Labels

Tuesday, January 21, 2014

गच्छदार पनि मोर्चा खोल्दै, यता राजेन्द्र, उपेन्द्र र महन्थको एकीकरण नाममा अल्झिदै


सुरेशकुमार यादव
काठमाडौ माघ ७ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पार्टी एकीकरण गरी सविधानसभामा चौथो शक्तिको रुपमा आउन थालेपछि फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदारले पनि अर्को मोर्चा बनाउने तयारीमा जुट्नु भएको छ ।
फोरम नेपाल, तमलोपा र सद्भावना पार्टी एकीकरण प्रकृयामा रहेको बेला फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले सविधानसभा सदस्यको शपथ ग्रहण कार्यक्रम सकिने वित्तिकै अर्को मोर्चा बनाउन मंगलवार बैठक बोलाउनु भएको थियो । बानेश्वरस्थित एभरेष्ट होटलमा बसेको १२ साना दलको बैठकले मोर्चाबन्दी गर्ने सैद्धान्तिक सहमति पनि गरेको छ ।

बैठकमा सहभागि तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले पहिचान र संघीयता पक्षधरको बीचमा मोर्चाबन्दी हुनुपर्ने सैद्धान्तिक सहमति भएको बताउनुभयो । मोर्चालाई मूर्तरुप दिनका लागि माघ १३ गते अर्को बैठक बस्ने बताउँदै उहाँले अर्को बैठकबाट मोर्चाको घोषणा हुने जानकारी दिनुभयो ।
मधेशका तीन दलले एकीकरण गर्दा गच्छदारका पार्टीलगायत अरु कुनै दललाई नसोधेपछि यो अर्को मोर्चाको तयारी भएको बताइन्छ । तीन दलले एकीकरण गरेपछि त्यससँग २७ सभासद् हुनेछ भने अध्यक्ष गच्छदारले गठन गर्न लागेको मोर्चासँग ३५ सभासद् हुनेछ । राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरत्सिह भण्डारीले पहिचानसहितको संघीयताका लागि सविधानसभामा दवाव दिनका लागि मोर्चा बनाउन लागिएको बताउनुभयो ।
यो मोर्चामा मधेशका तीन दल जो एकीकरण प्रकृयामा छन् (फोरम नेपाल, तमलोपा र सद्भावना पार्टी) ती दललाई मोर्चामा ल्याइने कि नल्याइने जिज्ञासा राख्दा उहाँले उहाँहरु आफै एकीकरण गर्न लाग्नु भएको हो, हेरौ उहाँहरुको एकीकरण कस्तो हुन्छ, भएपछि मात्र त्यसबारे सोच्न सकिन्छ आफूहरुको १२ दलबीच मोर्चाबन्दी भएपछि मात्र अन्य दलसँग छलफल गर्ने बताउनुभयो । यस्तै धारणा एकीकरण प्रकृयामा रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको पनि रहेको छ । उहाँले पनि तीन दलबीच एकीकरण भएपछि मात्र अन्य दलसँग कुरा गर्ने बताउँदै आउनु भएको छ ।
गच्छदारले बनाउन लागेको मोर्चामा उहाँको पार्टी फोरम लोकतान्त्रिक, महेन्द्र यादव अध्यक्ष रहेका तराई मधेश सद्भावना पार्टी, शरत्सिह भण्डारी अध्यक्ष रहेका राष्ट्रिय मधेश समजवादी पार्टी, अनिल झा अध्यक्ष रहेका संघीय सद्भावना पार्टी, राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिक रहेका छन् । त्यस्तै नेपाः राष्ट्रिय पार्टी, खुम्बुवान राष्ट्रिय पार्टी, परिवार दल, थरुहट तराई पार्टी, थरुहट संघीय मञ्च र मधेश समता पार्टी पनि मोर्चामा रहने अध्यक्ष महेन्द्रराय यादवले जानकारी दिनुभयो ।
यसैबीच तीन दलबीच हुन लागेको एकीकरण प्रकृयाको बारेमा मंगलावार पनि छलफल भएको छ । तमलोपाको कार्यालयमा मंगलवार बसेको कार्यदलको बैठकमा पुनः पार्टीको नाम, चुनाव चिन्ह, र झण्डाको विषयमा छलफल भयो । छलफल भएपनि कुनै निष्कर्ष निकाल्न सकेन । स्रोतले भने, हात तीनटै पार्टीको नामसँग मिल्ने गरि एउटा नाम राख्नुपर्ने त्यसका लागि तराई मधेश सद्भावना फोरम हुनसक्छ वा सद्भावना तराई मधेश फोरम हुनसक्छ वा तराई मधेश फोरम सद्भावना पार्टी हुनसक्छ । यसअघिको बैठकमा समाजावदी पार्टी, युनाईटेड लोकतान्त्रिकलगायतका शब्दहरु जोडेर कुनै नयाँ नाम चयन गर्ने सहमति भएको थियो जसका लागि प्रत्येक दलले तीन तीनवटा नाम सिफारिश गरेको थियो ।
अब हाल तीनटै पार्टीको जुन नाम रहेको त्यसैलाई उल्टाई पुल्टाई राख्ने लगभग लगभग सहमति नै भएको छ । बैठकमा सहभागि एक नेताले भने, पार्टी एकीकरणको एउटा रोचक पक्ष के हो भने आआफ्नो पार्टीको पहिचान कसैले त्याग्न चाहेका छैन । फोरम नेपालले पार्टीको नामसँग कुनैपनि हालतमा फोरम आउनै पर्छ, झण्डामा एउटा तारा हुनै पर्छ, चुनाव चिन्ह मसालको पनि पहिचान कायम रहनै पर्छ भन्छन् भने सद्भावना पार्टीले गजेन्द्रनारायण सिंहको पहिचान कुनै पनि हालतमा मेटनु हुँदैन, सद्भावना पार्टीको नाम मेटनु हुँदैन र अर्को सबै चुनाव चिन्हभन्दा अलग पहिचान भएको तीर छाप पनि रहनै पर्छ भन्छन । त्यस्तै तमलोपाले पार्टीको नाममा तराई मधेश जोड्नै पर्छ किनभने यो सिगैं तराई मधेशको प्रतिनिधित्व गरेका छन् । चुनाव चिन्हमा त्यति बल नगरेपनि जोडा गोरु पनि खराब होइन भनि पनि भनेका छन् । यद्यपी चुनाव चिन्ह जोडा गोरु नभएपनि अर्को तेस्रो पनि राख्न सकिन्छ तर आफ्नो पार्टीको चुनाव चिन्ह नभए अरु कुनै पार्टीको पनि रहनु हुँदैन भनि पनि अडान तमलोपा रहेको स्रोतको दावी छ ।
मंगलबारको बैठकमा एउटा अर्को कुरा पनि तय भएको छ । अब कुनै पनि निर्णय पार्ट पार्टमा नगरीकन एकै चोटी टुगों लगाउने गरि छलफल गरौं भनि सहमति भएको छ ।

No comments:

Post a Comment