Labels

Saturday, December 7, 2013

उपेन्द्र र गच्छदार आआफ्नो घर अनि मधेशमा के को भर


सुरेशकुमार यादव
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पुनः पुरानै खेमामा फर्केका छन् । वामपन्थी विचारधाराबाट राजनीतिक शुरु गरेका उनी पहिलो सविधानसभा चुनावपछि एमाओवादीसँग गठनबन्धन गरी नौ महिना सरकारसमेत सञ्चालनमा सहभागि भएका थिए तर गच्छदार र गुप्ताका कारण यादवको सम्बन्ध एमाओवादीसँग टुटेको थियो । एमाओवादीसँग उनको सम्बन्ध टुट्नुको अरु कुनै कारण होइन, आफ्नो पार्टीबाट अलग भएका दलहरु मधेशी जनअधिकार फोरम लोकतान्त्रिक तथा मधेशी जनअधिकार फोरम गणतान्त्रिकसँग गठबन्धन बनाउनु नै मुख्य कारण थियो ।
    अहिले एमाओवादीको गठबन्धनमा न जयप्रकाश गुप्ता रहेका छन् न विजयकुमार गच्छदार । त्यसैले सविधानसभा चुनाव सके लगतै एमाओवादीलाई पछ्याउँदै पेरिसडाँडासम्म पुगेका छन् उनी । तर, एमाओवादीसँग पुनः यस्तो मितजोरीलाई उनकै पार्टीका थुप्रै नेताहरुले मन पराएका छैन । फोरम नेपालका एक केन्द्रीय सदस्यले भने, उपेन्द्रलाई कसैले बुझ्न सकेन, पार्टीभित्र के गर्नु हुन्छ कहाँ जानु हुन्छ कसैलाई थाह छैन । एमाओवादीकै कारण पार्टीको यस्तो हालत भएको थाह पाउँदा पाउँदै पुनः त्यसैको पिछलग्गु बन्नु पार्टीको हितमा राम्रो होइन ।’

