Labels

Wednesday, December 18, 2013

को, कहाँ, कसरी बनाउँदैछन् मधेशी मोर्चा ?

  • सुरेशकुमार यादव

काठमाडौ पुस २ गते । दोस्रो सविधानसभाको चुनावपछि नराम्री हार व्यहोरेका मधेशवादी दलहरु शक्ति संचयका लागि एकताको प्रयासमा लागेका छन् । तीन दलबाट दर्जन टुक्रा भएका मधेशवादी दलहरुबीच एउटै मोर्चा वा एकीकरणको प्रयास भएपनि तीनवटा मोार्चा बन्ने संभावना बढेको हो ।


मधेश आन्दोलनपछि पहिलो पटक गठन भएको उपेन्द्र यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम नेपाल, महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी र राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टीबीचको लोकतान्त्रिक मधेशी मोर्चालाई पुनः जिवित गर्ने प्रयास भइरहेको छ भने अर्कोतिर मधेशका सानादलहरु राजकिशोर यादव अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम गणतान्त्रिक, अमर यादव अध्यक्ष रहेको तराई मधेश फोरम, अनिल झा अध्यक्ष रहेको संघीय सद्भावना पार्टी र सरिता गिरी अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीबीच छुट्टै एकीकरण तथा मोर्चाबन्दीको प्रयास भइरहेको छ ।


यता विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिक, शरत्सिह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टी र महेन्द्र यादव अध्यक्ष रहेको तराई मधेश सद्भावना पार्टीको बीचमा अन्यौलता देखिएको छ ।

मोर्चाको अनौपचारिकता दिनका लागि मंसिरको अन्तिम हप्ता एमाओवादीका गठबन्धनमा समेत रहेका उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोबीच छलफल पनि भएको थियो । छलफल सकारात्मक रुपमा आगाडि बढेपनि त्यो दिन मोर्चालाई औपचारिकता दिन सकेका थिएन । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई राजधानी बाहिर जानुपर्ने भएकाले मोर्चाका औपचारिकता दिन अर्को बैठकलाई सारिएको बुझिएको छ ।

सद्भावना पार्टीका महासचिव मनिष सुमनले पार्टीहरुको बीचमा एकताका लागि प्रयास भइरहेको छ, यदि त्यो सम्भव नभए मोर्चा पनि बनाइने छलफल भइरहेको बताउनु भयो । तीन दलका अध्यक्षहरुको बीचमा अनौपचारिक छलफल जारी छ, उहाँले भन्नुभयो–‘हामी महासचिव स्तरमा पनि बसियौं । कुरा सकरात्मक भएको छ । टुगों लगाउन अलि केही समय लाग्ने भएको छ । फोरम नेपालका प्रवक्ता रत्नेश्वर कायस्थले पनि अध्यक्षहरुको बीचमा अनौपचारिक कुराकानी भइरहेका छन् केही दिनमा यसको टुगों लाग्ने बताउनुभयो । फोरम नेपालका अध्यक्ष राजधानी बाहिर भएको र एक दुईदिनमा आएपछि पार्टीको बैठक बसि त्यसको टुगों लगाउने भएको छ ।

यी तीन दलको बीचमा चुनावअघि पनि पटक पटक एकीकरण अथवा मोर्चाका लागि प्रयास भएकै थियो तर पार्टीको अध्यक्ष को बन्ने विषयमा कुरा नमिल्दा त्यो सम्भव भएको थिएन ।

यता सना दलले आपसमा एकीकरणका लागि आठ सदस्यीय एक कार्यदल नै बनाएका छन् । र, यी चार दलका बीचमा एकीकरणका लागि आन्तरिक रुपमा छलफल पनि भइरहेको तराई मधेश फोरम नेपालका अध्यक्ष अमर यादवले बताउनुभयो । उहाँले पहिला आफूहरु एकीकरण वा मोर्चाबन्दी गर्ने त्यसपछि मात्र अन्य दलसँग कुराकानी गर्ने बताउनुभयो । दलहरु समानुपातिक सीट बारेमा छलफल गर्न पार्टीमा व्यस्त भएको कारण कुरा आगाडि नबढेको हो, समानुपातिको टुगों लाग्ने वित्तिकै टुगों लाग्ने बताउनुभयो ।
सविधानसभा चुनाव सकिने लगतै राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष भण्डारीले तमलोपा र फोरम लोकतान्त्रिकलाई एकताका लागि आह्वान गर्नु भएको थियो तर त्यो आह्वानमा मात्र सिमित रह्यो । रामस पार्टीका महासचिव रामेश्वर साहले आफ्नो पार्टीले ती दुई दललाई एकीकरणका लागि आह्वान गरेपनि उताबाट कुनै पहल नभएको गुनासो गर्नुभयो ।

उहाँले आफ्नो पार्टी तमलोपाका अध्यक्ष ठाकुरको नेतृत्वमा पार्टी एकीकरण गर्न चाहेको हो तर अन्य दल त्यसमा सकारात्मक नदेखिएको बताउनुभयो । फोरम लोकतान्त्रिकबाट एकवर्ष पहिले अलग भएको कारणले एकीकरण गर्न पनि सजिलो हुने भएकाले पनि त्यो आह्वान सकारात्मक हुनुपर्ने तर फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले भण्डारीका आह्वानप्रति कुनै वास्ता देखाउनु भएको छैन ।

पत्रकार सम्मेलनमा गच्छदारलाई यस विषयमा राखिएका जिज्ञासामा उहाँले भण्डारीले एकीकरणका लािग आह्वान गर्नु सकात्मक कुरा हो तर एकीकरण सम्भव छैन, कुनै खास एजेण्डा र मुद्दामा सहकार्य मात्र हुने प्रतिकृया दिनुभएको थियो । यता रामस पार्टीका महासचिव साहले तमलोपा र फोरम लोकतान्त्रिक पार्टीसँग आफ्नो पार्टीको एजेण्डा र मुद्दा मिल्ने भएकाले एकीकरण सजिलो हुने बताउनुभयो । उपेन्द्र यादवको पार्टी माओवादीसँग निकट रहेकाले उहाँसँग एकता सम्भव नरहेको पनि प्रतिकृया दिनुभयो ।

मोर्चाबन्दीका लागि फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले खासै पहल नगरेपनि सो पार्टीका वरिष्ठ उपाध्यक्ष रामश्वर राय यादवले व्यक्तिगत पहलमा मोर्चाबन्दीका लागि स्वयं गच्छदारदेखि उपेन्द्र यादवको पार्टी, राजेन्द्र महतो, ह्रदयश त्रिपाठीलगायतसँग कुरा गरेका गर्नुभएको छ । उपाध्यक्षका पहलप्रति सकारात्मक हुँदै गच्छदारले उपेन्द्र यादव राजधानी आउने वित्तिकै कार्यक्रमका आयोजना गर्ने भएको छ ।

No comments:

Post a Comment