Labels

Sunday, June 16, 2013

आफ्नै महासचिवले खोले राजकिशोरको यस्तो पोल


मधेशवादी दलमा ‘सेकेण्ड जेनरेशन’ का नेताहरु असन्तुष्ट रहेका छन् भने कुरा बेला बेलामा सुनिन्थ्यो, पत्रपत्रिकामा पनि पढ्न पाइन्थ्यो तर आज एक मधेशवादी दलका महासचिवले पत्रकारलाई बोलाएर नै त्यस्तो असन्तुष्टि पोखे । पूर्व सञ्चार मन्त्री राजकिशोर यादव अध्यक्ष रहेका मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) का महासचिव अकवाल अहमद शाहले शुक्रवार साँझ बागबजारको एक होटलमा केही पत्रकारलाई बोलाएर अध्यक्ष यादवमाथि अनेक आरोप लगाएर असन्तुष्टि पोख्नुभयो ।
    उहाँले हाँकाहाँकी भन्नुभयो–‘म आफ्नो अध्यक्षप्रति सन्तुष्ट छैन ।’ उहाँले अगाडि भन्नुभयो–‘अध्यक्षको व्यक्तिवादी सोच, जातिवाद, परिवारवाद, एकल निर्णय, अप्रजातान्त्रिक क्रियाकलापका कारण असन्तुष्ट छु ।’ सरकारमा गएर पनि मोर्चाको तर्फबाट कुनै काम गर्न हाम्रो अध्यक्षले सक्नु भएन, उहाँले भन्नुभयो–‘मन्त्रालयमा बाबुराम भट्टराईको हस्तक्षेपले सीमा नै नाघेको थियो । हाम्रै आँखाको अगाडि हिसिला यमी काम गराएर जान्थे हामी हर्या हेर्यै हुन्थ्यौ । राजकिशोरजी (मन्त्री भएकोबेला) विदेश गएको बेला बाबुराम भट्टराईले दुईजनालाई प्रेस काउन्सीलमा नियुक्त गर्दा पनि केही बोल्नु भएन, यसले के बुझिन्छ कि मोर्चाका नेताहरुले कति कमजोर रहेका थिए सरकारमा ।’
    उहाँले आफू मात्र होइन कि अरु पार्टीका ‘सेकेण्ड जेनरेशन’ का नेताहरु पनि आफ्ना अध्यक्षप्रति सन्तुष्ट नरहेको बताउनुभयो । मोर्चाकै आडमा एमाओवादीले सरकारमा लुट मचाए तर मोर्चाका अध्यक्षहरु केही बोल्न सकेन र अहिले आएर पुनः मोर्चाकै वकालत गरिरहेको प्रति आक्रोश पोख्तै नेता अकवालले आफू मोर्चाको पक्षमा नरहेको समेत स्पष्ट पार्नुभयो । विगतमा मोर्चाको नाममा मधेशी जनतालाई ठग्ने मधेशवादी दलहरुको भण्डाफोर गर्नुपर्ने कुरामा जोड दिँदै भन्नुभयो–भोली महन्थ ठाकुरको नेतृत्वमा बन्ने मोर्चाको बारेमा पनि विरोध गर्नेछु ।’ जयप्रकाश गुप्ता, शरतसिह भण्डारी र अनिल झालाई मधेशमा ठाउँ नमिलेको कारण महन्थ ठाकुरसँग पार्टी एकीकरण गरीरहेको बताउँदै उहाँले उहाँहरुको पार्टी एकीकरण भएपछि मात्र आफ्नो पार्टी मोर्चाको बारेमा सोच्न सकिने बताउनुभयो ।
    उहाँले एमाओवादी नेतृत्वमा रहेका लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनसँग पनि आफ्नो पार्टीको कुनै सम्बन्ध नरहेको बताउँदै पार्टीका अध्यक्ष गरेपनि आफूले नगर्ने र अध्यक्षले गरे भने त्यसको विरोध गर्ने चेतावनी दिनुभयो । मधेशी मोर्चाको नाममा एमाआवादीले जाति लुटे लुटे अब त्या दिन गए अब सतर्क भइसके भन्नुभयो ।
    संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको औचित्य समाप्त भइसकेको बताउँदै मोर्चाको औचित्य समाप्त गर्ने काम राजेन्द्र महतोको कारण भएको समेत दावी गर्नुभयो । शुरुमा खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाउनुमा सबभन्दा बढी हल्ला गर्नेमा राजेन्द्र महतो नै थिए तर आज किन अनसन बस्ने नौबत आयो, नेता अकवालले भन्नुभयो । यो वर्तमान सरकार गठनमा आफनो पार्टी र अध्यक्षको कुनै हात नरहेको समेत बताउँदै उहाँले विजयकुमार गच्छदार र महन्थ ठाकुरको व्यक्तिगत निर्णयबाट सरकार गठन भएको दावी गर्नुभयो । उहाँले गच्छदार र ठाकुरले मोर्चाको नामबाट गर्ने मनमौजीलाई पनि आफ्नो अध्यक्षले रोक्न नसकेको त्यसको विरोध गर्न नसक्नु ठुलो कमजोरी भएको समेत आरोप लगाउनुभयो ।

No comments:

Post a Comment