Labels

Saturday, November 8, 2014

भारत चुपचाप बस्यो भने सरकारलाई १० महिनामा घुँडा टेकाउँछौ

–जयकृष्ण गोइत
अध्यक्ष, जनतान्त्रिक तराई मुक्ति मोर्चा

माओवादी छाडेर २०६१ सालदेखि स्वतन्त्र तराईको माग गर्दै सशस्त्र आन्दोलनमा लागेका जयकृष्ण गोइत संयुक्त राष्ट्रसंघको मध्यस्थतामा सरकारसँग वार्ता गर्न चाहन्छन् तर सरकारले सो शर्तलाई वेवास्ता गर्दै आएका छन् । सरकारले विषेश सुरक्षा योजना लागु गरेपछि सशस्त्र गतिविधि सुस्ताएको छ यद्यपी गोइतले भारतको भूमिका खोजेका छन् उनी भन्छन्, भारत चुपचाप बसिदिए भने १० महिनामा नेपाली सरकारलाई घुँडा टेकाई दिन्छौ ।’ यही र यस्तै विषयमा रातोपाटीले भूमिगत रहेका गोइतसँग फोनमा गरेको कुराकानीको मुख्य अंश


तपाई फेरि सरकारसँग वार्ता गर्ने कुरा बाहिर ल्याउनु भयो वार्ताका लागि तयार भएकै हो त ?
–म तयार भएकै छैन । मलाई पत्रकारले (कात्तिक १६ गते) सोधेका कारण मैले सशर्त वार्ता गर्न तयार रहेको जवाफ दिएको मात्र हुँ, जो पहिलादेखिको अडान हो । संयुक्त राष्ट्रसंघको मध्यस्थतामा वार्ता गर्छु, । यसका लागि सरकारले वातावरण बनाउनु पर्यो, हाम्रा बन्दीहरु रिहाय गर्नु पर्यो, मुद्दाहरु फिर्ता लिनुपर्यो लगायतका शर्त पुरा गर्यो भने वार्ता गर्नका लागि तयार छु । 

यो त पुरानै शर्त हो तर सरकारले वास्ता गरेको छैन जस्तो देखियो नि ?
–सरकारले वास्ता नगरे के हुन्छ । सरकारले वास्ता देखाएको छैन भने हामी पनि घुँडा टेक्न गएका छैनौ । सरकारले आफ्नो काम गरिरहेका छन् हामीले आफ्नो काम गरिरहेका छौ । 

तपाई घुँडा टेकेको छैन भन्नुहुन्छ तर तपाई जस्तै थुप्रै समूहहरुले सरकारसँग वार्ता गर्न तयार भएका छन् वार्ता पनि गरिरहेका छन् यो के हो ?
–अरु अरुले वार्ता गरिरहेका छन् त्यसले हाम्रो आन्दोलन तथा अभियानलाई कुनै असर पारेको छैन । पहिलो कुरा ती वार्ता गर्ने सशस्त्र समुहहरु कस्ता छन् त्यो कुरा पनि बुझ्नुपर्ने हुन्छ । एउटा राजनीतिक दल गठन गर्नका लागि त्यसको पनि क्यारेटेरिया हुन्छ त्यसको पद्धति र सिद्धान्त हुन्छ । राजनीतिक दलहरु निर्वाचन आयोगमा दर्ता छन् त्यसले आआफ्नो प्रतिवेदन बुझाएका हुन्छन् सबैको आआफ्नो विधान छन् । त्यस्तै अलग मधेशका लागि सशस्त्र आन्दोलन गरिरहेकाहरुसँग पनि आफ्ना दस्तावेजहरु छन् आफ्ना सिद्धान्तहरु छन् तर अहिले वार्तामा बसेका समूहमध्ये कतिसँग अलग राष्ट्रका लागि दस्तावेज छन् तपाई गएर खोज्नुस् कसैसँग केही पाउनु हुन्न । त्यसैले उनीहरु वार्ता गरे पनि नगरेपनि हामीलाई केही फरक पर्दैनन् । उनीहरु राज्यबाट परिचालित समुहहरु थिए र आज राज्यसँग वार्ता गरिरहेका छन् । पूर्वाञ्चलका डिआईजीले पनि हिरालाल यादव र विरेन्द्र यादवको नामबाट चन्दा उठाउने काम गरेका थिए । धनुषाका डिएसपी रुद्रबहादुर न्यौपाने पनि सशस्त्र समुह खोलेका थिए । सिरहाको तत्कालिन सिडयो बालकृष्ण पन्थीले पनि सशस्त्र समुह परिचालन गर्नु भएको थियो । अहिले पनि नेपाल सप्ताहिकमा उहाँको अन्तवार्ता पढ्नसक्नुहुन्छ ।  

