Labels

Thursday, March 13, 2014

होलिको पूर्वसन्ध्यामा पञ्चकोसी परिक्रमाको महत्व


  • सुरेशकुमार यादव

तराई मधेशमा फगुवा (हाली) को रौनकसँगै पञ्चकोशी परिक्रममा शुरु भएको छ । फागुन महिनाको अमवस्यादेखि फागु पूर्णिमासम्म १५ दिन यो परिक्रमा चल्छ । पौराणितककालमा यो परिक्रममा साधुसन्तबाट हुने गर्दथ्यो तर अहिले गृहस्थलगायत सर्वसाधारणको पनि सहभागिता हुन थालेको छ । यसलाई मध्यपरिक्रमा पनि भनिन्छ । बृहत, मध्य र अन्तरगृह गरी यो परिक्रममा तीन प्रकारबाट सम्पन्न गरिन्छ । बृहत परिक्रमा उत्तरमा हिमाल, दक्षिणमा गंगा, पूर्वमा कोशी र दक्षिणमा गण्डकीसम्म हुन्थ्यो तर अहिले मध्यपरिक्रमा र अन्तरगृह परिक्रमा मात्र चलनमा छ ।
सँस्कृतिविद् रामदयाल राकेशले आफ्नो पुस्तक ‘मैथिली लोकसँस्कृति’ मा उल्लेख गरे अनुसार मध्यपरिक्रमाको सुरुआत अठारौ शताब्दीभन्दा पहिले नै भएको हुनुपर्छ र बीसौ शताब्दीसम्म आइपुग्दा महात्मा सुरकिशोर दासले यसलाई पाँच दिनबाट १५ दिनसम्म बनाए । परिक्रमामा धार्मिक मन्यता रामायणसँग जोडिएको पाइन्छ । परिक्रमा नेपाल र भारतको १५ स्थानको बसाईपछि सम्पन्न गर्ने गरिन्छ । जसमध्ये धनुषाको जनकपुर, धनुषाधाम, हनुमानगढी, औरही, सतोषर र पर्वता, महोत्तरीको मटिहानी, जलेश्वर, मडई, धुव्रकुण्ड र कञ्चनवन, भारतको गिरिजास्थान फुलहर, कल्याणेश्वर, विशौल र करुणालगायतका ठाउँहरुको परिक्रमा गर्छन । परिक्रमाका भक्तजनहरुले करिब १२८ किलोमिटरको यात्रा गर्ने गर्छन् ।

