Labels

Sunday, January 19, 2014

पर्यटकीय सम्भावना बोकेका सिरहाका कमलदह


–सुरेशकुमार यादव
सिरहा फुलबरिया गाविसका सम्पत्त मुखिया कमलदहमा नुहाउन गएको बेला डुबेर बेपत्ता भएका थिए तर जब उनको घरपरिवार त्यो दहमा गएर कमलेश्वरी माताको भाकल गरे अनि सम्पत्त मुखिया केहीछिनपछि पानीबाट बाहिर आएका थिए ।
सिरहास्थित रिपुमर्दन गणका एक सिपाहीको विहे त्यहीको फुलबरीया गाविसका दिलबहादुर थापामगरको छोरीसँग विहे भएको थियो । एकदिन सालीहरुसँग कमलदहमा नुहाउन गएकाबेला सालीको आग्रहमा ती सैनिक जवानले दहमा रहेको कमलको फूल टिप्न जाँदा त्यही मृत्यू भएको थियो ।
यी र यस्ता थुप्रै सत्य घटनाहरु कमलदहसँग जोडिएर सुन्न पाइन्छ । सिरहा जिल्लास्थित फुलबरिया गाविसमा रहेका कमलदह धार्मिक, साँस्कृतिक पर्यटनको महत्व बोकेका महत्वपूर्ण पर्यटकीय स्थल हुन् । कमलदहको जगेर्ना र सम्वद्र्धन नहुनुको कारण लोप हुने अवस्थामा पुगेको छ । कमलदहको धार्मिक र साँस्कृतिक महत्व भएका कारण त्यसको प्रचारप्रसार भयो भने आन्तरिक र बाह्य थुप्रै पर्यटकहरु भित्र्याउन सकिने संभावना छ ।

