Labels

Saturday, December 28, 2013

धान उत्पादनमा वृद्धि


काठमाडौ पुस १२ गते । कृषकको मुख्यवाली धानको उत्पादन गत सालभन्दा १२ प्रतिशतले वृद्धि भएको छ । कृषि विकास मन्त्रालयअन्तर्गतको कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक विभागले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा चालु आर्थिकवर्ष २०७०÷७१ को धानलगायत केही प्रमुख वालीको अवस्था सार्वजनिक गर्ने क्रममा सो कुराको जानकारी गराएको हो ।
कृषि प्रविधि र समयमा वर्षा भएको कारणले धान उत्पादनमा वृद्धि भएको ठहर गर्दै हालसम्मको तथ्यांक अनुसार एक खरब नौ अर्ब ३६ करोड रुपियाँ मूल्य बराबरको ५० लाख ४७ हजार मेट्रिक टन धान उत्पादन भएको प्रारम्भिक अनुमान गरिएको छ । सामान्यतया जुन १० तारिखमा शुरुहुने मनसुन यसवर्ष केही ढिला भएको तर आषाढ तथा श्रावणभरी निकै सक्रियवर्षा भएको तथा सेप्टेम्वरको अन्त्यसम्म मनसुन रहेका कारण धान उत्पादनमा सहयोग पुगेको जनाएको छ ।

यसवर्ष धानखेती ६६ हजार हेक्टरले बढेको छ, जुन गतवर्ष खेडेरीबाट प्रभावित भएको थियो । गत आर्थिक वर्षमा ४५ लाख ४ हजार मेट्रिक टन धान उत्पादन भएको थियो । कृषि प्रविधिको विकास तथा तराईमा सवित्रि, विन्देश्वरी, राधा ४ र १२, मध्य पहाडमा खुमल ४, १० र ११ तथा उच्च पहाडमा चन्दननाथलगायत जातको उत्पादन स्थानीय जातभन्दा दोब्बर रहेको र त्यसले ९० प्रतिशत भन्दा बढी क्षेत्रफल ढाकेको कारण उत्पादन बढेको महाशाखाले जनाएको छ ।
धानपछिको प्रमुख दोस्रो वाली मकैको उत्पादन १० प्रतिशत वृद्धि भई २२ लाख ८३ हजार मेट्रिक टन उत्पादन भएको छ । गतवर्ष २० लाख ७८ हजार मेट्रिकटन उत्पादन भएको थियो । मकै उत्पादनका लागि पनि मकै खेतीका क्षेत्रफल विगतको भन्दा ६ प्रतिशत अर्थात ५४ हजार हेक्टर वृद्धि भएको छ । यसैगरि कोदोको उत्पादनमा गतवर्षभन्दा कमी देखिएको छ । गतवर्ष तीन लाख पाँचहजार मेट्रिकटन उत्पादन भएको थियो भने यस चालु आर्थिकवर्षमा तीनलाख चारहजार मेट्रिकटन मात्र भएको प्रारम्भिक अनुमान छ ।  



No comments:

Post a Comment