाले गर्नुपर्ने र एकजना अध्यक्ष र दुईजना कार्यकारी अध्यक्ष रहने गरी प्रस्ताव सद्भावना पार्टीको छ । त्यसमा तमलोपाको पनि सहमति रहेको छ  भने फोरम नेपालले असहमति जनाएको छ । फोरम नेपालका तर्फबाट कार्यदलमा रहेका उपाध्यक्ष लालबाबुले आफ्नो पार्टीको तर्फबाट फोरम नेपालकै झण्डा र समाजवादी लोकतान्त्रिक फोरम नेपाल हुनुपर्ने प्रस्ताव छ र त्यसमा आफूहरुको अडान कायम रहेको बताए ।
हामी कार्यदलको तर्फबाट दुई–दुई विकल्पअघि सारेका छौ, त्यसमा अब तीन अध्यक्षले बसेर छलफल गरेर टुगों लगाउनेछ, लालबाबुले भने, झण्डाको बारेमा आफ्नो अध्यक्षले पेस गरेको प्रस्तावमा सहमति भइसकेको छ भने चुनाव चिन्हमा मसाल वा तीर हुनेछ भने पार्टीको नाममा समाजवादी लोकतान्त्रिक फोरम नेपाल र सद्भावना लोकतान्त्रिक फोरम नेपाल गरी दुईटा नाम कार्यदलको तर्फबाट प्रस्ताव गरेका छौ । नेतृत्वको विषयमा एकजना वरिष्ठ नेता, एकजना अध्यक्ष, अर्को उपाध्यक्ष वा सहअध्यक्ष र महासचिव, कोषाध्यक्ष रहने गरी नेतृत्वको स्वरुप हुने आफ्नो पार्टीको प्रस्ताव छ भने ती दुई दलले एक अध्यक्ष र अर्को दुईजना कार्यकारी अध्यक्ष रहने गरी नेतृत्वको स्वरुप हुनेपर्ने प्रस्ताव ल्याएको छ र यी स्वरुप कार्यदलको पनि विकल्पको रुपमा अघि सारेका छौ । यस विषयमा पनि उहाँहरुले नै टुगों लगाउनु हुनेछ ।’
सद्भावना पार्टीका केन्द्रीय सदस्य एवं कार्यदलका सदस्य योगेन्द्रराय यादवले आफ्नो पार्टीले कुनैपनि हालतमा सद्भावना शब्द छाड्दैनन् बरु एकीकरण नहोस् तर सद्भावना शब्द नछाड्ने बताए । उनले पार्टीको नाममा सद्भावना शब्द राखे भने आफूहरुले मसाल छाप पनि दिन तयार रहेको बताउँदै सद्भावना पार्टीले बोकेको इतिहासलाई कायम राख्नैपर्ने बताए । फोरम नेपालको तर्फबाट कार्यदलमा रहेका रामसहाय यादवले पार्टी नै लोकतान्त्रिक समाजवादी भएपछि पार्टी पनि त्यस्तै हुनुपर्ने भन्दै कुनैपनि हालतमा सद्भावना पार्टी राख्न नसकिने अडान दोह्राएको स्रोतको दावी छ । चैत २४ गते तमलोपाको पार्टी कार्यालयमा बसेको बैठकमा पनि सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कार्णले पार्टीको नाममा जसरी पनि सद्भावना पार्टीको नाम आउनैपर्ने अडान दोहोर्याएका थिए ।  
यता उपेन्द्र यादवले आफ्नो मस्यौदामा मधेश आन्दोलनको इतिहासमा सद्भावना पार्टीको गजेन्द्रनारायण सिह र तमलोपाको वेदानन्द झाको सम्बोधन गरि दिएपछि तमलोपाका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उपेन्द्र यादवको समाजवादी पनि स्विकार गरेका छन् । चैत २० गतेदेखि तीन दिनसम्म बसेको कार्यदलले केन्द्रीय समितिको स्वरुपको टुगों लगाएका छन् । एकीकृत पार्टीको घोषणा भएदेखि एकवर्षभित्र महाधिवेशन गराउने गरि केन्द्रिय सदस्य ३०१ जनाको रहने भने कार्यसम्पादन समिति ३१ सदस्यीय तथा राजनीतिक समिति ६५ सदस्यीय रहने कुराको टुगों कार्यदलले लगाएको छ ।
अरु विषयमा टुगों लगाउने जिम्मा कार्यदललाई दिएपनि पार्टीको नेतृत्व कसले गर्ने र तीन अध्यक्षको पदीय हैसियत के हुने विषयमा तीनजना अध्यक्ष (उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतो) ले छलफल गर्ने भएको छ । स्रोतका अनुसार तमलोपा र सद्भावना पार्टीले महन्थ ठाकुरलाई अध्यक्ष र राजेन्द्र महतो र उपेन्द्र यादवलाई कार्यकारी अध्यक्ष बनाउने गरी नेतृत्वको स्वरुप प्रस्तुत गरेका छन् भने फोरम नेपालले वरिष्ठ नेता महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष राजेन्द्र महतो रहने गरी नेतृत्वको स्वरुप प्रस्तुत गरेको छ यी दुई स्वरुपको विषयमा तीन दलको विषयमा कुनै सहमति भएको छैन । स्रोतले भने, यो विषयमा तीन दलका अध्यक्षले छलफल पनि शुरु गरेको छैन । सञ्चारमाध्यममा आएको महन्थ ठाकुरलाई अध्यक्ष, उपेन्द्र यादवलाई संसदीय दलको नेता तथा राजेन्द्र महतोलाई संगठन विभाग प्रमुख दिएको कुरा सरासर गलत हो, फोरम नेपालका उपाध्यक्ष लालबाबुले भने, हामी पनि अध्यक्षको दावेदार हौं, सञ्चारमाध्यममा आएको समाचार कपोकल्पित र बनाबटी हो त्यसमा कुनै सत्यता छैन । तीन अध्यक्षको बीचमा यस विषयमा कुराकानी भएको छैन । तीन दलले जे निर्णय गर्छन् त्यो हामीलाई स्विकार हुन्छ तर हामी पनि अध्यक्षका दावेदार हौं किनभने परिवर्तनका लागि मधेश आन्दोलन गरी आएको र सँख्यामा पनि सबभन्दा ठुलो पार्टी भएका कारणले नेतृत्व हामीले पाउनुपर्ने दावी हाम्रो पनि हो । तमलोपाभन्दा सँख्यामा एक कम भएपनि मत दुईटै दलभन्दा बढी रहेको कारणले पनि पार्टी नेतृत्वको हक पहिलो हाम्रो हो । यद्यपी आफ्नो गोरुको बाह्रो टाका हामी भन्दैनौ सहमति र छलफलका लागि खुल्ला छौ ।’
यता सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि एकीकरणका बाधक सद्भावना पार्टी कुनै पनि हालतमा हुनु हुँदैन भन्दै पार्टीका पदाधिकारीहरुसँग आफू साधारण सदस्य बस्न पनि तयार रहेको तर पार्टीको नाममा सद्भावना शब्द आउनैपर्ने धारणा राखेका थिए । उनले पद बाँडफाँडमा आफू बाधक हुँदैन, यदि पदाधिकारीमा आफू नबसेर एकीकरण हुन्छन् भने त्यो पनि गर्न तयार रहेको आफ्ना पार्टीका पदाधिकारीसमक्ष कुरा राखेको स्रोतको दावी छ ।

