Labels

Thursday, June 20, 2013

मधेशमा पत्रकार र पत्रिकाको अवस्था

सुरेशकुमार यादव

एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ ले क्रान्तकारी पत्रकार संघको एक कार्यक्रममा भन्नुभएको थियो–‘आजको युग सूचना सञ्चारको युगमा परिवर्तन भएको छ । खासगरी सूचना प्रविधिमा भएको क्रान्तिले संसारको परिस्थितिमा ठुलो हेरफेर ल्याइदिइएको छ । यथार्थमा अहिले विश्वमा साम्राज्यवादी सुचना भूमण्डलीकरण देखिएको छ । र, यो भूमण्डलीकरण आफ्नो सारतत्वमा सूचनाको एकाधिकार हुन गएको छ ।’
 वास्तवमा युग परिवर्तनसँगै सञ्चार क्षेत्रमा जुन किसिमले विकास भयो ती विकास समग्रमा परिवर्तनकारी समाजसँग मेल नखाएको जस्तो देखिएका छन् । अहिलेको सुचना प्रविधिको युगमा हिमाल, पहाडको दुर्गम तथा पिछडिएको क्षेत्र लगायत कार्णाली, हुम्ला, जुम्ला र दक्षिण तराईको विकट ग्रामिण क्षेत्रहरुसम्म पनि सञ्चारको पहुँच भएका छन् र पछिल्ला दिनहरुमा तराई क्षेत्रमा सुचना तथा सञ्चारको माध्यम ह्वातै बढेर आएका छन् । छापादेखि विद्युतीय माध्यमका सञ्चार दिन दुगुना रात चौगुनाको रुपमा विकसित भइरहेका छन् तर सँख्यात्मक रुपमा जति अगाडि बढेपनि गुणात्मक हुन सकेका छैन अर्थात त्यो जनसञ्चार हुन सकेको छैन, जनताको आवाज अर्थात आवाज विहिनको आवाज हुन सकेको छैन । ती सबै कुनै व्यक्तिको बोली वा पार्टीको बोली, संस्थाको बोली वा कुनै विशेष समुदायको बोली बोलिरहेका छन् अध्यक्ष प्रचण्डकै भाषामा भन्ने हो भने सारतत्वमा सूचनाको एकाधिकार हुन गएको छ ।
  मधेसको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको लगभग २१–२२ वटा जिल्लाहरुमा पाँच दर्जनभन्दाबढी एफएम रेडियो तथा हजारभन्दा बढी पत्रपत्रिकाहरु छन् र त्यही अनुपातमा पत्रकारहरु पनि छन् । गोरखापत्र दैनिकको मैथिली भाषा पृष्ठमा ‘पत्रकारिता क्षेत्रमें मधेशी समुदायके सहभागीता आ मैथिली पत्रकारीता’ शिर्षकमा छापिएको एक लेखमा उल्लेख गरिए अनुसार मौफसलमा पत्रकारीता गर्ने पत्रकारहरुको सहभागिता राष्ट्रिय दैनिक पत्रिकाहरु गोरखापत्र, कान्तिपुर, नागरिक दैनिक, राजधानी, नयाँ पत्रिका, नेपाल समाचारपत्र, कारोबार दैनिक लगायतमा बढेको देखिन्छ र मौफसलमै अर्थात स्थानीय रुपमा पनि दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिकाहरु प्रकाशन हुन थालेका छन् । सुचना विभाग सञ्चारग्रामले २०६४ सालमा प्रकाशन गरेको मिडिया डायरेक्टरी अनुसार मधेसमा लगभग ५० वटा दैनिक पत्रिका प्रकाशन भइरहेका छन् र त्यसपछिको दिनमा दोब्बरको सँख्यामा दैनिक पत्रिकाको बृद्धि भएको अनुमान गर्न सकिन्छ । त्यस्तै साप्ताहिक पत्रिका लगभग डेढसय जति रहेका छन् भने यो तीन चार वर्षको अवधिमा त्यसको सँख्या तीन गुणाले बृद्धि भएको अनुमान गर्न सकिन्छ । सयभन्दा बढीको हाराहारीमा पाक्षिक मासिक र अर्धवार्षिक पत्रिकाहरु पनि प्रकाशन भइरहेका छन् ।