धनुषा जिल्लाको मिथिला विहारी मठबाट बाजागाजासहित रामजानकीको डोला रत्नसागर भएर जानकीमन्दिरमा ल्याइन्छ र त्यसपछि मात्र परिक्रमाका लागि प्रस्थान हुन्छन् । परिक्रमामा विभिन्न साँस्कृतिक झाँकी हुनुको साथै रामजानकीको डोलालाई विशेष रुपमा सजाइएको हुन्छ । परिक्रमामा साधुसन्तबाहेक अन्य गृहस्थ स्थानीयहरुको सहभागिता हुन्छन् जो १५ दिनसम्म आफ्ना सम्पूर्ण कामकाज छाडेर धार्मिक आस्था बोकेका परिक्रमामा डोलाको पछाडि पछाडि हिडिरहेका हुन्छन् ।
प्राज्ञ रामभरोसी कपडिका अनुसार धार्मिक आस्थाका कारण पुण्य प्राप्तिका लागि परिक्रममा सहभागि हुन्छन् । जसरी बाबाधाम र पशुपतिको दर्शन गर्नका लागि कतिपय भक्तजन प्रत्येक साल जाने गर्दर्छन् त्यस्तै यो परिक्रममा पनि प्रत्येक वर्ष सहभागि हुनेहरु पनि छन् ।’ यो परिक्रममा पुरै निष्ठाका साथ खाली खुट्टाले सहभागि भएका हुन्छन् ।
नेपाल र भारतगरि ८० कोषको परिक्रमा हुने यसको महत्वपूर्ण पक्ष के हो भने विश्राम गर्ने अर्थात डोला राख्ने विशेष ठाउँहरु तोकेका छन् । र तोकिएको दिन अनुसार सोही समयमा त्यहाँ पुग्नैपर्ने हुन्छ । पहिलो दिन रामजानकी मन्दिरबाट हिडेको परिक्रमा जनकपुरभन्दा दक्षिणमा अवस्थित हनुमाननगर गाउँमा पुगेर रात्री विश्राम लिन्छन् । त्यहाँ विशाल हनुमानको मुर्ति रहेका कारण त्यस ठाउँलाई हनुमानगढी पनि भन्छन् । त्यसको भोली पल्ट अर्थात फागुनशुक्ल प्रतिपदाका दिन दिनभरि हिडेपछि चारकोसको दुरीमा रहेका कल्यानेश्वर अर्थात कलनामा गएर विश्राम लिन्छन् । राजाजनकले आफ्नो राजधानी कायम गर्दा यो चारकोसलाई आधार मानेका थिए । त्यसको भोलीपल्ट अर्थात फागुनशुक्ल द्वितीयाका दिन त्यही रहेको कल्याणेश्वरनाथ मन्दिर अगाडिमा रहेका तलाउमा स्नान गरी परिक्रममा हिड्छन् । भक्तजनहरु गीतभजन गाउँदै विभिन्न धार्मिक प्रहसन गर्दै रमाईलो गर्दै पुनः चारकोस टाढा रहेको गिरीजास्थान (फुलहर) पुगेर विश्राम लिन्छन् । सीताले यहाँस्थित फुलवारीबाट फुलटिपेर गिरीजाको पुजा गरेको कारण यसलाई गिरीजास्थान भनिन्छ र यसले पनि ठुलो महत्व बोकेका छन् ।
तेस्रो दिन अर्थात फागुनशुक्ल तृतीयाका दिन गिरीजास्थानबाट तीन कोस टाढा मटिहानीमा गएर श्रद्धालुहरु विश्राम लिन्छन्, जहाँ लक्ष्मिनारायणको मन्दिर स्थापना भएको छ । मटिहानीको पनि आफ्नै महत्व रहेको छ । धर्मग्रन्थहरुमा उल्लेख भए अनुसार सीताको विहे हुनेबेला मटकोरका लागि यही ठाउँबाट माटो लगेका थिए । त्यसैले पनि यसलाई विशेष महत्वका साथ यसको वर्णन परिक्रममा गरेका छन् । त्यहाँ पनि रातभरि विश्राम गरेपछि चौथो दिन दुई कोस उत्तरमा अवस्थित जलेश्वरमा गएर भक्तजनहरुले विश्राम गर्छन् । त्यसपछि पाँचौ दिन त्यहाँबाट मडई गाउँमा गएर विश्राम गर्छन् । मण्डव ऋषिको विशेष स्थान जहाँ बसेर उनले तपस्या गरेका थिए त्यस ठाउँलाई ऋषि माण्डवकै नामबाट मडई नामाकरण गरिएको छ ।
त्यहाँबाट फागुनशुक्ल षष्ठिका दिन ध्रुवकुण्डमा गएर विश्राम लिन्छन् । त्यस रातीको विश्रामपछि विहानै भक्तजनहरु स्नान तथा पुजापाठ गरेर पुनः यात्रा प्रारम्भ गर्छन् । त्यहाँबाट सातौ दिन कञ्चनवनका लागि प्रस्थान गरिन्छ । कञ्चनवनमा गएर श्रद्धालु तथा भक्तजनहरुले रातीको विश्राम गर्छन् । त्यहाँ रामजानकीको मन्दिर पनि रहेका छन् । पौराणिक मान्यता अनुसार यहाँ कदली, ताल, तमाल, अनारलगायत नामका वनहरु थिए तर अहिले त्यो छैन तैपनि प्रकृति सुन्दरताले जो कोहीको मन मोहित गरेका हुन्छन् । त्रेतायुगमा श्रीरामले त्यहाँ होली खेलेको मान्दै आएका कारण त्यहाँ पुगेका भक्तजन तथा साधुसन्तले आपसमा होली खेलेर रमाइलो गर्छन् ।