    एमाओवादीसँग दोस्रो पटकको सरकार निर्माण गर्दा विजयकुमार गच्छदार उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालबाट अलग भएका थिए । गच्छदारले एमालेका नेता माधवकुमार नेपालको नेतृत्वमा सरकार बनाउनुपर्छ भने पक्षमा थिए भने उपेन्द्र यादवले पुनः एमाओवादीका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउनुपर्छ भने पक्षमा थिए । त्यही रस्सा कस्सीमा मधेशका सबभन्दा ठुला पार्टी पहिलोपटक दुई टुक्रा भएको थियो । गच्छदारले पार्टी विभाजन गरेर सिधै माधवकुमार नेपालको नेतृत्वलाई समर्थन गर्दै सरकारमा सहभागि भएका थिए । त्यसपछि विस्तारै उपेन्द्र यादवको पार्टी फोरम नेपाल र एमाओवादीको दुरी बढ्दै गयो र विजयकुमार गच्छदारको पार्टी फोरम लोकतान्त्रिक र एमाओवादीबीच दुरी घट्दै गयो । पार्टी विभाजनपछि उपेन्द्र यादव र विजयकुमार गच्छदारबीच पानी बाराबारको स्थिति रह्यो । यस्तो मनमुटाव शुरु भयो कि सविधानसभा चुनावपछि बनेको प्रचण्ड नेतृत्वको सरकार बाहेक दुवैजना एउटै सरकारमा कहिले साथ रहेन । माधव नेपालको नेतृत्वमा बनेको सरकारमा अन्य मधेशवादी दललगायत विजयकुमार गच्छदार मात्र सहभागि थिए, उपेन्द्र यादव बाहिर बसे । भने त्यसपछि बनेको झलनाथ खनालको सरकारमा उपेन्द्र यादवमात्र गए गच्छदार गएन ।
    एमाओवादीकै सहयोगमा बनेका झलनाथ नेतृत्वको सरकार ढाल्न पछि एमाओवादीले नै अभियान शुरु गरे त्यस अभियानमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पूर्ण सहयोग गर्न थाले । सो अभियानको अग्रपंक्तिमा राजनीतिका दाउपेचमा माहिर गच्छदार नै थिए । त्यतिबेला नै फोरम नेपालबाट सो पार्टीका सहअध्यक्ष जयप्रकाश गुप्ता पनि अलग भएर मधेशी जनअधिकार फोरम गणतान्त्रिक गठन गरेका थिए । त्यसपछि गुप्ता र गच्छदार दाजु–भाइको सम्बन्ध जोड्दै एमाओवादीका नेता डा.बाबुराम भट्टराईको नेतृत्वमा निर्माण भएको सरकारमा चारबुँदे सम्झौता गरी गुप्तासहितको मधेशी मोर्चा सहभागि भएका थिए । त्यो सरकारमा उपेन्द्र यादवलाई सहभागि हुन पटक पटक आग्रह पनि गरियो तर त्यहाँ गुप्ता र गच्छदार जस्ता धोकेवाज र भ्रष्ट हुँदा हुँदै कुनै पनि हालतमा सो सरकार सहभागि नुहने भन्दै सरकार बाहिर बसे । यहाँसम्म कि थोरै समयका लागि एमाले र काँग्रेस पनि सो सरकारमा सहभागि भएपछि उपेन्द्र यादवको पार्टी सरकारको प्रतिपक्षि दल भए । उपेन्द्र यादवको पार्टी लामो समयसम्म सरकार बाहिर रहेर मधेशको दौडाहा गरिरहे ।
    भट्टराई नेतृत्वको सरकारमा हालीमुहाली गरेर बसेकै अवस्थामा फोरम गणतान्त्रिकका तत्कालिन अध्यक्ष जयप्रकाश गुप्ता भ्रष्टाचारको आरोपमा जेल परे । त्यसको ठाउँ सोही पार्टीका सहअध्यक्ष राजकिशोर यादवले लिए । त्यसबेला पनि पुर्नगठन भएको सरकारमा उपेन्द्र यादवलाई परराष्ट्र तथा उपप्रधानमन्त्री दिँदा पनि सहभागि भएन । अध्यक्ष यादवका लागि धेरै दिनसम्म उपप्रधान तथा परराष्ट्र मन्त्रालय खाली राखेका थिए तर उपेन्द्र यादव त्यसमा सहभागि भएन कारण थियो गच्छदार पनि सो सरकारमा उपप्रधान तथा गृहमन्त्री थिए । उपेन्द्रको धारणा थियो कि गच्छदार र आफू एउटै हाराहारीमा नरहने र सोही अडानका कारण सरकारमा सहभागि भएन । अहिले आएर मधेशको ठुलो पार्टी विजय गच्छदारको भएको छ भने तेस्रो पार्टी उपेन्द्र यादवको । सत्ताका खेलाडी गच्छदार देशको सबभन्दा ठुलो पार्टी काँग्रेसको खेमामा लागेका छन् भने उपेन्द्र यादव पुनः एमाओवादीकै खेमामा ।
    पेरिसडाँडामा पटक पटक बसेको मधेशी दलसहितको बैठकमा अध्यक्ष प्रचण्डले पटक पटक बोलाउँदा पनि गच्छदार न आफै उपस्थित भए नपार्टीका अरु कुनै प्रतिनिधिलाई पठाए । सो मोर्चामा महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, महेन्द्र यादव, अनिल झालगायतका मधेशी दलहरु सभागि छन् । अन्ततः फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार एमाओवादीको मोर्चा छाडेर अहिले काँग्रेसको मोर्चामा सहभागि भइसकेका छन् । शुक्रवार मात्र काँग्रेसका सभापति सुशिल कोइरालालाई उनकै निवासमा भेटेर सहमतिको सरकार बनाउनुस् आफ्नो पार्टीको पुर्ण समर्थन रहने प्रतिवद्धता जनाईसकेका छन् । लामो समयसम्ममा काँग्रेसमा रहेर काम गरिसकेका गच्छदारलाई एमाओवादीको गठबन्धनभन्दा काँग्रेस गठबन्धनमा काम गर्न सजिलो हुने विश्लेषकहरुको ठम्याई छ । सविधानसभा चुनाव सकिने लगतै मधेशमा तेस्रो उपेन्द्र यादव र देशमा तेस्रो प्रचण्डको सम्पर्कमा गए भने मधेशमा पहिलो गच्छदार र देशमा पहिलो काँग्रेसको सम्पर्कमा गए ।     

No comments:

Post a Comment