 मधेसबाट प्रकाशन हुने ती दैनिक, साप्ताहिक, पाक्षिक तथा अर्धवार्षिक पत्रिकाहरु मध्ये आधाले पनि मधेसको अधिकार र पहिचानको बारेमा कलम चलाएको पाइदैन । मधेसको जिल्लाहरुमा सबभन्दा बढी क्रमशः राजविराज, मोरङ्ग र नेपालगंजबाट पत्रपत्रिकाहरु प्रकाशन भइरहेका छन् तर ती सबै पत्रिकाहरुमा पहाडि समुदायको हालीमुहाली रहेको तथ्याङ्कबाट थाह पाउन सकिन्छ । सुचना विभागबाट प्राप्त तथ्याङ्क अनुसार नेपालगञ्जबाट प्रकाशन हुने दैनिकहरुमा एकजना पनि मधेसी सम्पादक छैन भने पर्सामा एकजना मधेसी समुदायका सम्पादक रहेका छन् तर राजविराजमा मधेसी सम्पादकको नै बाहुल्यता रहेपनि पहाडि समुदायको पनि बर्चस्व कम छैन ।
  जनआन्दोलन दुई र मधेस विद्रोहपछि राष्ट्रिय मेडियामा पनि मधेसका लागि छुट्टै बीट पनि छुट्याएका छन् । तर एकदुई मेडिया बाहेक त्यसमा पनि पहाडि समुदायको हातमा त्यो बीट परेको छ । गोरखापत्रमा सुरेशकुमार यादवलाई मधेसको जिम्मा दिइएको छ भने कान्तिपुरमा अतुल मिश्रलाई जिम्मा दिइएको छ भने बाँकी दैनिक पत्रिकामा पहाडि समुदाय नै मधेसी बीटमा काम गरिहेका छन् अर्थात त्यस मेडिया हाउसमा मधेसी पत्रकारको सहभागिता नै छैन भनेपनि हुन्छ । नयाँ पत्रिकामा भूवन शर्मा, राजधानी दैनिकमा रामहरी पाण्डे, नागरिक दैनिकमा माधव ढुगेल, नेपाल समाचारपत्रमा इश्वर ढकाल, कारोबारमा मातृका तिमल्सिनालाई मधेसको जिम्मा दिइएका छन् भने एमाओवादीको मुखपत्र रहेको जनदिशा दैनिकमा यो पंक्तिकारले काम गर्न छाडेपछि हालसम्म कसैलाई मधेसको जिम्मा दिइएको छैन । ती सबै दैनिक पत्रिकाहरुमा छापिएका समाचारहरुमा मधेस सम्बन्धि समाचारको अध्ययन गर्दा दुई प्रतिशतमात्र मधेशको अधिकार र पहिचानको बारेमा कुरा उठाइएको पाइयो तर अरु सबै विवादीत समाचारहरु जस्तै परमानन्द झाको सपथ प्रकरणले सबभन्दा बढी मधेसी समाचारको रुपमा ठाउँ पाएका छन् भने मधेसी जनअधिकार फोरमको पार्टी विवाद, मधेसी मोर्चाको विवाद, प्रधानमन्त्रीको चुनावमा मधेसी दलको भूमिकाहरुलाई स्थान दिइएका छन् तर मधेसको संघीयता, समावेशी समानुपातिक नागरिकताको समस्या, शिक्षा स्वास्थ्य तथा त्यहाँको समस्याहरुको बारेमा कही कतै उठाइएको पाइएको छैन । मधेसका नेताहरु राजधानीबाट प्रकाशन हुने पत्रिकाहरुमा पाएको स्थानको तथ्याङ्क हेर्ने हो भने साउन र भदौमा मात्र सबभन्दा बढी फोरमका अध्यक्ष उपेन्द्र यादवले ठाउँमा पाउनु भएको छ भने दोस्रो स्थानमा विजयकुमार गच्छदार रहेका छन् ।

