Labels

Wednesday, November 12, 2014

सरकारमा जाने बारे यस्तो छ मधेशवादी नेताको गुदी कुरा


संयुक्त प्रस्तावबारे आफ्नै पार्टीबाट अलोचना खेप्न थालेपछि सत्ताधारी दलका नेताहरुले त्यसलाई कमजोर पार्न र एमाओवादी नेतृत्वको २२ दलीय मोर्चालाई तोड्न अहिले नयाँ रणनीति अघि सारेका छन् । सत्ताधारी दल काँग्रेस र एमालेले मोर्चामा आवद्ध मधेशवादी दलका नेताहरुलाई सरकारमा आउन प्रलोभन दिइरहेको खुलासा सो दलका नेताहरुले आफै गरेका छन् ।
सरकारलाई समावेशी बनाउने नाममा एमालेका अध्यक्ष केपी ओलीले स्वयं मधेशवादी दलका नेताहरुसँग भेटेर सरकारमा आउन प्रस्ताव गरेका छन् भने उता काँग्रेसका महामन्त्री कृष्ण सिटौला र सोही पार्टीका नेता आमोदप्रसाद उपाध्यायले मधेशी नेताहरुसँग भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका छन् ।

प्रधानमन्त्री सुशिल कोइराला, एमालेका अध्यक्ष ओलीले स्वयं एक कार्यक्रममार्फत मधेशवादी दललाई सरकारमा ल्याउने तयारी भइरहेको बताएका थिए । आमोदप्रसाद उपाध्यायले त रिर्पोटर्स क्लवको कार्यक्रममा नै मधेशवादी दल सरकारमा आइरहेको खुलासा गरेका थिए । तर, मधेशवादी दलका नेताहरु भने यो मान्न तयार छैनन् । उनीहरु भन्छन्, सरकारमा जाने नजाने कुनै प्रकारको कुराकानी कसैसँग भएको छैन ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २२ दलीय मोर्चालाई कमजोर बनाउन सत्ताधारी दलको यो रणनीति हो, यो भ्रममा कोही पनि पर्न नहुने बताए । २२ दलीय मोर्चाले आन्दोलनको गति लिन थालेपछि सत्ताधारी दलले कुनै कुनै मधेशी नेताहरुलाई बोलाएर लोभ लालच दिएको होला तर पार्टीगत रुपमा कसैसँग कुरा भएको छैन, अध्यक्ष यादवले भने, विगतमा मधेशी दलहरु सत्ताको लालच देखाएको कारणले होला अहिले पनि काँग्रेस र एमालले त्यही ठानेर नेताहरुलाई भेटेर लोभ दिइरहेका छन् ती लोभमा मधेशवादी दलका कुनै नेता फँस्न सक्छ तर दलीय हिसाबमा कसैसँग कुनै कुराकानी भएको छैन । सविधान निर्माण नहुञ्जेलसम्म सरकारमा जाने कुरै हुँदैन भनि मोर्चाको निर्णय नै हो ।’
फोरम नेपाल लोकतान्त्रिका उपाध्यक्ष जितेन्द्र देवले पनि यो मधेशको मुद्दा र मधेशी एकतालाई कमजोर पार्ने सत्ताधारीको रणनीति हो, अहिलेको अवस्थामा मोर्चामा रहेका दलहरु कुनै पनि हालतमा सरकारमा नजाने बताए । कुनै नेता व्यक्तिगत रुपमा कसैसँग कुराकानी गरेको हुनसक्छ, मधेशी दलमा पनि थुप्रै लोभी र सत्ताभोगीहरु छन् उनीहरुले कुरा गरेको हुनसक्छ तर आधिकारीक रुपमा कसैसँग कुराकानी नभएको बताउँदै उपाध्यक्ष देवले मधेशीलाई लोभ्याउने प्रपंच मात्र भएको बताए ।
तराई मधेश लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष ह्रदयश त्रिपाठीले मधेशी एकतालाई कमजोर गर्ने सत्ताधारीको यो रणनीति मात्रै हो, यो हल्ला फिजाएर बदनाम गराउने दुष्प्रयास गरेको आरोप लगाउँदै तमलोपा सरकारमा जाँदैछ भने कुरामा कुनै सत्यता नरहेको दावी गरे । सत्ताधारी दलसँग आफ्ना पार्टीका कुनै नेतासँग त्यस्तो कुनै प्रकारको कुराकानी समेत नभएको बताउँदै उनले काँग्रेस र एमालले भ्रम फैलाउने काम गरेको दावी गरे ।
यता २२ दलीय मोर्चाभन्दा बाहिर रहेका मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवको पनि सरकारमा जाने चर्चा रहेको छ । अध्यक्ष राजकिशोर यादवसँग काँग्रेसको कुराकानी भएको स्वयं यादव पनि स्वीकार्छन् । काँग्रेसका नेताहरुसँग कुरा गर्दा उनीहरुले सरकारमा आउन आग्रह गरेको हो तर आफूले अस्वीकार गरेको दावी गरे । अहिलेको समय सरकारमा जाने होइन, सविधान निर्माण गर्ने हो जवाफ दिएको बताउँदै अध्यक्ष राजकिशोर यादवले मधेशको मुद्दा र मधेशको एकतालाई कमजोर बनाउन फिजाएको यो हल्ला मात्र रहेको बताए ।
ratopati

No comments:

Post a Comment