Labels

Tuesday, August 5, 2014

आजको सांसदमा के बोले नेताहरुले ?

काठमाडौँ, २० साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले यही साउन १७ गते सिन्धुपाल्चोक जिल्लाको राम्चे गाविस वडा नं ५ स्थित जुरेमा गएको पहिरोले पु¥याएको क्षति र  सुनकासी नदी खुलाउन भइराखेका प्रयासबारे  सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो ।

सभामुख सुवासचन्द्र नेम्बाङसँग समय माग गरी एकीकृत नेकपा (माओवादी)का सांसद अग्निप्रसाद सापकोटाले जुरेको पहिरोले पुरिएर हालसम्म ३३ जनाको मृत्यु भएको, १५७ वटा घर पुरिएको, ११७ जना बेपत्ता भएको, ४३६ जना विस्थापित भएको र ४० जना घाइते भएको सदनलाई जानकारी गराउनुभयो ।


सांसद सापकोटाले उद्धार कार्य र मानवीय पक्षमा सरकार संवेदनशील नभएको गुनासो गर्दै तत्काल उद्धार कार्यमा जुट्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले सङ्कटग्रस्त घोषणा भएअनुरुप अस्थायी बिजुली व्यवस्था गर्न, वैकल्पिक सडक व्यवस्था गर्न र घाइतेको तत्काल उद्धार गर्न माग गर्नुभयो ।

नेकाका मोहनबहादुर बस्नेतले सुनकोसी नदी थुनिएको तल्लो तटीय क्षेत्र र माथिल्लो क्षेत्र खतरा तथा उच्च जोखिममा रहेको चर्चा गर्दै ताल फुटेमा सोचेभन्दा बढी मानवीय क्षति आउन सक्नेतर्फ सरकार सचेत हुन आग्रह गर्नुभयो ।

उहाँले ताललाई सुरक्षित रुपमा फुुटाउन ध्यान दिन, वैकल्पिक बाटो खोल्न र विस्थापित तथा मृतकका परिवारलाई राहतको व्यवस्था गर्न माग पनि गर्नुभयो ।

नेकपा (एमाले)का सांसद अमृतकुमार बोहराले जुरेको पहिरोले पु¥याएको मानवीय क्षतिपछि तत्काल राहतको व्यवस्था गर्न, सङ्कटग्रस्त क्षेत्र घोषणाअनुरुप राहत बाँड्न, स्वास्थ्य शिविर सञ्चालन गर्न र वैकल्पिक राजमार्ग बनाउन माग गर्नुभयो ।

उहाँले घाइते उपचार, हराइरहेकाहरुको खोजी गर्न र तत्काल राहतका कार्यक्रम सञ्चालन गर्न माग गर्दै स्थानीय जनताको आक्रोशलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । विज्ञहरुको एक कार्यदल बनाई यस्ता घटना नदोहोरिनेतर्फ ध्यान दिनुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सांसद दीलनाथ गिरीले सिन्धुपाल्चोक जिल्लाको राम्चे गाउँ विकास समिति वडा नं ५ स्थित जुरेमा गएको पहिरो र सङ्खुवासभा जिल्लाको स्याबुन–३ फच्याङको घटनाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गर्नुभयो । उहाँले सुनकोसीमा ६१ लाख घनमिटर पानी तालका रुपमा परिणत भएको हुँदा तत्काल सुरक्षित रुपमा ताल फुटाउन पनि माग गर्नुभयो ।

मधेसी जनअधिकार फोरमका सांसद उपेन्द्र यादवले कोसी नदीमा पानीको मात्रा बढेकाले तराईका अधिकांश जनता दिनरात भयभित रुपमा बसेको हुँदा यसतर्फ सरकारको ध्यान जाओस् भन्नुभयो । उहाँले पानी नपरी रोपाइँ गर्न नपाएका कृषकलाई राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सिन्धुपाल्चोक जिल्लाको राम्चे गाउँ विकास समिति वडा नं ५ स्थित जुरेमा गएको पहिरो र सङ्खुवासभा जिल्लाको स्याबुन–३ फच्याङको घटनाबारे यथार्थ जानकारीको माग गर्दै भविष्यमा पहिरो आउन नदिन सरकारी संयन्त्र गठन हुन आवश्यक रहेको बताउनुभयो ।

सङ्घीय समाजवादी पार्टीका सांसद अशोककुमार राईले पीडितलाई आकाशमा हेलिकप्टर उडाएरभन्दा राहतको आवश्यकता भएको बताउनुभयो ।

दुवै घटनाका बारेमा सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन आयोग गठन गर्नसमेत उहाँले माग गर्नुभयो ।

सांसद अइन्द्रसुन्दर नेम्बाङले सरकारले सिन्धुपाल्चोक र सङ्खुवासभाको प्राकृतिक विपद्लाई समान्य रुपमा नलिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

नेका सांसद दीपक खड्काले सङ्खुवासभा जिल्लाको स्याबुन–३ फच्याङमा गएको पहिराले छ जना मृत्यु भएको, चार जना बेपत्ता भएको र ४० घर विस्थापित भएको जानकारी गराउँदै तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभयो ।

नेकपा (एमाले)का गङ्गालाल तुलाधरले सिन्धुपाल्चोक जिल्लाको राम्चे गाउँ विकास समिति वडा नं ५ स्थित जुरेमा गएको पहिरोले पु¥याएको क्षतिबारे सरकारको तर्फबाट सदनलाई तत्काल जानकारी गराउन माग गर्नुभयो ।

सांसद शेरबहादुर तामाङले राम्चे गाउँ विकास समितिका  पहिरो पीडितलाई जिल्ला दैवी प्रकोप उद्धारकोषमा आफ्नो एक महिनाको तलब दिने जानकारी दिँदै अरु सांसदलाई पनि त्यसो गर्न आग्रह गर्नुभयोे ।

No comments:

Post a Comment