  राजधानीबाट पनि मधेस कन्द्रीत सप्ताहिक, पाक्षिक तथा मासिक पत्रिकाहरु पनि च्याँउ झै उम्रिएका छन् । साप्ताहिकमा राजेश अहिराजको मधेशवाणी, सुकेश्वर पाठकको विश्लेषण, कौशलकुमार सिहको जनभावना, मनोजकुमार यादवको ई–मधेस, राजेश मिश्रको विश्वदीप, बिरेन्द्र के.एम. को न्यूज अप्रेशन, चन्दन कोशिकको समय चक्र, पाक्षिकमा उर्मिलाकुमारी यादव प्रकाशक र चन्द्रीका यादव सम्पादक रहेको सहारा टाइम्स, मासिकहरुमा ह्रदयकान्त मधुकरको पोल्टीक्स (हिन्दी भाषामा) रमेश झाको हिमालिनी (हिन्द भाषामा) रहेका छन् । तर माथि उल्लेख भएका जतिपनि पत्रिकाहरु छन् ती सबैका आ–आफ्नै उद्देश्य रहेको पाइन्छ । यो लेख तयार पार्नका लागि माथि उल्लेख भएका सबै पत्रिकाको चार चार अंक अध्ययन गर्दा कसैको उद्देश्य स्पष्ट भएको पाइएन । मधेसवाणीले मधेसवादमा आधारीत भएर पनि अधिकांश समय मधेसी दल र त्यसका नेताहरुलाई दोषरोपण गर्नमै ठाउँ खर्चेका छन् र तराईका सशस्त्र समुहहरुको समाचार र भारतको गुणगानमा सकारात्मक देखिएको छ, पछिल्लो पटक सशस्त्र समुहको सैन्य भर्ना सम्बन्धि विज्ञापन छापेका कारण राजेश अहिराजलाई राजद्रोहको मुद्दा लगाइएको थियो । विश्लेषण साप्ताहिकले सद्भावना पार्टी र फोरवार्डलाई बढी ठाउँ दिइनुको साथै भारतको पनि त्यतिकै गुणगान गरेको छ । विश्वदीप साप्ताहिकले मधेसभन्दा बढी गरै मधेसी समाचारलाई बढी स्थान दिइएको छ भने काँग्रेस र भारतको समर्थन पनि त्यतिकै गरेको अध्ययनले देखाएको छ । भर्खरै जन्म लिएको न्यूज अपे्रशन साप्ताहिकले दिशा स्पष्ट पार्न नसकेपनि गैर मधेसी तथा गैर प्रजातान्त्रिकलाई बढी स्थान दिइएका छन् । जनभावना साप्ताहिक पछिल्लो समयमा बन्द हुने अवस्थामा पुगेको छ भने पुरानो अंकहरु हेर्दा मधेसको समाचारभन्दा मन्त्री सचिव अर्थात ब्यूरो क्राइट्सलाई बढी स्थान दिइएको छ । ई मधेस भर्खर प्रकाशन भएको कारण दिशा समात्न सकेको छैन तर जेजति अंक निस्केको छ त्यसलाई अध्ययन गर्दा दुईटै फोरमको वरिपरी घुमेको स्पष्ट देख्न सकिन्छ । सहारा टाइम्स पाक्षिकले मधेसको विषयवस्तुलाई खोजीको विषय बनाइए पनि यादव समुदायलाई बढी स्थान दिइएको पाइन्छ । समयचक्र दुई अंक प्रकाशित भएको छ । काँग्रेसतिर बढी झुकाव रहेको पाइयो । पोल्टीक्स हिन्दी मासिक तराई मधेस लोकतान्त्रिक पार्टीका नजिक रहेर भारतलाई बढी समर्थन गरेको पाइन्छ भने हिमालीनी हिन्दी मासिक मधेसी जनअधिकार फोरकको थोर बहुत नजिक रहेर भारतको गुणगान बढी गरेको अध्ययनले देखाएको छ । विजय दास सम्पादक रहेको नेपाली हिन्दी दैनिक पत्रिका पनि प्रकाशन भइरहेको तर फेला पार्न सकिएन ।
