Labels

Monday, January 19, 2015

मेरो भाइको सहादत खेर गयो


  • शिवनारायण मण्डल (सहिद दिनदयाल मण्डलका दाइ)

यो बलिदानी दिवस नआइदिए जस्तो लाग्छ । यो दिन सम्झँदा परिवार नै पीडित हुन्छ । सबैको आत्मा रुन्छ । मन रुन्छ । परिवारमा उनको आवश्यकता खड्की रहेको छ ।
उनका तीनटा छोरा छन् । अब त छोराहरु ठूलो भइसक्यो तर अझै पनि उनीहरुको मनबाट बुवाको सपना गएको छैन । मेरो भाइ दिन दयाल मण्डल फुटबलका खेलाडी थियो तर खेलाडी बन्नुको उनको आफ्नै स्वार्थ थियो । उनको उद्देश्य नै थियो राजनीतिक गर्नु । मधेश जनताको लागि काम गर्नु । उनी सानै छँदा गाउँ टोलमा डुलेर मधेशी अधिकारको कुरा गथ्र्यो ।

त्यो बेला मलाई आश्चर्य लाग्थ्यो कि दिनदयालले यो के गर्न लागेको । यस्तो चेतना उनमा कसरी कहाँबाट आयो म अच्चमित हुन्थे । राज्यमा खस पहाडिहरुको बर्चस्व हो । ठूला ठूला ठाउँमा उनीहरुको पहुँच छ । गाउँदेखि केन्द्रसम्म एउटै समुदायको बर्चस्व छ र त्यसले गर्दा मधेशीमाथि विभेद भइरहेको छ र यसलाई हटाउनका लागि मधेशमा आन्दोलन गर्नुपर्छ ।
समानताको हक, समानुपातिक अधिकार प्राप्त नभएसम्म मधेशको विकास हुँदैन भने कुरा मधेश आन्दोलनको चर्चा नहुँदैन उनी गाउँमा युवाहरुलाई भन्दै हिँड्थ्यो । बुढापाकालाई सम्झाउँदै हिँड्थ्यो । र, नभन्दै मधेश आन्दोलन त्यसैका लागि भयो ।
मधेश आन्दोलन शुरु हुँदा सबभन्दा बढी खुशी मेरै भाइ रहेको पाएको थिए । ऊ निकै प्रफुलित थियो । फुटबल खेलका ऊ क्याप्टन थियो र त्यसैको माध्यमबाट उनी युवालाई संगठित गर्दै थियो ।
२०६४ माघ २ गतेदेखि मधेशमा आन्दोलन शुरु भयो त्यो दिनदेखि कहिले घर फर्केको थिएन । मधेश आन्दोलन नै उनको दिनचार्या बनेको थियो । छोराहरु कहाँ छन् । श्रीमती कहाँ छन् । परिवारका अरु सदस्यहरु कहाँ छन् । कुनै ख्याल थिएन उनलाई । उनी दिनरात मधेश आन्दोलनमा लागेका थिए । कुनै दिन यसो भेट्दा ए भाइ किन यस्तो गरेको घरको कामकाज छाडेर, पढाई लेखाई छाडेर के मा लागेका छौ तिमी भन्दा उनले दाई मधेशी जनताले मुक्ति पाउने दिन आउँदैछ । अब पहाडिको गुलाम भएर बस्नु पर्दैन । मधेशीले पनि अधिकार पाउँछन् । मधेशीले पनि नोकरी पाउँछन् तपाई चिन्ता नलिनु न भनेर भाग्थ्यो । मानौं आन्दोलनका लागि उनमा भूत सवार भएको थियो ।
माघ ५ गते लहानमा रमेश महतो मारिएपछि मधेश आन्दोलनले गति लिएको थियो । मधेशमा आन्दोलन चर्केको थियो । आन्दोलनकै क्रममा मेरो भाईलाई माघ ४ गते गोली लागेको थियो । गोली लागेर घाइते भएका भाइलाई उपचारका लागि धारानको लगेका थिए । उनको अवस्था राम्रो थिएन । उपचार शुरु भएको थियो तर उसले फागुन ९ गते आफ्नो प्राण त्याग गर्यो । त्यो दिन लाग्यो हाम्रो संसार नै ध्वस्त भयो । हाम्रो लागि संसार अन्ध्यारो भयो ।
