Labels

Saturday, February 22, 2014

उपेन्द्रले भने, एकीकरण हुन्छ

काठमाडौ फागुन ९ गते । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तीन पार्टीवीच पार्टी एकीकरण गर्ने सहमति भइसकेको बताउँदै एकीकृत पार्टीको सिद्धान्त, एकीकरणको लक्ष्य, मूलभूत राष्ट्रिय मुद्दालाई हेर्ने दृष्टिकोण र संगठनात्मक संरचनामा छलफल भइरहेको बताउनु भएको छ । 
रिर्पोटर्स क्लवले शुक्रवार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा अध्यक्ष यादवले कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल सकेर एकीकृत पार्टीको सिद्धान्त र विचारमाथि छलफल शुरु भएको बताउनुभयो । उहाँले कार्यदलले विभिन्न विकल्पसहितको रिपोर्ट मात्र दिएको तर ,  कसैलाई पनि अध्यक्ष, उपाध्यक्ष बनाइनसकेको प्रष्ट पार्नुभयो ।

उहाँले मन्त्रीपरिषद्बाट मनोनित हुने २६ संविधानसभा सदस्यमा बढी भाग पाउन र कुनै एक व्यक्तिलाई सम्मानित गराउनैको लागि पार्टी एकीकरण हुनगइरहेको छैन, मधेशको अधिकार रक्षाका लागि तथा सविधान निर्माणका लागि तीन दलबीच एकीकरण हुनलागेको हो भन्नुभयो । 
उहाँले मधेशवादी दलको एकीकरण सत्ता र कुर्सीका लागि मात्र भइरहेको भन्ने कुरा गलत  भएको उल्लेख गर्दै  त्यसैको लागि एकीकरण गर्न लागिएको भए एकीकरण गरेर काँग्रेसको नेतृत्वमा सहभागि हुन्थ्यौं भन्नु भयो । 
 स्थानीय निकायको निर्वाचनमा धाँधली गरेर कब्जा गर्ने दुर्नियत राखेर काँग्रेस र एमालेले  गृहमन्त्रालयलाई विवादको विषय बनाएको आरोप लगाउँदै उहाँले भन्नुभयो–स्थानीय चुनावमा धाँधली गर्ने नियतले गृहमा दुबै दलले अडान लिएका हुन । यस्तो ब्यवहारले  मुलुकलाई अराजकतातर्फ धकेल्छ । 
सरकार गठनको सन्दर्भमा नेपाली काँग्रेस र नेकपा एमालेवीच भएको सात बुँदे सहमति संविधान र राजनीतिक सस्कृति विरुद्ध भएकोले सरकार निर्माणमा समस्या आएको उहाँले बताउनुभयो ।  अध्यक्ष यादवले संविधान निर्माणप्रति प्रमुख दलहरुको ध्यान नदेखिएको भन्दै विघटित संविधानसभाले गरेका कामको स्वामित्व ग्रहण गरेर तदारुकताका साथ काम नगरिए चार वर्षमा पनि संविधान निर्माण हुन नसक्ने ठोकुवा गर्नुभयो । 

No comments:

Post a Comment