Labels

Friday, December 6, 2013

मधेशी दलको बीचमा पुनः एकताको प्रयास


सुरेशकुमार यादव
काठमाडौ मंसिर २१ गते । दोस्रो सविधानसभामा हार बेहोरेका मधेशवादी दलहरु एकता र सहकार्यमा जोड दिएका छन् ।
अलग अलग रहेकै कारण निर्वाचनमा मधेशवादी दलहरु कमजोर भएको ठहर गर्दै एकीकरण तथा मोर्चाबन्दीका लागि प्रकृया शुरु गरेको छ । त्यसो त चुनावअघि पनि यसैगरि एकीकरण र मोर्चाबन्दीको अभियानै चलाइएको थियो तर सफल हुन सकेका थिएन ।
मधेशी जनअधिकार फोरम गणतान्त्रिक, तराई मधेश फोरम नेपाल, संघीय सद्भावना पार्टी र नेपाल सद्भावना पार्टीले विहिवार पत्रकार सम्मेलन गरी एकता र सहकार्यका लागि तयार रहेको घोषणा नै गरे । पहिलो चरणमा पार्टी एकीकरणकै लागि प्रयास गर्ने, नभए सघर्षका लागि मोर्चा बनाउने यी चार दलको बीचमा सहमति भएको हो ।
तराई मधेश फोरम नेपालका अध्यक्ष अमर यादवले पहिलो प्रयास एकताकै लागि हुने, नभए मोर्चा पनि बनाउने सहमति भएको र त्यसको गृहकार्य तिब्र रुपमा अगाडि बढी रहेको बताउनुभयो । ‘हामी चार दल अब कुनै नकुनै रुपमा एक ठाउँमा आउँछौ नै त्यसमा अन्य दललाई पनि समावेश गराउन छलफल गर्न कार्यदल बनाउन लागेका छौ, उहाँले भन्नुभयो–‘मधेशवादी दलको यो अवस्था हुँदा अब चाही पक्कै चेत खुलेको हुनुपर्छ र एकताका लागि तयार हुन्छ ।’
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि मधेशवादी दलहरुको बीचमा विभाजन भएकै कारण यो अवस्था सृजना भएको निष्कर्षमा पुग्नु भएको छ । चुनावअघि एकता तथा मोर्चाबन्दीका लागि एकवर्षसम्म अभियान चलाउनु भएका अध्यक्ष ठाकुर चुनावपछि पनि एकतामै जोड दिनु भएको छ । पार्टीको कार्यसम्पादनको बैठकले पनि दलहरुको बीचमा एकता हुनुपर्ने र त्यसका लागि पार्टीले पहल गर्नुपर्ने निर्णय गरेको छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि दलहरुमा विभाजनका कारण निर्वाचनमा कमजोर भएको ठहर गर्दै एकीकरणमा जोड दिनु भएको छ । दलहरुको बीचमा एकीकरण नभएपनि मोर्चाबन्दी हुर्नैपर्ने उहाँको धारणा छ ।
त्यसैगरि मधेशवादी दलका युवा विद्यार्थीहरुको संयुक्त बैठकले पनि एकताका लािग आआफ्ना दलमा दवाव दिने निर्णय गरेको छ । सद्भवना पार्टीका महासचिव मनिष सुमनले युवा विद्यार्थीहरुको पहिलो चरणको बैठकले दलहरुको बीचमा मोर्चाबन्दी नभएको, एकता नभएको कारण निर्वाचनमा कमजोर भएको ठहर गरेको बताउनु भयो । उहाँले अब अर्को बैठक बसी कार्यदल बनाएर दलहरुलाई एकताका लागि दवाव दिने बताउनुभयो ।

No comments:

Post a Comment