Labels

Monday, December 23, 2013

समानुपातिकका लागि यो कस्तो झमेला, त्यसैका लागि पार्टी कार्यालयमा लाग्दैछन् मेला !


सुरेशकुमार यादव
काठमाडौ पुस ७ गते । निर्वाचन आयोगले पुस १० गतेसम्म समानुपातिको नामावली बुझाउन दिएको म्याद नजिकिदै जाँदा मधेशवादी दलहरु नाम चयनका लागि गृहकार्यमा जुटेका छन् । आआफ्नो तर्फको व्यक्ति समानुपातिकमा परुन भनेर पार्टीमाथि बढेको दवावका कारण मधेशवादी दलहरु अन्तरिक गृहकार्यमा लागेका छन् ।
विगत झै यसपाली पनि सीटसँख्या बढ्ने सम्भावनाका कारणले समानुपातिकमा नेता तथा कार्यकर्ताहरुको नाम त्यतिकै मात्रामा राखे तर सीटसँख्या कम आएका कारणले सबैलाई चित बुझाउन पार्टीका अध्यक्षहरु हम्मे हम्मे भएको छ । समानुपातिककै कारण पार्टीहरुमा आन्तरिक विवादको समस्या त्यतिकै देखिएको छ । कतिपय अध्यक्षले कार्यकर्ताको दवाव थेग्न नसकेर मोवाइल पनि अफ गरेका छन् भने पार्टी कार्यालयसमेत जान छाडेका छन् ।
सद्भावना पार्टी र लोकतान्त्रिक फोरममा समानुपातिकको नाम चयन गर्ने जिम्म अध्यक्षलाई दिएको कारण पार्टी कार्यालयमाभन्दा अध्यक्ष जहाँ हुन्छ त्यही भिड हुन्छ, अथवा फोनको घन्टी बजी रहन्छ । यता तमलोपा र फोरम नेपालको बैठक पार्टी कार्यालयमा जारी रहेका कारण सो दलको पार्टी कार्यालयमा त्यस्तो भिड देख्न सकिन्छ । शाक्तिशाली ठाउँबाट अध्यक्ष कहाँ विभिन्न व्यक्तिका सोर्स पनि पुग्ने गरेको छ ।

नेपालमा राजनीतिक प्रभाव कायम गरेका भारतीय राजदूतावासको दवाव पनि मधेशवादी दलका अध्यक्ष कहाँ पुग्ने गरेका छन् । कसै कसैको त अमेरिकाबाट पनि फोन आउने गरेको छ, अमेरिकाबाट कसको जिज्ञासा राख्दा त्यहाँ काम गर्ने मधेशीहरुको जो पार्टीलाई बेला बेलामा सहयोग गरिरहेका छन् उहाँहरुले पनि फोन गरेर फलानोलाई गर दिनुस् दवाव आउने गरेको एक पार्टी अध्यक्षको प्रतिकृया छ । मधेशवादी दलका एकजना अध्यक्षले प्रत्यक्षको चुनावभन्दा समानुपातिकको नाम चयन गर्न गाह्रो भइरहेको बताउनुभयो ।
तमलोपा पार्टी कार्यालयमा एकजना महिलालाई समानुपातिकमा नाम पठाउन दवाव बढाउन काठमाडौ आएको झण्डै एक महिना हुन लाग्यो । उहाँले भन्नुभयो, घरबाट ल्याएको अलि अलि खर्च पनि सिधिन लाग्यो, समानुपातिकको टुगों पनि लागेको छैन केही होला भनि पर्खेर बसेका छौ तर पार्टीले निर्णय गरिरहेका छैन । पार्टीले केही नकेही निर्णय गरेर सुनाई दिएको भए चित्त बुझाएर घर जान्थे तर निर्णय नसुनीकन घर फर्किन मन नै नमानेको पिडा पनि सुनाउनु भयो । पार्टी स्रोतले भने, आयोगले दोस्रो पटक म्याद थप्दा पार्टीका अध्यक्षले नै यहाँ बस्नुको कुनै अर्थ छैन तपाईहरु जिल्ला फर्किनु भनेर नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भएको थियो । स्रोतले भने, पार्टी अध्यक्षले समानुपातिकको नाम बुझाउने नबुझाउने टुगों नलागेको अवस्थामा समानुपातिककै लागि राजधानीमा बस्नु राम्रो होइन जिल्ला फर्किन भन्दै सल्लाह दिनु भएको थियो ।

चुनावमा धाँधली भएको दावी गर्दै त्यसको छानविनका लागि उच्च स्तरीय छानविन आयोग गठन नभएसम्म समानुपातिकको नाम नबुझाउने चेतावनी दिए पनि मधेशवादी दलहरु समानुपातिक सभासद्को नाम चयन गर्न गृहकार्यमा जुटेका छन् । मत परिणाम आउने वित्तिकै चुनावमा धाँधली भयो भन्दै पत्रकार सम्मेलन गरेका मधेशी जनअधिकार फोरम नेपालले पनि समानुपातिक सभासद् चयनलगायतका विषयमा दुई दिनदेखि केन्द्रिय समितिको बैठक बसिरहेको छ ।