   त्यस्तै मधेसलाई बढी ग्रहता दिने एफ.एम.मा हेडलाइन्स एण्ड म्यूजिक एफएम तथा टेलिभिजनमा नेपाल वन र तराई टेलीभिजन हुन् । नेपाल वन भारतबाट प्रसारण भएका कारण मधेसलाई स्थान दिइएको हुनुपर्छ भने तराई टेलीभिजन वीरगंजबाट र हेडलाइन्स एण्ड म्युजिक एफएम. जनकपुरको व्यपारीले चलाएको कारण मधेसलाई बढी स्थान दिइएको हुनुपर्छ । भदौ महिनाको राष्ट्रिय दैनिक पत्रिकाहरुको मधेसको समाचारको बारेमा अध्ययन गर्दा कान्तिपुरले छोटोछोटो समाचारको रुपमा सबभन्दा बढी स्थान दिइएको छ भने कान्तिपुरको पूर्वाञ्चल पृष्ठ पनि कान्तिपुरसँगै प्रकाशन भइरहेको छ । त्यसपछि मधेसको समाचारको स्थान दिनेमा दोस्रो स्थानमा अन्नपूर्णपोष्ट रहेको भने तेस्रो स्थानमा राजधानी चौथोमा नागरिक दैनिक रहेको छ भने सबभन्दा कम मधेसको समाचार समेटिने दैनिकमा जनदिशा दैनिक रहेको छ । मधेसको बजार र पाठकलाई ध्यानमा राखेर कान्तिपुर, अन्नपूर्णपोष्ट, नागरिक र नेपाल समाचारपत्र मधेसका जिल्लाहरुबाट पनि प्रकाशन भइरहेका छन् ।
  टेलिभिजनहरुमा नेपाल वनमा मधेसको समाचार दिनुको साथसाथै तराई स्पेशल कार्यक्रम नै सञ्चालन गर्दै आइरहेका छन् भने तराई टेलिभिजनमा मैथिली समाचार र भोजपुरी समाचारका साथसाथै मैथिली भाषामा गफसफ वीथ गामवाली कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन्, सगरमाथा टेभिभिजनमा मैथिली समाचार वाचन हुँदै आइरहेका छन्  भने नेपाल टेलिभिजनबाट पनि मैथिली, उर्दू, भोजपुरी लगायतका भाषामा कार्यक्रम प्रसारण हुँदै आइरहेका छन् । एफएमहरुमा हेडलाइन्स एण्ड म्यूजिक एफएममा मैथिली समाचार, मेट्रो एफएममा मैथिली समाचार वाचनका साथै मनोरञ्जनात्मक कार्यञmम, क्लासिकल एफएममा भोजपुरी, अवधि र मैथिलीको संयुक्त कार्यक्रम, नेपाल एफएममा भोजपुरी र मैथिली कार्यक्रम, यूथ एफएममा हिन्दी भाषामा समाचारका साथ साथै मनोरञ्जनात्मक कार्यक्रम, कान्तिपुर एफएममा मैथिली कार्यक्रम, स्टार एफएममा मैथिली र भोजपुरी कार्यक्रम र अध्यात्मिक ज्योतिक एफएममा भोजपुरी गीत संगितका कार्यक्रम प्रसारण भइरहेका छन् ।