तपाईबाहेक अरु सबै सशस्त्र समूह राज्यबाट परिचालित हुन त ?
–अरु कुरा त म के भन्नु । तपाई ती .सशस्त्र समुहका संयोजकहरुसँग भेट्नुस् र स्वतन्त्र मधेशको बारेमाव कुरा गर्नुस् त्यसको दस्तावेजहरु माग्नुस् । प्रमाणहरु माग्नुस् उहाँहरुले के जवाफ दिनु हुन्छ त्यहीबाट तपाई प्रष्ट हुनुहुन्छ कि उहाँहरु कहाँबाट परिचालित हुन् । कुनै कसैसँग स्वतन्त्र मधेशको प्रमाण छैन । अनि तपाईले कसरी भन्नुहुन्छ सशस्त्र समुह । १९५० को सन्धिको धारा ८ मा तीनवटा आधारहरु छन् गोरखाल्याण्ड, ग्रेटर नेपाल र स्वतन्त्र मधेश । यी तीनटा आधारका बारेमा उहाँहरुसँग कुरा गर्नुस् त्यसको जवाफ दिनसक्नु भयो भने मात्र मान्छु उहाँ पनि स्वतन्त्र मधेशका लागि लडिरहेका हुन् । 

तपाईहरुको गतिविधि पनि सुस्तायो नि त । पहिला विज्ञप्तिहरु प्नि आउँथ्यो तर अहिले त्यो पनि आउन बन्द भएको छ यस्तो किन भयो ?
–तपाईको अनुमानमा के लागि रहेको छ ? तर तपाईले भनेको जस्तो छैन । तपाईको विश्लेषण अलि ब्रोड भएन । 

सुस्ताएको छैन भने त्यसको आधार के छ ?
–हाम्रो जुन भूबनौट छ त्यसले हाम्रो आन्दोलनलाई असर गरेको छ । हाम्रो भूबनौट भारतसँग जोडिएको छ । दिनदिनै भारत आवत जावत हुने गर्छन् । कोही विरामी भयो भने उपचारका लागि उतै जानुपर्छ । हाम्रा पनि केही साथीहरु विरामी पर्यो भने नेपालमा उचार गराउन सकिदैन त्यसको उपचारका लागि उतै जानुपर्छ । सन् १९५० सन्धिको धारा ६ र ७ मा उल्लेख भएको अनुसार विना राहदानी एक देशको नागरिक अर्को देशमा जान आउन पाइन्छ । अहिले पनि भारतमा ८० लाखको हाराहारीमा नेपालीहरु बसिरहेका छन् विनारोकटोक । नेपाली काँग्रेसको नेतृत्वमा राणा विरोधी भएको सशस्त्र संघर्ष, पंचायती विरोधी भएको सशस्त्र विद्रोह, एमाओवादी नेतृत्वको सशस्त्र जनयुद्ध, यी आन्दोलनहरुमा भारतको जे भूमिका थियो, त्यही भूमिकामा हाम्रो लागि पनि भारत बसिदियो भने दशवर्ष त के १० महिनामा नेपाली शासकलार्ई निस्तेज पारि दिन्छौ । यद्यपी तपाईले सुस्ताएको कुरा गर्नुभयो । हामी सुस्ताएको छ्रैनौ । हामीले पछिल्लो समय गरेका क्रियाकलापका थुप्रै उदाहरणहरु छन् । माधव नेपाल प्रधानमन्त्री भएको बेला तराईका लागि विशेष सुरक्षा नीति ल्याएको थियो । त्यसपछि हामीले पनि रणनीतिमा परिवर्तन ल्याएका थियौं । तराईका महानधर्तीपुत्र नेपालका गणतन्त्रका लागि सशस्त्र संघर्षका प्रणेता स्व.रामराजाप्रसाद सिहकै सिद्धान्त हामी लागु गर्यौ । उहाँले हतियार भन्दा विष्फोटक समाग्री नै युद्धका लागि उपयुक्त भन्नुहुन्थ्यो । २०६९ सालमा सिरहा लहानको गुधौली होटल, राजविराजको जिल्ला अदालत, सिरहाको खड्का होटलमा विष्फोट गराउँदा हामी पूर्णरुपमा सफल भएका थियौ । नेपाली सुरक्षाबाट कुनै रोकटोक भएन । त्यसपछि २०७० सालमा महोत्तरीको मलगंवामा मधेशी जनअधिकार फोरम नेपालको पार्टी कार्यालयमा भौतिक कारवाही गर्यौ, प्रहरीको कुनै अवरोध भएन । त्यहीको नापी कार्यालयमा विष्फोट गराए । नेपाल प्रहरी तथा सुरक्षाकर्मीको शाक्तिको मापन गरिसकेका छौ । तर भारत न्युट्रल बसि दिनुपर्यो ।  

