Labels

Tuesday, October 22, 2013

ल्हारक्याल एमाओवादीमा


सुरेशकुमार यादव
काठमाडौ कात्तिक ५ गते । नेकपा एमाले नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री रहेका ल्हारक्याल लामा मंगलवार एकीकृत नेकपा माओवादीमा प्रवेश गर्नु भएको छ ।
एमाओवादी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लामाका साथ पूर्वमेयर तथा एमाले अनुशासन विभागका सदस्य रिषिराम शर्मा, पूर्व सभासद् टासी गुरुङलगायत नेताहरु प्रवेश गरेका छन् । ०६४ सालमा सिन्धुपाल्चोकबाट एमालेको तर्फबाट समानुपातिक बन्नु भएका लामा दोहोरो नागरिकता र पासपोर्ट बोकेको आरोपमा मन्त्री पदबाट निकालिएका थिए ।
कार्यक्रममा लामाले एमाले सरकारमा रहेको बेला आफूमाथि जुन आरोप लगायो त्यो निराधार रहेको दावी गर्दै आफूसँग दोहोरो नागरिकता र पासपोर्ट नरहेको समेत दावी गर्नुभयो । साथै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यको मोर्चामा रहेका बाबु घिसिङ नेतृत्वको नागरिक पार्टी र एमाओवादीबीच एकीकरण भएको छ ।
पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले देशको संक्रमणकाल हटाउन आफ्नो पार्टी नेतृत्व लिन तयार रहेको बताउँदै जनताको दुई तिहाई मत चाहिने भएको बताउनुभयो । उम्मेदवारी घोषणा भइसकेपछि पनि विभिन्न दलका नेता तथा कार्यकर्ताहरुको आफ्नो पार्टीप्रति बढेको आकर्षणले गर्दा आफ्नो पार्टी दुई तिहाई बहुमत ल्याउने दावी गर्नुभयो । राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि आफ्नो अगुवाई गरिरहेको र यसमा सबैको सहयोग चाहिने उहाँले उल्लेख गर्नुभयो ।
उहाँले आफू तीनचारवटा जिल्ला घुमेर आएको बताउँदै जनता चुनावमा झुमिसकेका छन् अब यसलाई कसैले रोकेर पनि रोक्दैन उल्लेख गर्नुभयो । मोहन वैद्यहरुको चुनाव विथोल्ने रणनीति फेल भएको स्थिति आफूले पाएको बताउँदै उहाँले उहाँहरु चुनाव रोक्नमा असफल भइसकेको बताउनुभयो ।

No comments:

Post a Comment