 राजधानीमा दैनिक पत्रिका टीभी र एफएम तथा अनलाइनहरुमा समाचार संकलन तथा सम्पादनमा काम गर्ने पत्रकारहरुमा गोरखापत्रमा सीताराम अग्रहरी, कुमार विवेकानन्द मिश्र र सुरेशकुमार यादव, कान्तिपुर दैनिकमा अतुल मिश्र, दिनेश यादव, जितेन्द्र साह, अब्दुल मियाँ, हिमाल खबर पत्रिका पाक्षिकमा नवीन झा, अन्नपूर्णपोष्टमा धर्मेन्द्र झा, राजेश वर्मा, तराई टेलिभिजनमा अमरेन्द्र यादव, स    ञ्जिवकुमा साह, ममता पण्डित, प्रियकां पाण्डे, सगरमाथा टेलिभिजनमा अजय दास, प्रियंका झा, विमल ठाकुर, नेपाल वनमा अनिल कर्ण, अनन्त अनुराग, सलमा खातुन, लक्ष्मी चौधरी, अभास लाभ, धर्मेन्द्र कर्ण, हिमालयन टेलिभिजनमा महेश चौरशिया, द्दद्ध टेलिभिजनमा उमेश यादव, हेड लाइन्स एण्ड म्युजिक एफएममा प्रविण चौधरी, लक्ष्मी सिह, कान्तिपुर एफएममा धिरेन्द्र प्रेमर्षी, रुपा झा, यूथ एफ एममा आर सी यादव लगायतका रहेका छन् । र अन्य मधेसीहरु पत्रकारकै रुपमा राजधानीमा संघर्ष गरिरहेका छन् ।
 मोफसलका विभिन्न जिल्लाहरुमा सक्रिय मधेसी पत्रकारहरु श्यामसुन्दर शशी, सन्तोष चौधरी, परमेश्वर कापडि, रमेश रन्जन झा, पशुपती झा, अशोक दत्त, जीवननाथ धोरी महेश दास, रोशन जनकपुरी, जितेन्द्र झा, शीतल साह, राकेश प्रसाद चौधरी, नागेन्द्रकुमार कर्ण, शैलेन्द्र झा, प्रवीण साह, राजेश कुमार कर्ण, वृजकुमार यादव, नवल किशोर, सुरेशकुमार यादव, सन्तोष सिह, सरस्वती चौधरी, विजय चौधरी, रामभरत साह, उपेन्द्र भगत राजवंशी, महेन्द्र मलगीया, शीतल झा, दिनेश्वर गुप्ता, रामबाबु यादव, देवकुमार यादव, सन्तोष यादव, चन्देश्वर कामत, देवनारायण साह, बद्री यादव, मिथलेश यादव, गणेश साह, जीतेन्द्र जितु, राना सुधारकर, ब्रहमदेव यादव, रामरिझन यादव, अनिता चौधरी, रामानन्द गुप्ता राजेश विद्रोही, जिवछ उदास, मन्दाकणी कर्ण, जयकृष्ण यादव, मोनिका झा, भैयालाल साह, हरिप्रसाद मण्डल, चन्द्रकिशोर झा, पन्नालाल गुप्ता, बैद्यनाथ यादव, श्यामसुन्दर यादव, श्रवण देव, विष्णु कुमार मण्डल, विवेकानन्द झा, देवेन्द्र झा, शम्भु झा, देवराम यादव, धिरेन्द्रप्रसाद साह, हेमशंकर, मुरलीप्रसाद यादव, जितेन्द्र खड्का, राजेश झा, अवधेश कुमार झा, शिवनारायण साह, रामनारायण विश्वास, जितेन्द्र झा जितु, सतिश कुमार दत्त, ओमप्रकाश साह, महेन्द्र मण्डल, मनोज माझी, शुभचन्द्र झा, सुधा देव लगायतका पत्रकारहरु रहेका छन् र यसमा दिनदिनै वृद्धि समेत भइरहेका छन् ।
 मोफसलबाट नियमित प्रकाशन हुने पत्रिकाहरु न्यूज टुडे, वातावरण, कृष्णा, सत्यपान, सुचना, सगरमाथा अवाज, मधेस क्रान्ति, श्रीसत्यापन, रिर्पोटर्स अवाज, मिथिला साप्ताहिक, लोकमत जनकपुर टुडे, गामघर, जनकपुर एक्सप्रेस, मिथिलाञ्चल, मिथिला टाइम्स, मिथिलाञ्चल, पूर्व साप्ताहिक, नव विचार, जनप्रिय, ज्वाराभाट, नव जागृति, ब्लाष्ट टाइम्स, मर्निगं पोष्ट, पूर्व टाइम्स, दर्शन दैनिक, विवेचना, जनज्योति, नयाँ कामना, सपुर्व मालिका, औजार, उद्घोष, जन विद्रोह, दर्शन, सन्देश, इनर्वा टाइम्स, जनआवाज, जनतापथ, शान्ति नेपाल, राजविराज टुडे, गोरेटो, अंकुश, प्रतिक, सहारा दैनिक, वाइपास, क्राइम एक्सप्रेस, जनप्रतिबिम्ब, नरायणी टुडे, दर्पण, देश दर्शन, बारा सन्देश लगायतका पत्रपत्रिका रहेका छन् ।
