Labels

Thursday, January 16, 2014

एकीकरणलाई मूर्त रुप दिने जिम्मा १५ सदस्यीय कार्यदललाई

काठमाडौ माघ २ गते । मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको निवासमा आज बसेको मधेशका तीन दल फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीको बैठकले एकीकरणको विषयलाई टुग्यांउने जिम्मा १५ सदस्यीय कार्यदललाई दिएको छ ।

तीनै दलबाट निर्मित कार्यदलले एकीकरण प्रकृयाबारे छलफल गरी सात दिनभित्र अध्यक्ष मण्डललाई प्रतिवेदन बुझाउने निर्णय आजको बैठकले गरेको छ । कार्यदलले गर्ने छलफलमा मिल्न नसक्ने विषयमा तीन जना अध्यक्षले बसेर मिलाउने म्याण्डेट समेत कार्यदललाई दिएको बैठकमा सहभागि सद्भावना पार्टीका महासचिव मनिष सुमनले बताउनुभयो । कार्यदलमा तीनटै दलबाट पाँच पाँचजना सहभागि रहेका छन् ।
शासकीय स्वरुप तथा राज्य पुनःसंरचनामा रहेका केही मतभिन्नताको बारेमा पनि टुगों लगाएर एउटै विधान ल्याउने तयारी पनि भएको छ । शासकीय स्वरुपमा सद्भावना पार्टी र तमलोपा प्रधानमन्त्री कार्यकारी हुनुपर्छ भनेका छन् भने फोरम नेपालले राष्ट्रपति कार्यकारी हुनुपर्ने भनेका छन् । यी मुख्य विषयमा फरक भएपनि एकताका लागि सबैले त्याग गर्ने प्रतिवद्धता सो बैठकमा जनाएका हुन् । संघीय संरचनामा पनि तमलोपा र फोरम नेपालले मधेशमा एउटा प्रदेशको अवधारणालार्य अघि सारेको छ भने सद्भावना पार्टीले एक प्रदेश नभए दुई प्रदेशमा जान सकिने धारणा अघि सारेका छन् यद्यपि, यी तीन दलकै धारणा एक मधेश एक प्रदेश नै हो बैठकमा सहभागि एक नेताले बताउनुभयो ।
शुक्रवारदेखि शुरु हुने कार्यदलको बैठकले पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, सांगठनिक स्वरुप र विधानको बारेमा छलफल गर्ने बताइएको छ । सात दिनभित्र यी विषयहरुमा छलफल गरी अध्यक्षलाई बुझाएपछि अर्को बैठक माघ १० गते बस्ने नेता योगेन्द्रराय यादवले जानकारी गराउनुभयो ।
यसअघि पटक पटक तीन अध्यक्षबीच बैठक भएर कार्यदलसहितको बैठक बसेको हो । बैठकमा तीनटै अध्यक्षले कुनै पनि हालतमा तीन पार्टीबीच एकीकरण हुनुपर्छ र त्यसका लागि पुनः उहाँहरुले प्रतिवद्धता जनाउनु भएको छ । फोरमका अध्यक्ष उपेन्द्र यादवले यी प्रमुख तीन दल तथा राज्य संयन्त्रणले कुनै पनि हालतमा सविधान निर्माण गर्दैन र गरेपनि संघीयता विनाको सविधान ल्याउने संभावना भएकाले यसका लागि पनि तयार रहन र संगठीत भएर सामना गर्न तयार रहनुपर्ने धारणा राख्नु भएको थियो । तमलोपाका अध्यक्ष महन्थ ठाकुरले पनि विगतमा गरिएको भूलका कारण आज मधेशको अवस्था यस्तो भएको हो अबपनि यसलाई सुधार नगरिए मधेश मधेशवादी दलको हातबाट गुम्ने खतरा बढ्दै गएको धारणा राख्नु भएको थियो
बैठकमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहित उपाध्यक्ष लालवाबु राउत, महासचिव रामसहाय यादव, सचिव रत्नेश्वरलाल कायस्थ, केन्द्रीय सल्लाहकार अमरेश नारायण झा, केन्द्रीय सदस्य हरिनारायण यादवको उपस्थिति थियो भने भने तमलोपाको तर्फबाट अध्यक्ष ठाकुरसहित उपाध्यक्ष वृषेशचन्द्र लाल, सचिव सर्वेन्द्रनाथ शुक्ला, केन्द्रिय सदस्य विमल श्रीवास्तव उपस्थित थिए ।
त्यस्तै सद्भावना पार्टीको तर्फबाट अध्यक्ष राजेन्द्र महतोसहित सहअध्यक्ष लक्ष्मणलाल कर्ण, उपाध्यक्ष नरसिहं चौधरी, संजय साह, महासचिव मनिष सुमन र केन्द्रीय सदस्य योगेन्द्रराय यादवको उपस्थिति थियो ।

No comments:

Post a Comment