ढल्केवर लहान सडकखण्ड अन्तर्गत सिरहाको मिर्चैयाबाट झण्डै ७ किलोमिटर ४ सय मिटर पूर्व उत्तरमा फुलबरिया गाविस रहेको छ । मिर्चैयाबाट झण्डै २४ सय मिटर राजमार्गमै पूर्वतिर गएपछि उत्तरतिर कच्ची बाटो गएको छ । सोही बाटो झण्डै ५ किलोमिटर हिड्दैजाँदा पहाडको फेदमा ठुलो क्षेत्रफलमा फैलिएको दह (पोखरी जस्तो) रहेको छ । सँगैको उत्तरी डिलको डाँडामा महावीरको मन्दिर, पूर्वी तटमा घाट, उत्तर पश्चिम र पूर्वतिर पहाडको फेदमा रहेको दह नै ुकमलदह’ हो ।
अत्यन्तै मनोरम र मनमोहक देखिने दहको छेउमा जो कोही गए एकछिन् विश्राम गरुँ र स्वार्गानुभूति गरुँ जस्तो लाग्छ । कमलदहमा फुलबरिया, चन्द्रोदयपुर, चोहर्वालगायतका वरपर गाविसका स्थानीयहरु दिनहुँ जस्तो त्यहाँ बसेर मनोरम दृश्यको आनन्द लिइरहेका हुन्छन् । अहिले पिकनिकको समय भएका कारणले त्यहाँ त खुट्टा टेक्नेसम्मको ठाउँ हुँदैन । वर्षात लागुञ्जेलसम्म पिकनिकलगायतको कार्यक्रम गर्नेको भिड त्यहाँ हेर्न लायकको हुन्छ । कमलदहको क्षेत्रफल समय अनुसार फरक पर्दै गएको पाइन्छ । शुरुमा पहाड र डाँडाको फेदसम्म गरी ८ विघा क्षेत्रफलमा फैलिएको कमलदह सात विघाको हाराहारीमा सिमित भएको छ ।
१० वर्ष अघिसम्म दह आठ विघाको सम्पूर्ण क्षेत्रफलमा कमलको फूल ढप्लक्क फुल्ने गरेको थियो । आठ विघा सो दहको क्षेत्रफलको बीच बीचमा टापु जस्तो देखिने माटोको ढिस्कोले गर्दा अझै मनोरम देखिन्छ । फुलबरिया गाविसका पूर्व गाविस अध्यक्ष जिवछ साहका अनुसार दहको यथार्थ र प्राकृतिक क्षेत्रफल झण्डै १२ विघा छ । तर पानीसहितको दह सात विघामा सिमित भएको छ । सात विघा क्षेत्रफलमा झण्डै ५ वटा अग्लो टापु जस्तै देखिने माटोको ढिस्काहरु यतिखेर एउटा ढिस्कामा सिमित भएको छ । सो दहलाई गाविसले आफ्नो अधीनमा लिएर व्यवस्थापन गर्न थालेको झण्डै १० वर्ष भयो र आफ्नो अधिनमा लिएपछि ती ढीस्कालाई काटेर चारैतिर डिलमा राख्दै भिरलाई अग्लो बनाएको छ । जसबाट वर्षातको मौसममा दहको पानी बाहिर जान सकेको छैन तर दहको यथार्थ बनावटमा त्यसले फरक पारेको छ र अप्राकृतिक भएको छ ।
दहको निर्माणको जानकारी शताब्दी अघिको कुरा हो । सिरहाकै पानबारी विद्यासागरको पुर्खा घोडे कान्छा भन्नेले फुलबरिया गाविसमा आएर पहाडको फेदमा रहेको खाली जग्गामा इनार खन्न लगाएका थिए । इनार निर्माण पुरा नहुँदै माथिल्लो डाँडाबाट आएको पानीले इनारको चारैतिरको भूभागलाई भर्यो । यसरी इनारको प्रयोजन र खन्नुको औचित्य नै समाप्त हुन गयो । कैयौ पटकको प्रयासपछि पनि इनारको औचित्य सिद्ध हुन नसकेपछि पहाडको फेदमा पानीले जमेको भूभाग दहमा परिणत हुन गयो । पछि उनकै पूर्खाले सो दहमा बाहिरबाट कमलफूलको बीउ ल्याएर छरेका थिए । यसरी सो क्षेत्रको नाम कमलदह पर्न गएको हो ।
 प्राकृतिक रुपमा प्रकट भएका सो दहको व्यवस्थापकीय जिम्मा लिएका गाविसका कारणले अप्राकृतिक हुँदै गएको आम बुझाई छ । गाविसले दहलाई मत्स्यपालनका लागि ठेक्कामा दिन थालेपछि त्यसको प्राकृतिक सौन्दर्यलाई भत्काएर आम्दानीको लालचमा फँसेको छ । माछा पालनको लोभमा दहभित्र रहेका मनमोहक ढिस्काहरुलाई भत्काउँदै समतल बनाएको छ भने सम्पूर्ण कमलको बोटहरु हटाएको छ । दहभित्र ढिस्काहरु हुँदा २ लाखमा ठेक्का लाग्ने सो दहका ढिस्काहरु हटाएपछि पछिल्लो समय नौ लाखमा ठेक्का लागेको थियो । केही वर्षदेखि ठेक्कामा नलागेको कारण अहिले पुरानै प्रकृतिमा फर्किरहेका छन् । कमलका बोटहरु पनि दहमा फैलिदै गइरहेका छन् । र, पर्यटकको आकर्षण पनि विस्तारै बढ्दै गएका छन् ।