 एमाओवादीका वरिष्ठ उपाध्यक्ष बाबुराम भट्टराईले भन्नु भएको छ–‘सूचना भनेको वर्गसंघर्ष र प्रकृतिसँगका संघर्षका घटना र प्रक्रियाका जानकारी हुन् ।’ तर राजधानीबाट प्रकाशित हुने राष्ट्रिय पत्रिकाको त कुरै बेग्लै तर जुन मधेसको माटोबाट प्रकाशन भइरहेका छन् त्यसमा त्यसको गन्ध कही पाइदैन । त्यसमध्येका पत्रिकाहरु कतिपय पार्टीका मुखपत्र छन् भने कतिपय व्यक्तिको मुखपत्र छन् भने कुनै संस्थाको मुखपत्र भएर नै प्रकाशन भइरहेका छन् । कुनैपनि पत्रिकामा वर्ग संघर्षको अभाष पाउन सकिदैन । मोफसलबाट प्रकाशन भएका पत्रिकाहरु तथा एफएफ रेडियोहरुमा एकाधिकार र व्यक्तिवादी चरित्र बढी पाइन्छ भने राजधानीबाट प्रकाशन हुने दैनिक पत्रिका तथा विद्युतीय सञ्चार माध्यमहरुमा अपहरण, लुटपाट, डकैती, हत्या, मृत्यूका समाचारले बढी ठाउँ ओग्टेका हुन्छन् । राजधानीबाट मोफसलमा गएका मन्त्री तथा ठुला नेताहरुको भाषण पनि त्यसमा हुन्छन् । तर वरिष्ठ पत्रकार कमल कोइरालाको भनाईले यस कुरासँग सहमत राख्दैन, उहाँले भन्नुभएको छ –‘२०४६ सालमा तीस वर्षपछि फेरि जनताले प्रजातन्त्र फर्काएपछि राजधानी र जिल्लाहरुका चार पाँचसय पत्रपत्रिकाहरु निर्भयतापूर्वक र स्वतन्त्रतापूर्वक गरेको भ्रष्टाचारको व्यापक विरोध र भण्डाफोरले नै भ्रष्टचार विरोधी ठुलो महोल खडा गर्यो र संसारले भ्रष्टाचारविरोधि कानुनलाई केही शक्ति प्रदान गर्यो ।’ नेपाल पत्रकार महासंघले प्रकाशन गरेको पत्रकारीता पत्रिकाको २०६२ सालको महाधिवेशन अंकमा अर्का वरिष्ठ पत्रकार किशोर नेपालले लेख्नु भएको छ–‘२०४६ सालको राष्ट्रिय जनआन्दोलनमा नेपाली प्रेसले प्रजातन्त्रको पक्षमा आफूलाई उभ्याएर निर्भीकताका साथ, आफूलाई आन्दोलनकारीकै रुपमा प्रस्तुत गर्यो । नेपाली प्रेसले संस्थागतरुपमा आफूलाई प्रजातान्त्रिक परिवर्तनका पक्षमा उभ्याएको यो पहिलो घटना थियो । यहीबाट नेपाली पत्रकारिताले स्वतन्त्र पत्रकारिताको निर्णायक प्रारम्भ गर्यो ।’
