- सुरेशकुमार यादव
काठमाडौं, पुस ४ गते । तरकारी, फलफुल तथा अन्य अन्नवालीमा विषादीको बढ्दो प्रयोगले चिन्ताको विषय बनिरहेको बेला सरकारले कृषिक्षेत्रलाई विषादीमुक्त बनाउन अभियान शुरु गरेको छ । ‘तीन गाई १० रोपनी जग्गा, रसायनको प्रयोगविना उत्पादन हुन्छ पक्का’ भन्ने मुल नाराका साथ राजधानीबाट नै अभियान शुरु गरेको छ ।
सरकारले काठमाडौ जिल्ला तथा त्यस वरपर क्षेत्रमा उत्पादन हुने तरकारी तथा खाद्यन्नलाई आगामी १२ वर्षभित्रमा विषादीमुक्त बनाउने घोषणा गरेको छ । जिल्ला कृषि विकास कार्यालय काठमाडौंले आयोजना गरेको एक कार्यक्रममा कृषिमन्त्री टेकबहादुर घर्तीमगरले कृषि क्षेत्र व्यवसायिकतातिर अग्ररसर हुदैं गइरहेको अवस्थामा तरकारी तथा नगदेवालीमा बढी रहेको विषादीको प्रयोगप्रति चिन्ता व्यक्त गर्नुभयो । विषादी रोक्नका लागि सरकारले हरेक एक कदम चाल्नका लागि तयार रहेको उल्लेख गर्दै उहाँले त्यसलाई न्युनीकरण गर्नका लागि सरकारले प्राङगारिक मलमा अनुदानको व्यवस्था गरेको जानाकारी गराउनुभयो ।
सरकारले प्रांगारिक मलमा समेत अनुदानको व्यवस्था गरेको छ । कृषिको व्यवसायीकरणमा जोड, उत्पादनमा वृद्धि, निर्वाहमुखीभन्दा निर्यातमुखी व्यवसाय गर्ने किसानहरुलाई उच्च प्राथमिकतामा राखेको मन्त्री घर्तीमगरले बताउनुभयो । उहाँले वार्षिक साढे ३७ करोड रुपैयाँ बराबरको विषादी आयात हुने गरेको बताउँदै हरेक वर्ष नेपालमा तीनसय ४५ टन विषादी आयात हुने गरेको जानकारी गराउनुभयो । त्यसमध्ये ३३ प्रतिशत कीटनासक विषादी, ४८ प्रतिशत रोगनासक विषादी, १६ प्रतिशत झारनासक विषादी र तीन प्रतिशत अन्य विषादी आयात हुने गरेको समेत उहाँले जानकारी गराउनुभयो ।
काठमाडौ जिल्लाले पहिलो पटक शुरु गरेको यो अभियान सफल भएपछि देशैभरि अभियान सञ्चालन गरिने बताउँदै उहाँले राजधानीलगायत विभिन्न शहरी क्षेत्रमा डिपार्टमेन्ट स्टोर सञ्चालन हुने क्रम बढेको भन्दै किसानका लागि पनि छुट्टै अर्गानिक सुपरमार्केटको आवश्यकता रहेको उहाँले बताउनु भयो ।
कार्यक्रममा काठमाडौ कृषि कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत शरदचन्द्र श्रेष्ठले १२ वर्षभित्रमा काठमाडौंलाई प्रांगारिक क्षेत्र बनाउने अभियान शुरु भएको बताउँदै रणनीतिको बाटोबाट अघिबढ्ने शिलशिलामा उत्पादक किसान तथा उपभोक्तासँगको छलफलमा प्रांगारीक खेती विस्तार विकाससम्बन्धि अल्पकालीन तथा दीर्घकालीन रणनीति बनाउने उल्लेख गर्नुभयो । चिया, कफी र स्याउ अर्गानिक पद्धतीमा गइसकेको छ र सरकारले केही अर्गानिक कृषि उपजहरुकोे अन्तराष्ट्रिय मान्यता प्राप्त चिन्ह दर्ता गराएको र केहि उत्पादनहरु प्रक्रियामा रहेका छन् ।