तर पछि चित्त बुझाए । मेरा भाइले भनेका कुरा सम्झे । उनले भनेका थिए, दाइ मधेश आन्दोलनपछि मधेशी जनताले अधिकार पाउँछ । राज्यमा मधेशी जनताको पहुँच हुन्छ ।’ यही कुरा सम्झेर चित्त बुझाए । मेरो भाइको सहादतले यदि मधेशी जनता मुक्ति पाउँछ भने मेरो परिवारले बलिदान दिन तयार छन् । सबै घरपरिवारलाई मैले यही भनेर चित्त बुझाए ।
मैले आफ्नो बुहारीलाई भने, मधेश आन्दोलन सफल भएपछि तिम्रो छोराहरुले हामी जस्तो दुःख पाउँदैन । आफ्नै देशमा अपहेलित हुनुपर्ने छैन । बुहारी पनि चित्त बुझाएर बसे । आफ्ना तीनजना भतिजोलाई पनि त्यही गरी चित्त बुझाए । आमा बुवालार्य पनि त्यही भनेर चित्त बुझाए । अहिले एउटा भतिजो प्रभु दयाल मण्डल एसएलसी पास गरेर विराटनगर पढ्दैछन् भने अशिष मण्डल र जयदेव मण्डल बोर्डिगं स्कूलमा पढिरहेका छन् । तर देशको अवस्था हेर्दा उनीहरुको पनि भविष्य सुरक्षित छैन । हामी जस्तै उनीहरुले पनि दुख पाउने नै भयो । विभेदको शिकार हुने नै भयो । सविधान बन्ने कुनै ठेगान छैन । राज्य तानाशाहीमा जाँदैछ । मधेशी जनताको मत पाएर काँग्रेस र एमाले निरंकुश हुँदैछ । त्यसैले मेरो भाइले दिएको सहादत खेर जाने भएको जस्तो लाग्छ ।
भाइले सहादत दिएर भोलीको दिनमा आउने सन्ततीले सुख पाउने आशा भएको भए सन्तोष हुन्थ्यो तर दुख नै पाउने भएपछि भाइको सम्झनाले सताउँछ । खेती किसानीबाट घर व्यवहार चलिरहेको छ । एक विघा जमिन छ । के खाने र के ले छोराहरुलाई पढाउने । सरकारबाट कुनै सहयोग पाएको छैन । केही सहयोग पाएपनि त्यो पर्याप्त छैन । एकजना भाइ गएपछि घर नै बर्बाद हुने भयो । एकजना गएपछि पुरै परिवारमा असर परेको छ । मैले आफ्नो कमाईबाट आफ्नो भतिजोलाई अलि अलि सहयोग गरिरहेको छु । तर यसो कति दिनसम्म चल्छ । सधै अर्काको सहयोगमा यसरी चल्दैनन् ।
मधेशी दलबाट पनि मधेशी जनता धेरै अपेक्षा गरेका थिए तर जनतालाई हात लाग्यो शुन्य । पटक पटक उनीहरु सरकारमा गए तर सहिदहरुका लागि राम्रो व्यवस्था कहिले गरेनन् । उनीहरु जहिले पनि आफ्नै लागि सोचे । तर उनीहरुले पनि मात्र के गर्ने सरकारले गर्न दिए पो गर्नु । उनीहरु पनि सरकारमा गएर सघर्ष गरेकै हुन् तर नदिएपछि कसलाई के लाग्छ । मधेशवादी दलमा एकता नभएको कारण पनि मधेश कमजोर भएको जस्तो लाग्छ । एक भएर मधेशमा आएको भए आज मधेशको अवस्था यस्तो हुने थिएन । त्यसैले मधेश बलिदानी दिवसको उपलक्ष्यमा सबै मधेशवादी दललाई एक भएर मधेशको अधिकारका लागि लड्न आग्रह गर्दछु ।
ratopati

No comments:

Post a Comment