 २०४६ सालको जनआन्दोलन पछि समग्रमा मेडिया क्षेत्रले स्वतन्त्रता पाएपनि मधेसको पत्रकारीतामा खासै असर नपारेको देखिन्छ । युवा पत्रकार अमरेन्द्र यादवले नयाँ पत्रिका दैनिकमा मधेसको पत्रकारीतलाई विषयवस्तु बनाएर लेखेको लेखमा उहाँले उल्लेख गर्नुभएको छ –‘तराईमा दुई किसिमका पत्रकारिताको विकास भएको छ । एक, पत्रकारिता धर्म निर्वाह गरेर समाज र जनताप्रति इमान्दार भएर काम गर्ने । अर्को, स्थानीय व्यपारी, भ्रष्ट कर्मचारी र आपराधिक समुहसँग साँठगाँठ गरेर सञ्चारगृह चलाउने । भनिन्छ, तराई मधेसका केही सहरमा लेख्ने पत्रकारभन्दा नलेख्ने पत्रकारले बढी कमाउँछन् । यस्तो पत्रकारिता अस्तित्व एवं परम्पराका लागि संघर्षरत पत्रकार एवं सञ्चारमाध्यमका लागि फाइदाजनक हुने कुरै भएन । राजधानीमा रहेका मधेसवादी सञ्चारमाध्यम एवं पत्रकारमा पनि दुई किसिमका प्रवृति देखिन्छ । एक, देश, जनता र मधेसी समुदायका लागि काम गर्ने प्रवृति । दोस्रो, पैसा, पद र अप्रत्यासित पहुँचका निमित दूतावास, व्यापारीक घराना वा कुनै समुहको हितमा काम गर्ने प्रवृति ।’
 भनिन्छ २००७ सालको परिवर्तनपछि नेपालको पत्रकारिताका मधेसी नै मूलधारमा रहेको र पहिलो पत्रकारको रघुनाथप्रसाद गुप्तालाई नै मानिन्छ । तर हालसम्म पनि मधेसी पत्रकारितामा व्यवसायीकता तथा पेशागत इमान्दारीताको पत्रकारीता शुरु भएको छैन । मधेसमा पत्रकारिताको इतिहास बारे कोट्याउँदै जनकपुरका पुराना पत्रकार राजेश्वर नेपालीले मिथिला टाइम्सको २०५६ को वार्षिक अंकमा लेख्नु भएको छ कि २०१३ सालमा महोत्तरीमा गठन भएको पुस्तकालय संघद्वारा संघकै अध्यक्ष मेघप्रसाद उपाध्याय सम्पादन तथा सह सम्पादक नवोनाथक झाको प्रयासमा नवजागरण त्रिभाषिक मासिक पत्रिका २०१४ सालमा प्रकाशन भयो तर संघले प्रेसको छापाई खर्च नतिरेको कारण दुईवर्षपछि अर्थात २०१६ सालमा चैत्रमा सूर्यकान्त झा, लोकराम पाण्डेय र रामभद्र लाभको संयुक्त प्रयासमा त्यो पुनः प्रकाशन भयो । त्यसलाई मधेसको पहिलो पत्रिका मानिन्छ तर पुराना पत्रकार रामभरोस कापडि भन्नुहुन्छ –‘त्यसलाई नै पहिलो पत्रिका मान्नमा विवाद देखिएको छ ।’ राजधानीमा अखिल नेपाल मैथिली साहित्य परिषद् स्थापनापछि मुखपत्रको रुपमा २०२५ साल जेष्ठ ३० गते सुन्दर झा शास्त्रीको सम्पादनमा फूलपात त्रैमासिक पत्रिका प्रकाशित भएको थियो । त्यसपछिको क्रममा मधेसका विभिन्न ठाउँबाट पत्रिका प्रकाशन हुन थालेको थियो । त्यसबेला सरकारले नेपाली भाषा बाहेक अन्य भाषामा पत्रपत्रिका प्रकाशन गर्न नपाइने अघोषित रुपमा रोक लगाइएको थियो । त्यसको विरोधमा तत्कालिन राष्ट्रिय पंचायतका सदस्य देवनारायण यादवको नेतृ्त्वमा पत्रकार राजेश्वर नेपाली समेत तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापालाई ज्ञापनपत्र बुझाए । त्यसको एकवर्षपछि अर्थात २०३९ सालमा छापाखाना तथा प्रकाशन ऐनमा संशोधन गरेपछिको लगतै रामभरोस कापडीले मैथिलीभाषामा गामघर पत्रिकार प्रकाशन गर्नुभयो र त्यो मधेसको पहिलो मैथिली भाषाको पत्रिकार हो ।
