Labels

Sunday, June 16, 2013

सद्भावनाले छुट्टै मोर्चा बनाउने


 तराई मधेश लोकतान्त्रिक पार्टीले एउटै मोर्चाका लागि छलफल गर्न बोलाएको बैठकमा अनुपस्थित रहेका सद्भावना पार्टीले आफ्नै नेतृत्वमा आफूबाट फुटेर गएका दलहरुलाई एक ठाउँमा आउन आह्वान गरेको छ ।
    मधेशमा एउटै मोर्चाको विपक्षमा अभिव्यक्ति दिँदै आएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बुधवार एक विज्ञप्ति जारी गरी विभिन्न समूहमा रहेका आफ्नै पार्टीका नेताहरुलाई एक ठाउँमा आउन आग्रह गर्नुभएको छ । दुई दिनसम्म बसेको पार्टीको कार्यसम्पादन बैठकले गरेको निर्णयपछि यस्तो आह्वान गर्नुभएको हो ।
    तमलोपाका अध्यक्ष महन्थ ठाकुरले बैशाख ११ गते सम्पूर्ण मधेशवादी दलका नेताहरुलाई पार्टी एकता वा मोर्चाका लागि छलफलका लागि बोलाउनु भएको थियो । त्यस बैठकमा सद्भावना पार्टी लगायत मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम लोकतान्त्रिक र तराई मधेश लोकतान्त्रिक पार्टी नेपालको अनुपस्थित थियो ।
    मधेशी मोर्चामा रहेका तीन पार्टी र मोर्चाबाहिर रहेका एक पार्टी गरी चार पार्टीको अनुपस्थित हुनुमा आन्तरिक कारण मोर्चाको नेतृत्व कसले लिने रहेको तमलोपाका एक नेताले बताउनुभयो । स्रोतका अनुसार आन्तरिक कारण जेभएपनि बैठकमा फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार आफ्नै पार्टीबाट अलग भएका शरत्सिह भण्डारीका कारण बैठकमा जानु भएन भने फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव जयप्रकाश गुप्ताका कारण बैठकमा जानु भएन । त्यस्तै तमलोपले आयोजना गरेको र सोही पार्टीबाट अलग भएको कारणले महेन्द्रराय यादव सो बैठकमा जानु भएन ।
    तमलोपाका उपाध्यक्ष बृषेशचन्द्र लालले आफ्नो पार्टी विगत १४ महिनादेखि एकीकरणको अभियानमा लागेको र यसलाई कुनै नकुनै रुपमा ठोस रुप दिने तयारीमा लागेको बताउनुभयो । उहाँले मंगलवार नेपाल सद्भावना पार्टी (आ.) का अध्यक्ष देवेन्द्र मिश्रसँग छलफल भएको र उहाँ एकीकरणका लागि सकारात्मक रहेको बताउनुभयो ।
  एउटै दल, एउटै झण्डा र एउटै चुनाव चिन्हमा चुनाव लड्ने तयारी भइरहेको बताउँदै नेता लालले आफ्ना पार्टीका अध्यक्ष ठाकुरले सबै दललाई एकठाउँमा ल्याउने प्रयास गरिरहनु भएको छ तर एक दुई दल नआए त्यसले कुनै असर नपर्ने बताउनुभयो ।
    मधेशमा एउटै मोर्चा बनाउने अभियानमा लाग्नु भएका तमलोपाका अध्यक्ष ठाकुर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा समेत सहभागि भई वर्तमान सरकारलाई सहयोग पुर्याउन बनेको उच्च स्तरीय संयन्त्रमा सदस्य रहनु भएको छ । फोरम लोकतान्त्रिकका एकजना सदस्यले गोरखापत्रसँग भन्नुभयो–मोर्चा वा पार्टी एकीकरण गर्ने कुरा महन्थ ठाकुरले ल्याउनु भएको छ, त्यो सकारात्मक कुरा हो तर अर्को मोर्चामा पनि क्रियाशिल हुनुहुन्छ यसले उहाँमा पनि स्वार्थ देखिएको छ । यदि साँचै उहाँ पार्टी एकीकरण वा मोर्चा बनाउन चाहनु हुन्छ भने मधेशी मोर्चाबाट राजिनामा दियोस् अनि मात्र मोर्चाबन्दीको लागि वतावरण तयार हुन्छ ।’
जयप्रकाश गुप्ताले शुरु गर्नुभएका अभियानका सदस्य आत्माराम साहले आफूहरुले महन्थ ठाकुरसँग सँगै जाने निर्णय सुनाइ सकेको र अब उहाँले के गर्नु हुन्छ कहिले बोलाउनु हुन्छ बाटो पर्खेर बसेको बताउनुभयो । महन्थ ठाकुरसँग मुद्दा र विचार मिलेको कारण आफ्नो अभियान एकीकरण अथवा मोर्चाको पक्षमा रहेको यदि अरु दलले पनि त्यस्तै मुद्दा र विचार लिएर आए त्योसँग पनि मोर्चाबन्दी हुनसक्ने तर चुनावका लागि मात्र मोर्चाबन्दी नहुने स्पष्ट पार्नुभयो ।
    सद्भावना पार्टीले जारी गरेको विज्ञप्तिमा तमलोपाको त्यो अभियानप्रति कुनै समर्थन वा असमर्थन नजनाउँदै मधेश, आदिवासी जनजाति, मुस्लिम, पिछडावर्ग तथा शान्ति वार्तामा रहेका सशस्त्र समूह तथा पार्टीलाई एकीकरण र सहकार्यका लागि आह्वान गरेको छ ।
सुरेशकुमार यादव
   

No comments:

Post a Comment