Labels

Friday, December 13, 2013

सद्भावना पार्टीमा संजय साहको फरक मत



  • सुरेशकुमार यादव

काठमाडौ मंसिर २७ गते । चार दिनदेखि जारी सद्भावना पार्टीको केन्द्रिय समितिको बैठकमा सो पार्टीका उपाध्यक्ष संजय साहले फरकमत राखेपछि बैठक लम्बिने भएको छ ।

सविधानसभालाई प्रयोग गरेर संर्घर्षमा जाने पार्टीको लाइन रहेको र सोही विषयमा बैठकमा छलफल जारी रहेको बेला उपाध्यक्ष साहले एकाएक सविधानसभा बहिष्कार गरेर आन्दोलनमा जानुपर्ने प्रस्ताव ल्याएपछि बैठकले अर्को मोड लिएको छ । पदाधिकारीहरु बोल्ने विहिवार अन्तिम दिन उपाध्यक्ष साहले आफ्नो मन्तव्य राख्ने क्रममा यो सविधानसभाबाट पनि मधेश र मधेशीले कुनै अधिकार नपाउने भएकाले त्यसलाई बहिष्कार गर्नु नै राम्रो हुने प्रस्ताव राख्नु भएको बैठकमा सहभागि एक केन्द्रीय सदस्यले बताउनुभयो ।

सो पार्टीबाट उपाध्यक्ष साह मात्र एकजना प्रत्यक्षमा जित्नु भएको छ भने पाँच जना समानुपातिक सभासद् रहेका छन् । उपाध्यक्ष साहको प्रस्तावमा विहिवार बोल्ने एकदुईजना बाहेक कुनैपनि केन्द्रिय सदस्यहरुले समर्थन जनाएका छैन । बोल्ने अधिकाँश केन्द्रीय सदस्यहरुले सविधानसभा बहिष्कार गर्न नहुने धारणा राख्दै बरु सरकारको प्रतिपक्षमा बस्नुपर्ने धारणा राखेको एक नेताले बताउनु भयो । सविधानसभामा भाग लिएर प्रकृयामा जाने र त्यहाँ मधेशप्रति कुनै प्रकारको बेइमानी भयो भने सबैजना राजिनामा दिएर सविधानसभा बहिष्कार गर्दा उचित हुने धारणा राखेका थिए ।

  सद्भावना पार्टीले चुनावमा भएको धाँधलीलाई छानविनको माग गर्दै समानुपातिको नाम निर्वाचन आयोगमा पठाएको छैन । आयोग गठन नभएसम्म समानुपातिकको नाम नपठाउने अडानमा रहेको र त्यसकै विषयमा बहस चलिरहेको बेला पार्टीमा नयाँ विषय प्रवेश भएपछि बैठक लम्बिएर शनिवारसम्म चल्ने संभावना बढेको बताईन्छ । चारदिनसम्म चलेको बैठकमा चुनावको समिक्षा, पार्टीका अगामी रणनीति र पार्टीको कार्यदिशाको बारेमा छलफल चालिरहेको थियो ।

नेता साहले यथास्थितिवादीहरुको दुई तिहाई बहुमत भएको संविधानसभाले मधेसको मागलाई सम्बोधन गर्न नसक्ने भएकाले चुनाव बहिष्कार गरेर सडक आन्दोलनमा जानुपर्ने प्रस्ताव आफूले राखेको बताउनुभयो । उहाँले संविधानसभामा सहभागिता एक विकल्प हुनसक्छ तर जस्तो सविधानसभा बन्दैछ त्यसले मधेश केही पाउँदैन भने कुरा पनि सत्य हो त्यसैले अहिलेदेखि नै त्यसमा भाग नलिई आन्दोलनमा जानुपर्ने आफ्नो धारणा रहेको बताउनुभयो ।

No comments:

Post a Comment