  मधेसमा पत्रकारीताको लामो इतिहास छैन । छोटो समयमा जुन फड्को मारेका छन् त्यो नै उपलब्धि मान्न सकिन्छ । देशमा २०४६ पछि देशमा विभिन्न रुपमा शुरु भएको द्वन्दले देशभरिका पत्रकारहरु जसरी पिडित भए त्यसबाट अछुतो मधेसी पत्रकार पनि रहन सकेन । माओवादीको दशवर्षे जनयुद्ध र मधेसको सशस्त्र आन्दोलनबाट थुपै पत्रकारहरु विस्थापित पनि भए र ज्यानपनि गुमाए । मधेसमा काम गर्ने पत्रकारहरु अहिलेपनि डर त्रास धम्की ब्यहोरीदै पत्रकारीता गर्न बाध्य भएका छन् भने कतिपय पत्रकारहरुले यसै सक्रमणकालिन अवस्थाको फाइदा उठाउँदै धनसम्पत्ति जोडी सकेका छन् । र यो धन्दा राजधानीभन्दा मधेसका पत्रकारहरु बढी सक्रिय देखिएको विभिन्न समाचार तथा प्रहरी अनुसन्धानले देखाएको छ । राजधानीमा काम गर्ने पत्रकारहरु पनि सेनादेखि प्रहरी तथा नेताहरुबाट ब्लाकमेलिगं गरेर पैसा नउठाएको होइन तर तराई तथा मधेसमा काम गर्ने पत्रकारहरु त्यहाँका अपराधि समुह तथा तस्करहरुसँग महिनाबारी नै उठाएर भ्रष्टाचार गरेको समाचारहरु आइरहन्छ । फिलिपिन्स सेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिज्मले मिडिया र भ्रष्टाचार विषयमा सन् १९९८ सालमा गरेको एउटा अध्ययनमा एकसय जना पत्रकारमध्ये ७१ जना पत्रकारले समाचार खोज्ने क्रममा आफूहरुलाई सुचना स्रोतले पैसा दिन खोजेको बताएका थिए त्यसमध्ये एकतिहाईले रकम लिएर समाचार लेखेका थिए । र नेपालमा यस्तो अध्ययनको आवश्यकता रहेको देखिन्छ ।

सन्दर्भ सामग्री
-मिथिला टाइम्स(२०५६)
-मिथिलाञ्जली(२०६२)
-सुचना विभाग, मिडिया डायरी (२०६४)
-नयाँ पत्रिका दैनिक
-कान्तिपुर दैनिक
-अन्नपूर्ण पोष्ट
-नागरिक दैनिक
-गोरखापत्र दैनिक
-नेपाल समाचारपत्र दैनिक
-राजधानी दैनिक
-कारोबार दैनिक
-जनदिशा दैनिक
-मधेसवाणी साप्ताहीक
-विश्लेषण साप्ताहिक
-सहारा टाइम्स पाक्षिक
-विश्वदीप साप्ताहिक
-इ मधेस सप्ताहिक
-न्यूज अप्रेशन साप्ताहिक
-समय चक्र साप्ताहिक
-जनभावना साप्ताहिक
-पोल्टीक्स मासिक
-हिमालीनी मासिक
-नेपाल पत्रकार महासंघद्वारा प्रकाशित, पत्रकारिता (२०६२)
-बलराम बानियाँको सम्पादन र शिव गाउँलेको संयोयनमा प्रकाशित पुस्तक प्रेस स्वतन्त्रता लोकतन्त्रको एक वर्ष (२०६४)
-क्रान्तकारी पत्रकार संघको मुखपत्र जनपत्रकारीता (२०६३)
-संजय घिमिरे र रामजी दहालको सम्पादनमा प्रकाशित पुस्तक बन्दुकको मारमा कलम (२०६४)
-प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन, संहिता (२०६४)

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete