Labels

Saturday, November 8, 2014

तमलोपाभित्र तिब्र असन्तुष्टि




काठमाडौं, कात्तिक २० – तराई मधेश लोकतान्त्रिक पार्टीभित्र चुलिएको आन्तरिक विवाद समाधान नभएपछि सो पार्टीका सहमहामन्त्री जितेन्द्र सोनलले विवाद समाधान गर्नका लागि पार्टी अध्यक्ष महन्थ ठाकुर समक्ष १३ बुँदे माग तेर्साएको छ । पार्टीभित्र देखिएको गुट उपगुटले पार्टीको कुनैपनि क्रियाकलाप अगाडि नबढेको र पार्टी कुनै एक व्यक्ति र एकै समुदायको हातमा गएको आरोपहरु लागि रहेका छन् । पार्टीभित्र एउटा गुटको नेतृत्व सोही पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले गरिरहेका छन् भने अर्को गुटको नेतृत्व महामन्त्री एवं प्रवक्ता सर्वेन्द्रनाथ शुक्लाले गरिरहेका छन् ।   यी दुई गुटका चलखेलका कारण हालसम्म पार्टीले महाधिवेशन गराउन सकेको छैन भने प्रत्येक तीन महिनामा बस्ने केन्द्रीय समितिको बैठक लगभग १५ महिनादेखि बस्न सकेको छैन । कम्तीमा प्रत्येक महिनामा एक पटक बस्ने केन्द्रीय कार्य सम्पादन समितिको औपचारिक बैठक लगभग छ महिनादेखि बस्न सकेको छैन । पार्टीका अध्यक्ष ठाकुरले आफैले गरेका निर्णयलाई आफै उल्टाउन लागेकोमा उनको तिब्र विरोध हुन थालेको छ ।
  स्रोतका अनुसार एक पटक मन्त्री वा सभासद् भइसकेका व्यक्तिलाई मनोनित वा समानुपातिक सभासद् बनाउने निर्णय पार्टीले गरेको छ तर मन्त्रीपरिषद्बाट मनोनित एउटा सीट पाएका महन्थ ठाकुरले कविन्द्र ठाकुरलाई बनाउन तयारी गरिरहेका छन् । कविन्द्र ठाकुर यसअघिको सविधानसभामा पनि समानुपातिकबाट सभासद् भइसकेका थिए । पार्टीको निर्णय अनुसार नपाउनु पर्ने हो तर अध्यक्ष ठाकुरले ठूलै रकम लिएर उनलाई सभासद् बनाउन लागि परेको प्रति पनि पार्टीभित्र तिब्र आक्रोश देखिएको छ ।   जिल्लाहरुमा पटक–पटक अधिवेशनको तयारी हुन्छन् तर आआफ्नो गुटको व्यक्ति अध्यक्ष नभएपछि अधिवेशनलाई स्थगित गराउने गरेको पार्टी स्रोतले जनाएको छ । यी र यस्ता थुप्रै विवादका कारण पार्टी दिन दिनै कमजोर हुँदै गइरहेको छ । सहमहामन्त्री सोनलले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, संविधानसभाको प्रथम निर्वाचनबाट मधेशको दोस्रो ठूलो दलको रुपमा स्थापित हुन सफल भएपनि वृहत राजनीतिक शक्ति निर्माण गर्ने मुख्य अभिभारा बोकी गठन भएको तमलोपा दुई वर्षमै विभाजन हुन पुग्यो । विभाजन अत्यन्त दर्दनाक र पीडादायी रह्यो । विभाजनको कारणहरु के के हुन ? किन यो दुर्भाग्यपूर्ण घटना हुन गयो ? यसको आंशिक समिक्षा त भयो तर स्थायी समाधान, क्षतिपूर्तिको व्यस्थापन, कार्यकर्तामा पुनर्ताजगीका लागि उचित पहल हुन सकेन ।’   पार्टी विभाजन भएपनि त्यसप्रति पार्टी कहिले गम्भीर नभएको आरोप लगाउँदै सोनलले संविधानसभाको दोस्रो निर्वाचन आउँदासम्म पार्टीको अवस्था यति खस्कियो कि न हामीले पूर्ववत संख्या बचाउन सक्यौँ, न त मत बचाउन सक्यौँ भनि पत्रमा उल्लेख गरेका छन् । समानुपातिकमा पार्टीले पाएको सात सिटमा संसदमा प्रभावकारी भूमिका खेल्न सक्ने नेता, स्थापनाकालदेखि पार्टीमा काम गर्दै आएका नेता तथा कार्यकर्ता, पार्टीमा लगानी गर्ने कार्यकर्ता लगायतका जनशक्ति पार्टीसँग हुँदाहुँदै जसरी अपारदर्शी किसिमले सभासद चयन गर्नाले पार्टीको साख नै गिराएको उल्लेख गरेका छन् ।   संचारमा जसरी पार्टीको टिक्का टिप्पणी भएको छ त्यसले पुरै पार्टी निराशामा डुबेको छ । कार्यकर्तामा जोश छैन पार्टीमा विवाद बढ्दो छ । आकर्षणमा गिरावट आएको छ । जिल्ला कार्यकर्तामा पलायनताको अवस्था छ । नेतृत्वतहमा व्यापक असन्तुष्टी छ । कुनै जिल्लापार्टी कार्यालयमा तालाबन्दी छ भने कुनै जिल्लामा अध्यक्षको विवाद कायम छ । पार्टीका लागि यी विषयहरु गम्भीर छन् । यसमा सम्पूर्ण पार्टीको ध्यान केन्द्रित हुन जरुरी रहेको पत्रमा उल्लेख छ ।  
 आज पार्टी कार्यालयमा सहमहामन्त्री सोनलले बुझाएको ध्यानकर्षण पत्रमा सांगठनिक दृष्टिकोणले अत्यन्त महत्व राख्ने पार्टीका विभिन्न विभागहरुको अवस्था नाजुक रहेको उल्लेख गदैै दोस्रो संविधानसभाको निर्वाचन पछाडी केन्द्रीय स्तरमा पार्टी कार्यकर्ता, उम्मेदवार, केन्द्रीय समिति कसैसँग पार्टीको औपचारिक संवाद छैन । चुनावी समिक्षाको नाममा सरकारले गरेको धाँधलीबाहेक अरु केही गर्न, बोल्न, छलफल गर्न नसकेको दाबी गरिएको छ ।   निर्वाचन अगाडी तमलोपाकै प्रयासमा मधेशी पार्टीहरुको एकीकरण वा मोर्चाबन्दीको कुरा उठेपनि हालसम्म त्यसले कुनै निष्कर्ष ननिकालेको पनि दुख व्यक्त गरिएको छ । एमाओवादीसँग संघीय गणतान्त्रिक मोर्चा बन्यो त्यसले मधेशी दललाई नकमजोर बनाएको बताइएको छ । अध्यक्ष ठाकुरलाई सम्बोधन गर्दै भनेका छन, यथास्थितिबाट पार्टीलाई निकाल्न जरुरी छ र यथास्थितिमा पार्टी आगाडी बढ्न सक्दैन ।   सहमहामन्त्री सोनलले पार्टीको बैठक बोलाउन माग गर्दै केन्द्रिय कार्यसम्पादन समितिलाई पूर्णता दिन समेत माग गरेको छ । महाधिवेशनको मिति घोषणा, क्षमताको अधारमा कार्यविभाजन एवं जिम्मेवारी बाँडफाँड, पार्टी बिधानलाई लोकतान्त्रिक गरी सबै पदमा निर्वाचन गर्ने प्रावधानको ग्यारेन्टी, आर्थिक अवस्थाको पारदर्शीता तथा सुदृढीकरण लगायतका माग गरेका छन् ।   ध्यानाकर्षणपत्र बुझेपछि चिन्तित देखिएको अध्यक्ष ठाकुरले छोटो प्रतिकृया दिँदै सोनलाई भनेका थिए, तपाईहरु नै चलाउनुस्, अधिवेशनको दिन मिति तोक्नुस्, त्यसबाट नयाँ नेतृत्व बनाउनुस् र तपाईहरुले नै पार्टी चलाउनुस् ।’ 
ratopati

No comments:

Post a Comment