Labels

Sunday, June 16, 2013

मधेशमा एउटै मोर्चा नबन्ने


मधेशमा एउटै मोर्चा वा दल बनाउने कुरामा मधेशवादी दलहरुको बीचमा मत बाझिएको छ । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नै नेतृत्वमा एउटै दल वा मोर्चा बनाउने अभियान शुरु गरेको अवस्थामा यस्तो मत बाँझिएको हो ।
    राष्ट्रिय मधेश समाजवादीका अध्यक्ष शरत्सिह भण्डारीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको औचित्य समाप्त भईसकेकाले मधेशमा एउटा नयाँ मोर्चाको आवश्यकता रहेको बताउनु भयो । विहिवार मधेशी पत्रकार संघले बुझाएको सञ्चारमाध्यमबारे १० बुँदे ध्यानाकर्षण पत्र बुझ्दै अध्यक्ष भण्डारीले मधेशी मोर्चाका नेतृत्वकर्तामाथि नैतिक प्रश्नखडा भएकोले सो मोर्चाको औचित्य समाप्त भएको दावी गर्नुभयो ।
    अध्यक्ष भण्डारीले मोर्चाका नेताहरुले जुन गल्तिहरु गरेका छन् ती गल्तीहरु सुधार गरे मात्र त्यसको बारेमा छलफल गर्न सकिने धारणा राख्दै मधेशमा एउटै छुट्टै मोर्चा बनाएर त्यसमा सबै दलहरु सहभागि हुनुपर्ने कुरामा जोड दिनुभयो । मधेशवादी दलहरुको बीचमा जुन प्रकारको समिकरण देखिएको छ त्यसले तीनवटा मोर्चासम्म हुने सक्ने आँक्लन गर्दै उहाँले आफ्नो पार्टी र जयप्रकाश गुप्ताको तराई मधेश अभियानबीच एकीकरण हुन लागेको खुलासा गर्नुभयो ।
    पार्टीबीच सैद्धान्तिक सहमति भइसकेको र केहीदिनमै पार्टी एकीकरणको घोषणा गर्ने अध्यक्ष भण्डारीले जानकारी गराउनुभयो । उहाँले गुप्ताको अभियान र आफ्नो पार्टीबीच एकीकरण हुने र अन्य मधेशवादी दलसँग मोर्चाबन्दी हुने समेत बताउँदै तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग पार्टी एकीकरण नभएर मोर्चाबन्दी मात्र हुने स्पष्ट पार्नुभयो । जबकी तमलोपा, अनिल झाको संघीय सद्भावना पार्टी, भण्डारीको समाजवादी पार्टी र गुप्ताको अभियानबीच एकीकरण हुने चर्चा रहेको छ । अध्यक्ष ठाकुरले पनि एउटै झण्डा र एउटै चुनाव चिन्ह हुने गरी मधेशमा एकता हुने बताउँदै आउनु भएको छ ।
    अध्यक्ष भण्डारीले अध्यक्ष ठाकुरको नेतृत्व स्विकार गर्नुपर्नु कुनै बाध्यता नरहेको बताउँदे अन्य दलका नेताहरुका पक्षमा पनि नेतृत्वका लागि सहमति बन्न सक्ने धारणा राख्नुभयो । अध्यक्ष ठाकुरले बोलाएको छलफलमा पहिलो गाँसमै ढुंगा जस्तो भएको प्रतिकृया दिनुभयो । उहाँले भन्नुभयो–‘अध्यक्ष ठाकुरले बोलाउनु भएको छलफलमा मधेशका जिम्मेवार दलहरु अनुपस्थित भएपछि त्यहाँ शंका उब्जिएको छ । जबसम्म सबैलाई समेटेर मोर्चाको कुरा अगाडि बढाउँदैन तबसम्म ठाकुरको अभियान सफल हुने छैन ।’ 
    यता, तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका अध्यक्ष महेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा क्रियाशिल हुँदा हुँदै अर्को नयाँ मोर्चा बनाउनुको कुनै औचित्य नरहेको बताउनुभयो । हाल क्रियाशिल रहेका मधेशी मोर्चामा नै सबै दललाई समावेश गर्नुपर्ने धारणा राख्दै अर्को नयाँ मोर्चाको कुरा गर्नु पराजित मानसिकताको उपज भएको प्रतिकृया दिनुभयो ।
    उहाँले मधेशी समाजमाथि हुने गरेको विभेदको प्रभाव सञ्चारमाध्यममा पनि परेको बताउँदै खासगरी मधेशी पत्रकार र पत्रकारीताको क्षेत्रमा संघर्षको आवश्यकता रहेको बताउनुभयो ।
    सोही दिन संघको ध्यानकर्षणपत्र बुझ्दै अध्यक्ष यादवले तमलोपाका अध्यक्ष ठाकुर मधेशी मोर्चाको तर्फबाट उच्च स्तरीय राजनीति संयन्त्रमा सहभागि पनि हुनुभएको छ र अर्को नयाँ मोर्चाको पनि तयारी गर्नु भएको छ यो दोधारे प्रवृति भएको कारणले मधेशमा एउटै मोर्चाको संभावना कम रहेको बताउनुभयो । उहाँले मधेशमा पार्टी एकीकरणभन्दा मोर्चाको सम्भावना बढी रहेको बताउँदै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई नै क्रियाशिल गराउनमा आफ्नो पहल रहने बताउनुभयो ।
    अर्को मोर्चा बनाउन पनि मधेशी मोर्चाभित्र छलफल गरेर गरेको भए तमलोपाको ‘टी पाटी’ फेल हुने थिएन, उहाँले भन्नुभयो–‘ठिक छ, नयाँ मोर्चा बनाउने आवश्यकता नै यहाँ देखेएको छ भने मधेशी मोर्चाभित्र छलफल हुनुपर्छ र त्यो छलफलले मात्र निष्कर्ष निकालेर अगाडि बढ्नुपर्छ तर यहाँ त्यस्तो भएको छैन । यत्रो मेहनतबाट बनाइएको मधेशी मोर्चालाई त्यतिकै लवारीस छाडेर अर्को मोर्चा बनाउनु हुँदैन ।’
    सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेशी मोर्चा जिवित छ कि छैन, आफू त्यसमा छु कि छैन त्यो पनि थाह नभएको प्रतिकृया दिनुहुन्छ । मधेशमा मोर्चा बनाउनेमाथि नै प्रहार गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका अध्यक्ष महतोले टुटफुट भएर अलग अलग बसेका सद्भावना पार्टीका नेताहरुलाई एकै ठाउँमा आउन औपचारिक रुपमा आग्रह गर्नुभएको छ । अध्यक्ष ठाकुर र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई सार्वजनिक रुपमै मधेशको गद्दार भन्दै आउनु भएका अध्यक्ष महतो तमलोपाले नयाँ मोर्चाका लागि बैशाख ११ गते बोलाएको छलफलमा पनि अनुपस्थित हुनुहुन्थ्यो । उहाँले मधेशमा मोर्चाबन्दी होइन एक्लै एक्लै चुनाव लडे मधेशवादी दलले बढी सीट ल्याउने तर्क दिँदै आउनु भएको छ ।
सुरेशकुमार यादव

No comments:

Post a Comment