Labels

Wednesday, December 18, 2013

चौधरीले विदेशी कम्पनीलाई ताकेपछि किसानलाई मर्का



  • सुरेशकुमार यादव

चौधरी गु्रपले विकासशील देशमा विवादित रहेको बहुराष्ट्रिय कम्पनी मोन्सान्टोको बीउ बिजन बेचविखन गर्न लागेको प्रति नेपाल सद्भावना पार्टीको ध्यानाकर्षण भएको छ । सो कम्पनीको हाइब्रिड मकैलगायत विभिन्न तरकारीको बीउका साथै नाम समेत नखुलाइएको कीटनाशक औषधीहरुको बिक्री वितरणमा रोक लगाउन सो पार्टीले विज्ञप्तिमार्फत सरकारसँग माग गरेको छ ।



पार्टीका अध्यक्ष सरिता गिरीले बुधवार विज्ञप्ति जारी गरी त्यस्ता बीउ र कीटनाशक औषधीको प्रयोगले गर्दा दीर्घकालमा कृषि योग्य माटो, खाद्य सुरक्षा र बीउ संरक्षणको सम्प्रभु अधिकार डर लाग्दो प्रकारले दुष्प्रभावित हुने भएकोले र कृषकहरु परनिर्भर भई गरीबी र असुरक्षाबाट ग्रसित हुने भएकाले तथा खाद्यका लागि समेत परनिर्भरता बढ्ने भएकाले पार्टी उक्त मोन्सान्टो कम्पनीको बीउ, मल र कीटनाशक दवाईको बिक्री वितरणको सम्पूर्ण प्रक्रियालाई प्रतिबन्धित गर्न सरकारसँग माग गर्नुभएको छ ।

लगभग दुई वर्ष अगाडी समेत सरकारले स्वयं सो कम्पनीको बीउ, खाद्य र कीटनाशक औषधी बिक्री वितरण गर्न खोज्दा जनस्तरबाट व्यापक विरोध भएपछि विक्रि वितरण बन्द भएको थियो ।  हाल मुलुकमा राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै दलीय सरकार समेत नरहेको अवस्थामा विभागीय निर्णयबाट मात्र व्यापक र दूरगामी प्रभाव पर्ने निर्णय गरी निजी क्षेत्रको संलग्नतामा विवादास्पद व्यापारका लागि क्रियाकलाप अगाडी बढाउने र त्यस्ता निर्णयको बारेमा कुषि मंत्रालय र कृषि अनुसंधान विभाग समेतले अनभिज्ञता जाहेर गरेको प्रति पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । यस विषयमा सरकार तुरुन्तै कारवाही अगाडि नबढाए आन्दोलनमा जाने चेतावनी दिएको छ ।


केही दिनपहिले कृषि विकास मन्त्रालय मातहतको नेपाल बीउ गुणस्तर निर्धारण केन्द्रले चौधरी ग्रुपअन्तर्गतको सीजी सिड्स एण्ड फर्टलिलाइजर्सलाई अमेरिकास्थित बहुराष्ट्रिय कृषि सामाग्री कम्पनी मोन्सान्टोद्वारा उत्पादित विभिन्न प्रकारका बीउ नेपाल आयात तथा बिक्रीवितरण गर्न अनुमति दिएको थियो । यो विषयमा कृषि मन्त्रालयलाई जानकारी समेत गराइएको छैन । मन्त्रालयका प्रवक्ता प्रभाकर पाठकले समेत केन्द्रले यसरी अनुमति दिएको विषयप्रति अनभिज्ञता जाहेर गर्नुभयो ।

केन्द्रका प्रमुख डिलाराम भण्डारीले विभिन्न अध्ययन तथा अनुसन्धानपछि आवश्यक प्रकृया पुरा गरेर बीउ आयात गर्न चौधरी ग्रुपलाई अनुमति दिइएको बताउनुभयो । दुई वर्षअघि अमेरिकी सहयोग नियोग (यूएसएड) ले नेपालमा खाद्य सुरक्षा र किसानको आम्दानी बढाउने भन्दै विश्वभर बदनाम मोनसान्टोको बीउ भित्र्याउने तयारी गरेको थियो । तर, स्थानीयको विरोधपछि त्यो कार्यक्रम रोकिएको थियो तर अहिले आएर सरकारले नै सोही कम्पनीको हाइब्रिड (वर्णशंकर) जातका बीउ आयात गर्ने अनुमति दिएको प्रति किसान तथा कृषि अभियन्ताहरु समेत आक्रोशित भएका छन् । नेपालको कृषि क्षेत्रमा मोन्सान्टो कम्पनीले एकाधिकार कायम गर्नका लागि प्रयास स्वरुप यो कदम चालिएको कृषि वैज्ञानिकहरु बताउँछन् ।
सो कम्पनीले बीउमात्र हैन, विषादीपनि उत्पादन गर्छन् । बीउ उत्पादन प्रणालीमा कब्जा जमाएपछि त्यही बीउ नदिई किसानलाई सुखै छैन्ु, नार्कका एक वैज्ञानिकले भन्नुभयो, बालीमा लाग्ने रोग नियन्त्रण गर्न सोही कम्पनीकै विषादी हाल्नै पर्ने भएकाले नेपाललाई परनिर्भर बनाउने र व्यापार बिस्तार गर्ने उद्देश्य रहेको छ । सो वैज्ञानिकले सरकारले उत्पादन गरेका बीउलाई प्रोत्साहन नगरेर सरकारले मल्टिनेशनल कम्पनीको बीउ भित्र्याएर किसानको भविष्यसँग खेलवाड गरेको बताउँदै आयातित बीउले सुरूमा राम्रै उत्पादन दिएपनि केही वर्षपछि उत्पादन ठप्प हुने समेत बताउनुभयो ।


भक्तपुर तथा काभ्रे, चितवनलगायतका स्थानमा यस्तै आयातित बीउका कारण किसानले ठूलो क्षति व्यहोर्नु परेको थियो । भक्तपुरमा मात्र २७ करोडभन्दा बढी क्षति भएको कृषि अभियन्ताहरु बताउँछन् । भारतमा यस विदेशी कम्पनी विरुद्धमा किसानहरुले ठुलो आन्दोलनसमेत गरेको थियो ।

No comments:

Post a Comment