अर्गाानिक खेती अभियान्ता संगम शेर्पाले सरकारले अर्गानिक खेती गर्ने किसानलाई विषेश सहयोग गर्नुपर्ने बताउनु भयो । हरेक किसान आफै व्यापारी हुनुपर्छ भन्दै उहाँले कृषि क्षेत्रलाई साच्चै आर्थिक विकासमा केन्द्रित गर्ने हो भने अर्गानिक पद्धती र सरकारले प्रथम चरणमा ५० किसानलाई बढी दुध दिने उन्नत जातका एक एक वटा गार्ई अनुदानमा उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो ।
विश्व बैंकको तथ्याँकअनुसार विषादीका कारण विश्वभर वार्षिक तीन लाख ५५ हजार व्यक्तिको अनाहकमा मृत्यु भइरहेको छ । विश्व खाद्य संगठनकाअनुसार विषादी सम्बन्धी प्रतिवर्ष ३० लाखको सँख्यामा घटनाहरू भइरहेका छन् । विषादी नियन्त्रण सम्बन्धी २०४८ सालमा जीवनाशक बिषादी ऐन र २०५० मा त्यस सम्बन्धी नियमावली आएपनि प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन सरकार असफल भएको छ । सरकारले प्रयोग र आयातमा प्रतिवन्ध लगाएपनि एग्रोभेट सञ्चालकहरू क्लोरडाइन, डिडिटी, डाइलड्रिन, एलड्रिन, हेप्टाक्लोर, टोक्साफेन, माइरेक्स, लिण्डेन, बीएचसी, फोस्फामाइडन, ओरगानो मर्करी फंगिसाइड, मिथाइल प्याराथिन, मोनोक्रोटोफोस र इण्डोसल्फेन नामक बिषादी व्यापक रूपमा लुकाई चोराई बिक्रि गर्दै आएका छन् ।
एकातिर सरकारले विषादीमुक्त कृषि क्षेत्र बनाउन अर्गानिक खेतीतर्फ अभियान सञ्चालन शुरु गर्न लागेका छन् भने अर्कोतिर दैनिक हजारौ टन विषादीयुक्त तरकारी राजधानी छिरी रहेका छन् त्यसतर्फ कुनै ध्यान दिएको छैन । विभिन्न नाकाबाट राजधानी छिर्ने तरकारी तथा खाद्यान्नलाई चेक जाँच गर्न सरकार चुकेका छन् । विषादीयुक्त तरकारी परिक्षण गर्ने जिम्मा बाली संरक्षण निर्देशनालयको जिम्मेवारी रहेको छ । तर, किसानको खेतमा गएर परिक्षण गरेपनि बजार भित्रिने तरकारीको कुनै जाँच हुँदैन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिषादी नियन्त्रण सम्बन्धी काम वाली संरक्षण निर्देशनालयको हो । निर्देशनालयले सहकार्य गरे तरकारी तथा फलफुलको पनि परिक्षण गर्ने बताएका छन् । हालसम्म परीक्षण नै नगरीकन बजारमा तरकारी भित्रिने गरेको निर्देशनालयले स्वयं स्विकार गरेका छन् । निर्देशनालयका प्रमुख डिल्लीराज शर्माले भन्नुभयो–‘हामीले अहिलेसम्म किसानको खेतवारीमा गएर नमूनाको रूपमा तरकारीमा विषादीको मात्राको बारेमा अध्ययन गर्दै आएका छौं ।’ विषादीयुक्त तरकारीको सेवनका कारण क्यान्सर, पक्षाघात, अन्धोपन, कलेजो, ट्युमर, गर्भबस्था तुहिने, नपुंगता, मृगौलासम्बन्धीलगायतका जटिल रोग लाग्ने गरेको बताइन्छ ।
No comments:
Post a Comment