आठजना समानुपातिकमा सभासद् पाएका फोरम नेपालले चारजना पुरुष र चारजना महिलाको नाम चयन गर्न गृह कार्यमा लागेको पार्टीले जनाएको छ । फोरम नेपालका प्रवक्ता रत्नेश्वर कायस्थले आयोग गठन नभएसम्म समानुपातिको नाम नपठाउने पार्टीले भनिसकेको छ यद्यपी तयारी अवस्थामा बस्नका लागि नामको बारेमा बैठकले छलफल गरिरहेको बताउनुभयो । सो पार्टीमा पार्टीका वरिष्ठ नेता भरतविमल यादव, महासचिव रामसहाय यादव, सचिव एवं प्रवक्ता रत्नेश्वरलाल कायस्थ, श्रवण अग्रवाललगायतका नामहरु चर्चामा रहेका छन् ।
आठवटा समानुपातिक सभासद् पाएका तराई मधेश लोकतान्त्रिक पार्टी पनि गृहकार्यमा जुटेका छन् । समानुपातिकको विषयमा टुगों लगाउन पार्टीले सोमवारदेखि पार्टी कार्य सम्पादन समितिको बैठक बस्न लागेको छ । पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले समानुपातिलगायत अन्य विषयमा छलफल गर्नका लागि पार्टीको बैठक बस्न लागेको र त्यसैबाट टुगों लाग्ने बताउनुभयो । आआफ्नो क्षेत्रका नेता तथा व्यक्तिलाई समानुपातिकमा पार्नका लागि जिल्ला जिल्लाबाट पार्टीका कार्यकर्ताहरु राजधानीमा बसेर दिनहुँजसो केन्द्रीय कार्यालयमा धाइरहेका छन् । त्यसको दवावले पनि अध्यक्ष महन्थ ठाकुरले त्यसको टुगों लगाउन बैठक बोलाउनु भएको हो । पार्टीमा पार्टीका महामन्त्री गोविन्द चौधरी, विजय सिह, राकेश मिश्र, कौशलकुमार झा, बीपी यादव, केदारनन्दन चौधरी, विभा झा, चन्दा चौधरी, बविता झालगायतका नाम चर्चामा रहेको पार्टी स्रोतले जनाएको छ ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टीले केन्द्रिय समितिको बैठकले पार्टीका अध्यक्ष विजयकुमार गच्छदारलाई समानुपातिकको नाम चयन गर्ने जिम्मा दिएको दुई हप्ताभन्दा बढी भइसक्दा पनि हालसम्म चयन गर्न सफल हुन सक्नु भएको छैन । निर्वाचन आयोगले पहिलो पटक म्याद नथप्दा नै अध्यक्ष गच्छदारलाई जिम्मेवारी दिएको थियो । पार्टीका उपाध्यक्ष रामेश्वरराय यादवले समानुपातिको नाम चयन गर्ने जिम्मा अध्यक्षज्यूलाई दिएको अब उहाँले गर्नुपर्ने काम गर्नुहुनेछ, आफूहरु परिणामको प्रतिक्षामा रहेको बताउनुभयो ।
सद्भावना पार्टीको केन्द्रीय समितिको बैठकले पनि पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई जिम्मेवारी दिएको छ । पाँचजना समानुपातिक सभासद्मध्ये तीनजना पुरुष र दुईजना महिलाको नाम सिफारिश गर्नुपर्ने हुन्छ, त्यसका लागि अध्यक्ष गृहकार्यमा जुट्नु भएको छ । सो पार्टीमा पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई समानुपातिकमा दिने सम्भावना रहेको छ भने महासचिव मनिष सुमनको नाम पनि चर्चामा छ । त्यस्तै सर्लाहीबाट अध्यक्ष महतोको स्वकीय सचिव रही सक्नुभएका केन्द्रीय सदस्य उपेन्द्र महतोलगायतको नाम पनि आइरहेको पार्टी स्रोतले जनाएको छ ।
पार्टीका एकजना केन्द्रीय सदस्यले भन्नुभयो, पार्टीका अध्यक्ष महतो सर्लाहीको भएको र त्यहाँबाट पराजित भएको कारण एकजना सर्लाहीबाट आउने पक्का पक्की भएको छ । त्यसमा उपेन्द्र महतो, अरुणकुमार सिह, शैल महतोको नाम चर्चा रहेको छ ।’अरु पनि जान्नका लागि यहाँ क्लिक गर्नुस्

No comments:

Post a Comment