अहिले भारतको सहयोग छैन तपाईलाई ?
–मैले भारतको सहयोग चाहेको छैन । मेरो साथीहरु विरामी पर्यो भने उपचार गराउन दिनुपर्यो हामीसँग आतकंवादी जस्तो व्यवहार गर्नुहुँदैन । आतंकवादीसँग हामीलाई साट्नु हुँदैन । हामीले चाहेको त्यति हो । हामीलाई भट्कलसँग साटेको छ, के हामी र भटकलमा फरक छैन ? हाम्रो राजनीतिक उद्देश्य छैन ? छ, किनभने हामी आतकंवादी होइन । हामी राजनीतिक शक्ति हौं । हामी आफ्नो अधिकारका लागि संघर्ष गरिरहेका छौ । राणा विरोधी आन्दोलनमा भारत भूमि प्रयोग भएकै हो, माओवादी जनयुद्धमा भारतको भूमि प्रयोग भएकै हो । हामी चाहन्छौ कि भारत न्यूटरल बसि दियोस् । नभए, सन् १९५० को सन्धिलाई खारिज गरि दिनुपर्यो, सीमामा तारबार लगाई दिनुपर्यो । दुई देशमा आवत जावत गर्न रोक लगाउनु पर्यो । सन् १९५० को सन्धिको धारा ८ को आधारमा ग्रेटर नेपालको कुरा गरेको छ । त्यसमा टिस्टादेखि मेचीसम्म, महाकालीदेखि सतलजसम्म जोडिएको क्षेत्रलाई ग्रेटर नेपाल भनिएको छ । उनीहरु यो कुरा उठाउँदा विखण्डनकारी भएन अपराधी वा देशद्रोही होइन, हामी मेचीदेखि महाकालीसम्मको कुरा उठाउँदा हामी विखण्डनकारी, देशद्रोही ! नेपालमा सन् १९५० सन्धिको धारा ८ को दोहोरो मापदण्ड देखिएको छ । नेपालीहरु खुलेआम शान्तिवाटीका ग्रेटरनेपालका लागि हस्ताक्षर अभियान चलाउँदा उनीहरु विखण्डनकारी भएन । हामी स्वतन्त्र मधेशका लागि हस्ताक्षर अभियान चलायौं भने नेपाली शासकको नजरमा देशद्रोही र विखण्डनकारी हुन्छौ । नेपालको नक्सामा पनि ग्रेटर नेपालको नक्सा दिएको छ आधार दिएको छ । त्यही नक्सामा हामी स्वतन्त्र मधेशको नक्सा बनायौ भने हामी देश द्रोही भयौ । 

यस विषयमा भारतसँग कुनै कुराकानी भएको छ कि छैन तपाईहरु को ?
–हामीले किन गर्ने भारतसँग कुरा ? शान्ति मैत्रीको कुरा नेपालसँग भएको छ हामी भारतसँग किन कुरा गर्ने ? हामी नेपालसँग कुरा गर्छौ । 