हालसम्म हस्ताक्षर भएर भएका सहमतिहरुः

  • पार्टीको मस्यौदा (उपेन्द्र यादवले पेस गरेको)
  • ३०१ केन्द्रीय सदस्य

–राजनीतिक समिति ६५ सदस्य
–कार्यसम्पादन समिति ३१ सदस्य
कार्यदलले गरेका सहमतिहरुः

  • पार्टीको नाम 

–सद्भावना लोकतान्त्रिक फोरम नेपाल (तमलेपा र सद्भावनाको प्रस्ताव)
–समाजवादी लोकतान्त्रिक फोरम नेपाल (फोरम नेपालको प्रस्ताव)

  • पार्टीको झण्डा

–रातो र निलोको बीचमा रहेको सेतोभागमा एक तारा (फोरम नेपालको झण्डा)
–रातो र निलोको बीचमा रहेको सेताभागमा तीर (सद्भावना पार्टीको झण्डा)

  • चुनाव चिन्हः 

–मसाल छाप (फोरम नेपालको)
–तीर छाप (सद्भावना पार्टीको)

  • नेतृत्वको स्वरुप

–सेरोमोनियल अध्यक्ष र दुईजना कार्यकारी अध्यक्ष (तमलोपा र सद्भावनाको प्रस्ताव)
–एकजना वरिष्ठ नेता र अध्यक्ष, सहअध्यक्ष र महसचिव (फोरम नेपालको प्रस्ताव)

No comments:

Post a Comment