Labels

Tuesday, August 5, 2014

भारत पुगेर के भन्यो मोदीले ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्रोतसाधन, प्रतिभा र विविधताको धनी रहेको नेपाल चाँडै नै स्थिर, समावेशी र समृद्ध राष्ट्र बन्ने र त्यो दक्षिण एसियाकै लागि गर्व र बाँकी विश्वका लागि उत्पे्ररणा हुने बताउनुभएको छ ।

दुई दिने नेपाल भ्रमणबाट सोमबार फर्किएलगत्तै नयाँदिल्लीमा जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्री मोदीले नेपालसँगको आफ्नो व्यक्तिगत सम्बन्धमा भ्रमणले नयाँ आयाम थपेको जनाउनुभएको छ ।


नेपालको संविधानसभाका सदस्यहरूसँग साक्षात्कार गर्न पाउँदा आफू सम्मानित भएको र नेपालमा पाएको अद्वितीय माया र सद्भावले आफूलाई घरमै पुगेको जस्तो अनुभूति भएको उहाँले सो विज्ञप्तिमा जनाउनुभएको छ ।

उहाँले दुईदिने भ्रमणमा राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि नेपालमा सबैको समान मत रहेकोे आफूले पाएको उल्लेख गर्नुभएको छ ।

नेपाल र भारत मिलेर दुई देशबीचको सम्बन्धको नयाँ जग बसाउनुपर्नेमा जोड दिँदै उहाँले त्यसले एक्काइसौँ शताब्दीका अवसर र चुनौतीहरूलाई सम्बोधन गर्न दुवै देशलाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

“दुई देशको दीर्घकालीन लक्ष्यलाई यथार्थतामा परिणत गर्न र प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्न मैले कुनै कसर बाँकी राख्ने छैन,” मोदीले विज्ञप्तिमा भन्नुभएको छ ।

आगामी सार्क सम्मेलनमा सहभागी हुन नेपाल पुनः फर्कन र काठमाडौँबाहेक नेपालका अन्य स्थानको पनि भ्रमण गर्न आफू आतुर रहेको पनि उहाँले जनाउनुभएको छ । नेपाल र भारतबीच राजनीतिक सम्बन्ध थप दिगो बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ ।

नेपाली जनताले आफूलाई न्यानो स्वागत गरेको स्मरण उहाँले विज्ञप्तिमार्फत राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, नेपाल सरकार, राजनीतिक पार्टी, सङ्घसंस्था, सुरक्षाकर्मीलगायत सबैलाई धन्यवाद पनि दिनुभएको छ

No comments:

Post a Comment