Labels

Tuesday, December 24, 2013

पहाडमा चार आना र मधेशमा ८ धुर जमिन हुने सबै किसान

  • सुरेशकुमार यादव
काठमाडौ पुस ९ गते । केन्द्रिय तथ्यांक विभागले राष्ट्रिय कृषिगणना २०६८÷०६९ को नतिजा सार्वजनिक गरेको छ । विभागको कार्यालयमा मंगलवार पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको छैठो कृषिगणनाका लागि ५२ सय वडामा एकलाख २४ हजार चारसय कृषक परिवारलाई छनौट गरेको थियो ।
    विभागले कृषिगणनाका लागि जग्गाको चलन, उपयोग, स्थायी र राष्ट्रिय कृषिगणना २०६८ को नतिजाअस्थायी बाली, पशुपक्षीको स्थिति, कृषिकार्यमा प्रयोग भएको औजार र पूँजीगत विवरण, सिँचाई, कृषिऋण, उत्पादनको खाद्यपर्याप्त आदिवारे तथ्यांक संकलन गरेर गणनाको प्रतिवेदन तयार गरेको छ । प्रतिवेदन अनुसार नेपालमा ३८ लाख ३१ हजार कृषक परिवार छन् जसमध्ये एकलाख १६ हजार परिवारले खेतीपाती नगरेको उल्लेख छ । १० वर्षअघिको तुलनामा कृषक परिवारको सँख्यामा ४ लाख ६७ हजारले वृद्धि भएको छ ।

१० वर्षको तुलनामा कृषकको सँख्या बढेपछि कृषियोग्य जमिनको क्षेत्रफल घटेको छ । कुल कृषक परिवारले किसानीका लागि प्रयोगमा ल्याएको जग्गाको क्षेत्रफल २५ लाख २५ हजार हेक्टर रहेको छ, जुन १० वर्षका तुलनामा एकलाख २९ हजार हेक्टरले कम देखिएको छ ।  सबभन्दा बढी कृषि क्षेत्रफल भएका ५ जिल्लाहरुमा मोरगं, झापा, सर्लाही, सिरहा, सुनसरी छन् भने कम क्षेत्रफल भएका जिल्लाहरुमा मनाङ्ग, मुस्ताङ्ग, डोल्पा, रसुवा र हुम्ला रहेका छन् । दशवर्षअघि ०.८० प्रतिशत हेक्टर जमिन प्रयोगमा थियो भने ०६८ को गणनाअनुसार ०.६८ प्रतिशत हेक्टरमा झरेको छ ।
    खेतीयोग्य जग्गामध्ये अस्थायीवाली २१२३ हजार हेक्टर जमिन रहेको भने स्थायीवालीमा १६८ हजार हेक्टर जमिन रहेको छ । जोकि १० वर्षअघि अस्थायीवालीका लागि २३२६ हजार हक्टर तथा स्थायीवालीका ११७ हजार हेक्टर जमिन रहेको थियो । अस्थायीबालीमा तरकारीवाली, मसलावाली, नगदेवाली र आलुवालीका लागि जमिनको क्षेत्रफल बढेको छ भने अन्नवाली, धानवाली, गहुँवाली, मकैवाली, कोदोवाली, जौवाली, फापरवाली, कोषे तथा दालवाली र तोरीवालीका लागि जमिनको क्षेत्रफल घटेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार तरकारी खेती मात्र गर्ने परिवारका सँख्या १९ लाख ३१ हजार रहेको छ जो दशवर्षमा दोव्वर वृृद्धि भएको हो । सो तरकारी खेतीका लागि ८४ हजार हेक्टर जमिन प्रयोगमा ल्याएको छ जो १० वर्षका अवधिभन्दा ४० प्रतिशतले वृद्धि भएको छ । त्यसमध्ये सबभन्दा बढी जमिनमा तरकारी खेती हुने ठाउँ इलाम जिल्ला रहेको छ । त्यहाँ ४३९३ हेक्टरमा खेती हुन्छ भने झापामा ४०४४ हेक्टर, चितवनमा ३६९१ हेक्टर, धादिगंमा ३३८६ हेक्टर र मोरगंमा ३३२४ प्रतिशत जमिनमा तरकारी खेती हुने गरेको छ । सुन्ताला, केरा र स्याउको खेतीको क्षेत्रफल बढेको छ भने जुनार, कागती र आँपको घटेको छ । 
कृषियोग्य जमिनमध्ये बारा र रौतहट ९२–९२, सुनसरी र कैलाली ९०–९० र कञ्चनपुर ८९ प्रतिशत जमिन सिँचित रहेको प्रतिवेदनमा उल्लेख छ । खेतमा सिँचाईका लागि नदी र तलाउलाई ४८ प्रतिशत किसानले प्रयोगमा ल्याएका छन् भने ट्युबवेल र वोरिगंलाई ३० प्रतिशत, बाँध र रिजरभ्वयरलाई १६ प्रतिशत तथा अन्य र मिश्रितलाई ४ र २ प्रतिशत किसानले प्रयोगमा ल्याएका छन् ।
प्रतिवेदनअनुसार गाईगोरु ६४३० हजार, चौरी ४९ हजार, रागां भैसी ३१७४ हजार, बाख्रा एक करोड १० लाख, भेडा ६०८ हजार, बंगुर ८१८ हजार र कुखुरा २६२६८ हजारको सँख्यामा रहेको छ त्यसमध्ये विगत १० वर्षको तुलनामा बाख्रा, बंगुर÷सुँगुर, भेडा, कुखुरा र हाँसको सँख्या बढेको छ भने गाईगोरु, चौरी, रांगा÷भैसी र परेवाको सँख्या घटेको छ । कुल कृषकमध्ये २२ प्रतिशत परिवारले कृषि ऋण लिएको अवस्थामा छन् भने ४२ प्रतिशतले कृषि ऋण चाहिएको जनाएको छ । १० वर्षअघि मुख्य कृषकमध्ये ८ प्रतिशत महिला थिए भने यो गणनाअनुसार १९ प्रतिशत महिला मुख्य कृषक पुगेको छ । ८३ प्रतिशत कृषकको मुख्य आयस्रोत कृषि रहेको छ भने ६० प्रतिशत कृषकका आफ्नो उत्पादन वार्षिक उपभोगका लागि नपुग रहेको प्रतिवेदनमा उल्लेख छ ।
    हिमाल र पहाडका जिल्लामा कम्तीमा ४ आना र तराई मधेशमा ८ धुर क्षेत्रफल भएको कृषी योग्य जमिन जोसँग छ त्यसलाई कृषकको रुपमा गणना गरिएको छ । त्यस्तै जुनसुकै उमेरका कम्तीमा १ वटा गाई वा भैसी पालेको वा कम्तीमा ५ वटा भेडा बाख्रा, सुगुँर बगुँरजस्ता चौपाया पालेको भएमा वा चल्ला र माउ गरी कम्तीमा २० वटासम्म चराचरुगी पालेकाहरुलाई कृषकको रुपमा गणना गरिएको छ । 
    कृषिगणना छनौट विधिमा आधारित एक वृहत नमुना सर्वेक्षण हो । जुन ७५ जिल्लामा संचालन गरिएको थियो । नेपाल सरकारको पूर्ण बजेटमा गणना भएको सो कार्यक्रममा तीनहजार कर्मचारी खटिएको थियो । त्यसका लागि १३ करोड रुपियाँ खर्च गरेको छ । विभागका महानिर्देशक उत्तम नारायण मल्लका अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सचिव युवराज भुसालले प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो ।

No comments:

Post a Comment