 कञ्जनवनबाट डोलासहित भक्तजनहरु दिनभरि हिडेर पर्वता पुग्छन् । त्यहाँ हनुमानको मन्दिरको दर्शन गर्नुका साथै जलादी नदीमा स्नान गर्छन् । त्यो पवित्र ठाउँबाट त्यसको भोलीपल्ट डोलासहित परिक्रमा धनुषाधाम पुग्छन् । जनकपुरमा स्वयवरका दिन श्रीरामले भाँचेका धुनषको एक टुक्रा त्यहाँ पुगेको भन्दै त्यसलाई धनुषाधाम भनेर नामाकरण गरेको छ । त्यस ठाउँमा रामनमवीका दिन ठुलो मेला लागेका हुन्छन् । पर्यटकीय मान्यताले पुजित र सम्मानित ठाउँमा भक्तजनहरुका लागि बास बस्ने व्यवस्था गरेका हुन्छन् ।
एघारौ दिन अर्थात फागुनशुक्ल एकादशीका दिन डोला सतोखार पुग्छन् । परिक्रमामा सहभागि भक्तजनहरु त्यहाँ विश्राम गर्छन् र भजन किर्तन गर्छन् । बाह्रौ दिनमा डोलासहित भक्तजनहरु औरही पुग्छन् । त्यहाँ रामजानकी मन्दिरमा पुजाआजा गर्नुको साथै विमलाखोलामा स्नान पनि गर्छन् । तेह्रौ दिनमा भक्तजनहरु भारतभूमिमा रहेका करुणा पुग्छन् र त्यहाँ रातभरि विश्राम गर्छन् । त्यसको भोलीपल्ट भारतकै विसौल पुग्छन् र त्यहाँपनि रातभरि विश्राम गरेर त्यसको भोलीपल्ट फागुन पूर्णिमाका दिन जनकपुरधाम आइपुग्छन् । डोलासहित जनकपुर आएका भक्तजनहरुलाई नगरवासीले तामझामका साथ स्वागत गर्छन् । रंग अविरका साथ खुशीयाली मनाउँछन् । राती त्यही विश्राम गरेपछि त्यसको भोलीपल्ट अन्तरगृह परिक्रमा गरेर भक्तजनहरु आआफ्नो घर फर्कन्छन् र त्यसको भोली पल्ट होली खेल्छन् । प्राज्ञ कापडिअनुसार होलीको पूर्वसन्ध्यामा परिक्रमा सम्पन्न भएपनि योसँग परिक्रममा कुनै सम्बन्ध छैन ।
१५ दिनसम्म यात्रा गरेका भक्तजनहरुमा कुनै प्रकारको थकाई देखिएको हुँदैन । सबैको अनुहारमा खुशीयाली चम्केका हुन्छन् । परिक्रमाको समयमा ठाउँ ठाउँमा भक्तजनका लागि गाउँलेहरुले खानपान तथा वासको व्यवस्था गरेको हुन्छन् । गर्मी मौसममा हुने यो परिक्रमामा बाटोमा चिसोपानी तथा सर्वतको व्यवस्था पनि गरिएको हुन्छन् । यसबाट पुण्य हुने विश्वासका साथ गाउँले तथा स्थानीयहरुले भक्तजनका लागि सेवामा जुटेका हुन्छन् । जुन गाउँ भएर परिक्रमा गएका हुन्छन् त्यस गाउँका वासिन्दाले आफूलाई अहोभाग्य र पवित्र ठान्छन् । तर, अचेल यो सोचमा धेरैको परिवर्तन आइसकेको छ ।
आधुनिकताले गर्दा सेवाको भावना हट्दै गएको छ । बरु गाउँको बाटो भएर परिक्रमा गयो भने कतिपय व्यक्तिले आफ्नो धनजनको नोक्सान भयो भन्दै रिसाउने पनि गरेको परिक्रमामा सहभागि रामविलास ठाकुर (४५) ले बताउँछन् । हजारौ भक्तजनको भिड हुन्छन् । कुनै बोटो वा खेतबारीमा लगाईएको अन्नबाली भएको ठाउँबाट हिड्दा नोक्सान त हुन्छ नै । त्यसले गर्दा कतिपय किसान भक्तिभावका कारण केही बोल्दैन कतिपयले त भक्तजनहरुलाई लखेट्छन् पनि र त्यसले गर्दा बेलाबेलामा झडप पनि हुन्छन् । गतवर्षको परिक्रममा झडप हुँदा आगजनी समेत भएको थियो त्यसबाट धनजनको समेत क्षति भएको थियो । परिक्रममा झडप नहोस् भनेर सुरक्षा व्यवस्था पनि कडा पारिएको हुन्छ । परिक्रमाको अवधिमा कतिपय बुढा पाका वा रोगीको मृत्यू पनि भइरहेका हुन्छन् । यसपटक पनि एकजना बृद्धाको मृत्यू भएको छ । यसपालीको परिक्रममा फागुन १ गते जनकपुरधाम आइपुग्नेछ ।


No comments:

Post a Comment