तपाईले जुनकुराहरु भारतको बारेमा उठाउनु भयो त्यो कुराको जानकारी भारतलाई नदिएसम्म उनीहरुले कसरी थाह पाउँछ ?
–हामी भारतलाई होइन, तराईका जनतालाई जानकारी गराई रहेका छौ । संयुक्त राष्ट्रलाई जानकारी गराई रहेका छौ । हामी स्वतन्त्र देशको लडाईमा छौ । त्यसका मान्यता तराईवासी र संयुक्त राष्ट्रले दिन्छन । हामी भारतलाई किन जानकारी दिने ? नेपालको राजधानी काठमाडौमा भारतीय विस्तारवाद मुर्दावाद जुन लेखिएका हुन्छन् त्यो मसी पनि भारतकै हुन्छन् तर उनीहरु नै भारतको विरुद्धमा ठुला ठुला कुरा गरेका हुन्छन् तर हामी तराईवासीको सम्बन्ध भारतसँग विशेष प्रकारको रहेको छ । त्यो कुरामा भारतले ध्यान दिनुपर्यो ।

हालै सिके राउतले पनि स्वतन्त्र मधेशका लागि अभियान चलाएका छन् हाल उनी जेलमा छन् यसको बारेमा के भन्नुहुन्छ ?
–सिके राउत तराईका महानधर्ती पुत्र हुन् । तराईको कुरा बुझेर त्यसको स्वतन्त्र गराउन कुरा उठाउनु भयो । 

तर आफ्नो अडानबाट ब्याक हुनुभयो नि उहाँ ?
–कस्तो कुरा गर्नु हुन्छ तपाई, कहाँ ब्याक हुनुभएको छ उहाँ ?  पदमरत्न तुलाधर पंचायतका लागि शपथग्रहण गर्नुभयो तर भित्र गएर त्यसको विरोध गर्नुभयो । उहाँलाई सोध्दा तपाई त पंचायतको सपथग्रहण गर्नुभयो भन्दा उनले त्यो विवशतको सपथ ग्रहण थियो । प्रहरीको कस्टडीमा, राज्यको कस्टडीमा जवर्जस्ती के के भन्न लगाउँछ त्यो मुख्य कुरा होइन । बन्दुकको नालमा राखेर कुनै कुरा बक्न लगायो भने त्यहाँ विवशत हुन्छ भन्नुपर्छ तर मिसन फेल हुँदैन, मिसनबाट ब्याक हुँदैन । 

उहाँ जेल बस्न किन तयार हुनुभयो त ?
–सबै कुरा भन्न मिल्दैन । जेल बस्नु पनि हाम्रो रणनीति हो । जेल किन बसे, नबसे, कहाँ बस्नुपर्छ, कहाँ बस्नुपर्दैन यी सबै हाम्रा रणनीतिहरु हुन् ।  उहाँ जेलमा बस्नु भएको छ कि बस्न लगाएको छ ? २०७० जेठ ६ गते झापाका एकजनाले सगरमाथाको चचुरोमा गएर ग्रेटर नेपालको झण्डा फहराए । त्यहाँबाट आएपछि उहाँलाई राज्यबाट सम्मान गर्यो । नेपालका वरिष्ठ नक्साविद् बुद्धिनारायण श्रेष्ठले पनि रातो टिका लगाए । उनी ग्रेटर नेपालको झण्डा फहराउँदा देश द्रोही भएन । सिके राउतले स्वतन्त्र मधेशको कुरा गर्दा देशद्रोही कसरी हुन्छ ? एउटै देशमा दुईटा कानुन ! यही नेपालमा एउटा नेपाली हतियार उठाएर फौजी कारवाही गर्दा क्रान्तकारी हुन्छ त्यही एउटा मधेशी शान्तिपूर्ण ढंगबाट कुरा उठाउँदा अपराधी हुन्छ यो कस्तो न्याय हो । 

मधेशवादी दलको क्रियाकलापको बारेमा के भन्नुहुन्छ तपाई ? 
–उहाँहरु अधिकारका लागि होइन सत्ताका लागि राजनीतिक गरिरहेका छन् । सत्ताका लागि नागों नाच नाचिरहेका छन् । दोस्रो सविधानसभामा यसरी फेल हुनुभयो जसले मधेशको राजनीतिलाई नै लज्जित बनाएको छ । यसरी हारेर आएपनि सत्ताकै लागि राजनीतिकमा लागेका छन् । 

