Labels

Sunday, October 20, 2013

अध्यक्षका कारण फुटेका फोरमहरुको मुद्दा मिलेन






सुरेशकुमार यादव
काठमाडौ कात्तिक ३ गते । मुद्दामा होइन पार्टी अध्यक्षको कृयाकलापका कारण भनेर मधेशी जनअधिकार फोरम नेपालबाट अलग भएका दलहरु बीचमा अहिले आएर मुद्दा र विचार फरक भएका छन् ।
एउटै विचार र मुद्दामा पहिलो सविधानसभामा चुनाव लडेका ती दलहरु अगामी सविधानसभा चुनावका लागि तयार पारेको चुनावी घोषणापत्रमा सघीयता, शासकीय स्वरुपलगायतको विषयमा फरक देखिएका छन् । हाल अस्तित्वमा रहेका तीन दल उपेन्द्र यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम नेपाल, विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र राजकिशोर यादव अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम गणतान्त्रिकको बीच मुद्दामा फरक देखिएको छ ।
‘हाम्रो मुद्दा र विचार एउटै हो, अध्यक्षको कृयाकलापाका कारण अलग भएका हौ’ं भन्ने दलहरुमा संघीय गणतन्त्रका मुख्य विषय संरचना र शासकीय स्वरुपका विषयमा जनतामाझ अलग अलग अवधारणा लिएर गएका छन् । संघीयताका लागि एक मधेश एक प्रदेशको नारा दिएर मधेश आन्दोलन गरेका फोरम नेपाल एक मधेश एक स्वायत्त प्रदेशकै अडानमा छन् भने त्यसैबाट अलग भएका फोरम लोकतान्त्रिक मधेशमा दुई प्रदेशको अवधारणा ल्याएका छन् । अघिल्लो सविधानसभा चुनावमा अध्यक्ष गच्छदार पनि एकमधेश एकप्रदेशको नारा दिएर भाग लिएर दुई क्षेत्रबाट चुनाव जित्नु भएको थियो तर अहिले आफ्नै पार्टी बनाएर पहिलो पटक चुनावमा भाग लिनका लागि मधेशमा दुई प्रदेशको अवधारणा घोषणापत्रमा उल्लेख गर्नुभएको छ ।
फोरम नेपालले राज्यपुनःसंरचना आयोगले ल्याएको १० प्रदेशमा मधेशप्रदेश जोडेर ११ प्रदेशको अवधारणा अघि सारेको छ भने फोरम लोकतान्त्रिले भने मधेसमा मधेश प्रदेश र थरुहट प्रदेश गरी दुई प्रदेश र पहाडमा ८ प्रदेश गरी १२ प्रदेशको अवधारणा चुनावी घोषणापत्रमार्फत अघि सारेको छ । मधेश स्वायत्त प्रदेशको पक्षमा आफू पनि रहेको तर समग्र मधेशमा एउटै प्रदेश सम्भव नभएकाले थारुहट प्रदेश गरी दुई प्रदेशको खाका ल्याएको अध्यक्ष गच्छदारले भन्नुभयो ।
यता यस विषयमा फोरम नेपालको अवधारणा अलि फरक छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश एउटै हो दुईटा होइन त्यसैले एउटै प्रदेश हुनुपर्छ भन्ने पक्षमा आफ्नो दल रहेको बताउनुभयो । स्वायत्त मधेश प्रदेश भइसकेपछि मात्र अरु प्रदेश बनाउन कि के गर्ने छलफल गर्नुपर्ने तर अहिलेलाई स्वायत्त मधेश प्रदेश नै हुने स्पष्ट पार्नुभयो । उता फोरम गणतान्त्रिकले आफ्नो घोषणापत्रमा एक मधेश एकप्रदेशबाहेक अरु प्रदेशको बारेमा केही उल्लेख गरेका छैनन् । पार्टीका नेता सी.पी. सिहले आफूहरु  देशभरीको संघीय संरचनामा त्यति समय नखर्चेको बताउँदै आफ्नो पार्टी मधेश केन्द्रीत दल भएका कारण एकमधेश एकप्रदेशको अवधारणा लिएर चुनावी मैदानमा गएका र ै चुनावपछि अन्य प्रदेशको बारेमा निर्णय लिने बताउनुभयो ।
शासकीय स्वरुपमा फोरम नेपाल प्रत्यक्ष निर्वाचनबाट कार्यकारी राष्ट्रपति हुनुपर्ने भनेका छन भने फोरम लोकतान्त्रिकले भने व्यवस्थापिका संसदबाट चयन हुने कार्यकारी प्रधानमन्त्रीको पक्षमा रहेको छ । फोरम लोकतान्त्रिकका उपाध्यक्ष रामेशवर राय यादवले अहिलेको शासन प्रणाली नै सबभन्दा उत्तम रहेको बताउँदै अहिले राष्ट्रपति कार्यकारी नहुँदा त यस्तो अवस्था छ राष्ट्रपतिलाई कार्यकारी नै बनाएर ल्यायो भने देशको अवस्था कस्तो हुने ? त्यो सोचेर नै आफ्नो पार्टीले अहिलेको जस्तै संसदबाट निर्वाचित प्रधानमन्त्री र संसदबाटै निर्वाचित राष्ट्रपतिय प्रणालीको अवधारणा ल्याएको बताउनुभयो । तल्लो सदन र माथिल्लो सदन गरी दुई सदन केन्द्रमा भएजस्तै संघीय प्रदेशमा पनि त्यही व्यवस्था हुनुपर्ने पक्षमा फोरम लोकतान्त्रिक रहेको छ भने फोरम नेपाल केन्द्रमा दुई सदन र प्रदेशमा एक सदनको पक्षमा रहेको छ ।
शासकीय स्वरुपमा फोरम गणतान्त्रिक र फोरम लोकतान्त्रिकको अवधारणा मिल्दो जुल्दो छ । फोरम गणतान्त्रिकका नेता सिहले अहिलेकै जस्तै शासन प्रणालीको पक्षमा आफ्नो पार्टी रहेको बताउनुभयो । यी तीन दलको घोषणापत्र हालसम्म सार्वजनिक भएको छैन । फोरम नेपालले मंगलवार आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन् भने फोरम लोकतान्त्रिक र फोरम गणतान्त्रिकको अझै केही दिन लाग्ने बताइएको छ । अन्य दलहरु केन्द्रबाट आफ्नो घोषणा सार्वजनिक गरिरहेका छन् भने फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव आफ्नो गृहजिल्ला सिरहाबाट नै सार्वजनिक गर्ने तयारीमा रहेको नेता सिहले बताउनुभयो ।

No comments:

Post a Comment