Labels

Thursday, February 20, 2014

भोलीदेखि माछा महोत्वस

सुरेशकुमार यादव
काठमाडौ फागुन ८ गते । फागुन नौ गतेदेखि ११ गतेसम्म नेपालमा पहिलोपटक माछा महोत्सव हुने भएको छ । भोलीदेखि चारदिनसम्म भृकुटीमण्डपमा हुने राष्ट्रिय माछा महोत्सव तथा परिकार प्रतियोगितामा पच्चीसभन्दा बढी स्टल राख्ने व्यवस्था गरिएको छ ।
बुधवार पत्रकार सम्मेलनमा गराइएको जानकारी अनुसार महोत्सवमा माछाका परिकार, बनाउने विधि तथा बिक्रि, जिउँदो तथा ताजा माछा बिक्रि, एक्वारियम सामाग्री तथा रंगीन माछा बिक्रि, माछा पालनका विविधि प्रविधि प्रर्दशनी तथा जानकारी, पानी परीक्षण तथा माछाको रोग परीक्षण, माछाका दाना, औषधी, उपकरणको बिक्रिको व्यवस्था गरिएको छ ।

नेपाल फिसरिज सोसाइटी, नेपाल मत्स्य व्यवसायी संघ, मत्स्य विकास निर्देशनालय, नेपाल कृषि अनुसन्धान परिषद(नार्क), कृषि तथा वन विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय तथा कृषि उद्यम केन्द्रको संयुक्त आयोजनामा महोत्सव हुन लागेको छ ।
नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष तुलसीराम गिरीले माछा उत्पादन तथा बजारीकरणलाई प्रवद्र्धन गर्न पहिलो पटक माछाको महोत्सवको आयोजना गरिएको बताउनु भयो । नेपालमा पानीको उपलब्धताका कारण माछा उत्पादन गर्न सक्ने प्रचुर सम्भावना भएको जानकारी गराउदै उहाँले व्यवसायिक रुपमा माछा पालन, यसका विभिन्न परिकार, उपकरण तथा रोगहरुकाबारेमा सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले महोत्सव गर्न लागिएको बताउनुभयो ।
नेपालीले अहिले पनि राम्ररी खान नसकेको जानकारी गराउदै फिसरिज सोसाइटीका अध्यक्ष प्राध्यापक डा. माधवकुमार श्रेष्ठले माछालाई तारेर, झोल बनाएर, उसिनेर, मासुको बारालगायतका परिकार बनाएर खान सकिने बताउनु भयो । खसीको मासुभन्दा माछा मानवस्वास्थयका लागि निक्कै लाभदायक भएकाले साना केटाकेटीदेखि बृद्धसम्मले माछा खानुपर्ने सुझाव उहााले दिनुभयो ।
मत्स्य विकास निर्देशनालयका निर्देशक रामानन्द मिश्रले महोत्सवको माध्यमबाट माछाको व्यवसायिकरण गर्न उद्योगहरुलाई भित्र्याउने योजना रहेको बताउनुभयो । उहाँले शुद्ध र ताजा माछा चिन्न सक्ने गुण जानकारी नभएका कारण उपत्यकाबासी गुणस्तरहिन माछा खरिद गर्न बाध्य भएको बताउनुभयो ।
निर्देशक मिश्रकाअनुसार विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नेपालीलाई प्रतिबर्ष २८ किलो माछाको आवश्यक छ । तर अहिले प्रत्येक नेपालीको भागमा दुई किलोमात्र भाग पुग्छ । पछिल्लो समयमा जनसंख्याबृद्धिसँंगै माछाको माग पनि बढेकाले माग पुरा गर्न भारतबाट आयात गर्नुपरेको जानकारी गराउदै उहाँले माछाको हालको बृद्धिदर बार्षिक साढे ८ प्रतिशतबाट आगामी पाँच वर्षमा १७ प्रतिशतमा पुरयाउन सके आयात प्रतिस्थापन गर्नुका साथै निर्यातसमेत गर्न सकिने बताउनुभयो ।
 नेपालमा बार्षिक २ अर्ब रुपैयांभन्दा बढीको करिब ८ हजार ७ सय मेट्रिक टन माछा विभिन्न मुलुकबाट आयात हुन्छ । नेपालमा ८ हजार हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा ५७ हजार मेट्रिक टन माछा उत्पादन हुंदै आएको छ । त्यसमध्ये ३६ हजार मेट्रिक टन व्यवसायिक रुपमा पालेर र बांकी २१ ह्जार मेट्रिक टन प्राकृतिक जलाशयबाट उत्पादन हुन्छ ।

No comments:

Post a Comment