तपाईहरुको सशस्त्र आन्दोलनमा मधेशवादी दलको कतिको सहयोग रहेको छ ?
–सहयोग होइन, सोध्नुस् न कतिको दुख दिइरहेको छ । अन्तरिम सविधान निर्माण भइरहेको बेलामा मधेशवादी दलले जनसँख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्छ माग गर्नुभयो । उहाँहरुको मागको अनसुनी गरेर २०६३ पुस १ गते अन्तरिम सविधानको मस्यौदा ल्यायो । त्यसपछि नेपालगञ्जको घटना भयो । त्यो सफल भएन । त्यसपछि मधेशी जनअधिकार फोरम नेपालले माघमा आन्दोलन शुरु भयो । २०६४ भदौ १४ गते २२ बुँदे सम्झौता भयो । त्यो सम्झौताको भोलीपल्ट नै प्रचण्डले त्यसको विरोध गर्नुभयो । त्यो कार्यान्वयन भएन । त्यसपछि फेरि काँग्रेस, राप्रपा, सद्भावना र एमाले छाडेका नेताहरुले तमलोपा गठन गर्नुभयो र फागुन १ गतेदेखि पुनः दोस्रो आन्दोलन शुरु गर्यो । त्यसपछि फागुन १६ गते ८ बुँदे सम्झौत भयो । त्यसको ६ नं. बुँदमा सशस्त्र समूहसँग सरकारले वार्ता गर्नुपर्ने उल्लेख छ । उहाँहरुले आफ्नो ८ बुँदे र २२ बँुदे सम्झौता लागु गराउनु सक्नु भएन । सत्तामा लिप्त हुनुभयो । अर्को कुरा सरकारको वर्ता टोलीमा मधेशवादी दलको प्रतिनिधि हुनेगर्छ । प्रचण्ड प्रधानमन्त्री भएको बेला एमालेबाट रामचन्द्र झा, फोरमबाट रेणु यादव पछि मृगेन्द्र यादवपनि थपिनु भयो । उनीहरुले आफ्नो माग पुरा गराउन सकेन र हामीसँग वार्ता गर्न आउनुभयो । वार्ता भयो तर कुनै सम्झौता कार्यान्वयन भएन । उल्टै विशेष सुरक्षा योजना लागु गरि शृङ्खलाबद्ध हत्या भयो मधेशमा । यो अपराधको नैतिक जिम्मेवारी मधेशवादी दलले पनि लिनुपर्छ किनभने ती सबै सरकारमा उनीहरुको जवर्जस्त उपस्थिति थियो । 

भनिन्छ, जेपी गुप्तको सहयोग छ त तपाईलाई ?
–कस्तो कुरा गर्नुहुन्छ तपाई, कुनै सहयोग छैन जेपी गुप्ताको । जेपी गुप्ताले गोइतले हतियार विसाएर शान्ति प्रकृयामा आए, विखण्डनको आन्दोलन छाड्यो भने म सपोर्ट गर्छु भन्नु भएको थियो । शुरुदेखि एमाओवादी छाडेदेखि स्वतन्त्र तराईका लागि आन्दोलन गरिरहेको छु । जेपी गुप्ताले आफूमाथि लागेको दागलाई छोडाउनका लागि उनले मेरो नामको सहारा लिइरहनु भएको छ । मलाई कुनै प्रकारको सहयोग गरिरहेका छैन । आफू अप्ठ्यारो भएपछि मधेश अलग हुनसक्छ भने कुरा ल्याउनु हुन्छ, सजिलोमा पर्यो भने अरुले विखण्डनको कुरा गर्यो भनि राख्नु भएको छ । यो उहाँको राजनीतिक द्धेध चरित्र हो । 

उहाँले मधेशमा चलाईरहेको अभियानको बारेमा के भन्नुहुन्छ ?
–त्यसको बारेमा के टिप्पणी गरौ । उहाँ चुनाव लड्नुबाट बञ्चित हुनुभएको छ अनि अभियानको नाममा सगठन बनाइरहनु भएको छ जसरी विगतमा मधेशी जनअधिकार फोरमले गरेका थिए । राजनीतिक प्राणी हो राजनीतिक गर्नका लागि जनताको माझमा जानका लागि अभियान चलाइरहनु भएको छ । 

अहिलेको सविधानसभाबाट सविधान बन्छ कि बन्दैन तपाईलाई के लाग्छ ?
–हेर्नुस् तपाई विषयान्तर हुनुहुन्छ । नेपालमा के भइरहेका छन् मलाई के थाह । म नेपालको नागरिक नै होइन भने सविधान बनोस् या नबनोस् मलाई के मतलब जुन भोज नखाने त्यो भोजमा भैसी नै मरोस मलाई के मतलब ।    
ratopati

No comments:

Post a Comment