धार्मिक महत्व
कमलदहको पानीलाई त्यस वरपरका स्थानीयहरुले खानेपानीका रुपमा प्रयोग गर्थे । पाँच दशकअघिसम्म घाना जंगल रहेको कमलदह वरिपरी अहिले वस्तीहरु बस्न थालेका छन् । ननुवाटोल र फुलबरिया गाविसका केही वडाहरु त्यस वरपर आएर बसेका कारण त्यहाँको पानी खाने योग्य रहेन । भनिन्छ, खानेपानीको अभाव टार्न नै वस्ती त्यहाँ सरेका हुन् तर विस्तारै पानी फोहर हुँदै गएपछि खाने प्रयोजनका लागि कसैले प्रयोग गरिरहेका छैनन् ।
कमलदहको चार किलोमिटरको दूरीमा माथि पहाडमा मूलबारीमा शिवजीको मन्दिर छ । शिवजीको सो मन्दिरमा प्रत्येक साउन महिनामा मेला लाग्ने र श्रद्धालुहरुले कमलदहबाट लगेर जल चढाउने गरेका छन् । शताब्दीयौदेखि बाहिरबाट आएका श्रद्धालुहरु कमलदहमा स्नान गरी मूलबारीमा रहेको शिवजीको मन्दिरमा जल चढाउँछन् । यसरी कमलदहमै स्नान गरी भरिएको जल मुलबारीमा शिवजीलाई अर्पण गर्दा कुमारी कन्याले इच्छा अनुरुपको वर पाउने र विवाहित महिला तथा पुरुषले बालबालिका पाउने धार्मिक विश्वास छ । कात्तिकमा हुने हिरबोधनी एकादशीका दिन कमलदहमा स्नान गरी भरिएको जल मुलबारीमा शिव मन्दिरमा चढाएमा अत्यन्तै प्रभावकारी र इच्छा अनुरुप वर पाउने धार्मिक विश्वास छ ।
हरिवोधनी एकादशीमा पछिल्लो ५ वर्ष यता कमलदहको डिलमै मेला समेत लाग्न थालेको छ । दललाई पर्यटकीय स्थलको रुपमा विकास गर्न जिल्ला विकास समिति र गाविस मेला लगाउन थालेको हो । एकादशीदेखि कात्तिक पूर्णिमासम्म मेला लाग्ने गरेको छ । त्यसैगरी विगतमा राजा सलहेस थकित भएर आउँदै दहमै आएर पानी खाने र विश्राम गर्ने गरेको समेत जनविश्वास छ । कमलको फूलको ढप्पक ढाकेको कमल दहलाई राम्ररी व्यवस्थापन र समुचित विकास गर्न सके चितवनको नारायणी नदीको छेउमा रहेको सौरहाभन्दा उत्कृष्ट पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिन्छ ।
ससाना डाँडाले चारैतिर घेरेको, केही दूरीमै ठुल ठुला पहाडहरु समेत रहेको दृश्य दह वरिपरीको डाँडाबाट देख्न सकिन्छ । त्यतिकै मात्रै नभई आठदेखि १२ विघा क्षेत्रफलमा फैलिएको कमल दहमा डुगां चलाउन लगाएर पर्यटकलाई आकर्षण गर्दै गाविसको आम्दानी बढ्न सकिने अनुमान गरिन्छ । पछिल्लोसमय तराईमा घुम्ने पर्यटकहरुको आकर्षण कमलदह पनि हुन लागेको चोहर्बाका रामअशिष साहले बताए । अचेल कमलदह खोज्दै पर्यटकहरु आउन थालेका छन् । यदि यसमा अलिकति ध्यान पुर्याए पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिन्छ ।
बाटो असुविधाका कारण कतिपय अवस्थामा त्यहाँ जान चाहेर पनि जान सकिरहेका हुँदैन । पूर्व पश्चिम राजमार्गबाट ७ किलोमिटर उत्तरमा रहेको कमलदहसम्म हिडेर जाने बाटो मात्र रहेको छ । जसो तसो बाइकसम्म लान सकिन्छ । यदि बाटोलाई मर्मत गरि दिए, यतायातको सुविधा भयो भने पर्यटकहरुलाई दहसम्म पुग्न सुगम हुन्छ । यसरी कमलदह र वरिपरीको क्षेत्रको राम्ररी व्यवस्थापन र पहुँच हुने गरी निर्माण कार्य गरिँदा धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरी गरी पाँच जिल्लामा धार्मिक र ऐतिहासिक महत्वका साथै उत्कृष्ट सौन्दर्य स्थल हुनेछ ।

No comments:

Post a Comment