Labels

Tuesday, August 5, 2014

तमलोपा र सद्भावना पार्टीको एकीकरण भयो भने म खुशी हुन्छु

-उपेन्द्र यादव
अध्यक्ष, मधेशी जनअधिकार फोरम नेपाल

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले तमलोपा र फोरम नेपालबीच अध्यक्षमा कुरा नमिलेका कारण एकीकरण प्रकृया अवरुद्ध भएको आरोप छ के भन्नुहुन्छ ?
–म आरोप प्रत्यारोपमा जान चाहन्न । राजेन्द्रजीको कुरा म पनि सञ्चारमाध्यमबाट सुनेको हुँ । यो राम्रो कुरा होइन । तीन दलको एकीकरण कुरा प्रकृयामा छन् । प्रकृया नटुगेंसम्म यस्तो अभिव्यक्तिहरु आउनु राम्रो होइन ।


साँच्चै अध्यक्षमै विवाद हो त ?
–कुनै पार्टीका लागि एकजना अध्यक्ष चाहिन्छ यो सत्य हो नि तर अध्यक्ष नै मुख्य कुरा होइन । पहिला सैद्धान्तिक तथा नीतिगत कुरा मिल्नुपर्छ । त्यो मिलेको छैन । म राष्ट्रपति प्रणालीको पक्षमा छु भने उहाँहरु प्रधानमन्त्री प्रणालीको पक्षमा हुनुहुन्छ । म पूर्ण समानुपातिक प्रणालीको पक्षमा छु भने उहाँहरु प्रत्यक्ष निर्वाचन प्रणालीको पक्षमा हुनुहुन्छ । यस्ता धेरै कुरा हामीबीच मिलेका छैन । यी कुराहरु मिलाउन बाँकी छन् । अध्यक्ष फलानो हुनुपर्छ भने छैन तर सक्षम, अनुशासित र इमान्दार अध्यक्ष हुनुपर्छ भने पक्षमा छु । अर्को कुरा ३५० केन्द्रीय सदस्य राखेर कही पार्टी चल्छ ? पार्टी चलाउन त चुस्त दुरुस्त कमिटी हुनुपर्छ, जसले पार्टीको स्प्रीट अनुसार काम गर्न सजिलो होस् । जम्बो समिति बनाएर एमाअ‍ोवादीको के हालत भएको छ, सबैलाई थाहै छ । त्यसैले ३५० केन्द्रीय समितिको कुनै काम छैन । त्यस्तै एकजना अध्यक्ष, एक जना उपाध्यक्ष, एकजना महासचिव र एकजना कोषाध्यक्ष मात्र हुनुपर्छ भने मेरो मान्यता हो । एकीकृत पार्टीका लागि पार्टीको नाम हुनुपर्छ त्यो पनि तय भएको छैन । त्यसैले नीतिगत कुरा नमिलेसम्म एकीकारणको कुनै तुक छैन ।

सैद्धान्तिक विषयमा कुरा मिलिसकेको छ नि ?
–हो त्यसमा कुरा मिलिसकेको छ । मैले प्रस्तुत गरेको सैद्धान्तिक दस्तावेजमा हस्ताक्षर पनि भइसकेको छ । तर कुरा यही निर आएर ठोकिन्छ । जुन सैद्धान्तिक दस्तावेजमा हस्ताक्षर भएको छ त्यही अनुसार पार्टी निर्माण हुनुपर्छ भने मेरो मान्यता हो । सिद्धान्त एकातिर र पार्टीको लाइन र विचार अर्कोतिर हुनु हुँदैन । सिद्धान्त जे छ त्यही अनुसार पार्टी निर्माण हुनुपर्छ । समाजवादी लोकतन्त्रको अवधारणा अगाडी सारिएको छ त्यसलाई मानेर अगाडि बढ्नु पर्यो तर त्यही भइरहेका छैन त्यहाँ । सबैले आआफ्नै डम्फु बजाइ रहेका छन् ।

त्यहाँ सैद्धान्तिक कुरा हुँदैन भने के भइरहेका छन् त ?
–मुद्दा र सिद्धान्त भन्दा पनि उहाँहरु व्यवहारिक कुरामा बढी जोड दिनु हुन्छ । मुद्दामा कुरा हुँदैन । सबैको आआफ्नै समस्या छ । कसैलाई दोष दिनुभन्दा पनि आफूले के गरिरहेको छु त्यो कुरा पनि हेर्नुपर्ने हुन्छ । पार्टी एकीकरण प्रकृयामा रहेकाले म कसैलाई कुनै प्रकारको दोष लगाउन चाहन्न ।

सद्भावना पार्टीले तपाईलाई छाडेर तमलोपासँग एकीकरण गरिरहेका छन् यसमा के भन्नुहुन्छ ?
–ठिक कुरा हो, जोसँग कुरा मिलि रहेको छ, त्योसँग एकीकरण गर्नु राम्रो कुरा हो र, गर्नु पनि पर्छ । यदि सद्भावना र तमलोपाबीचमा एकीकरण हुँदैछन् भने म खुशी छु । यसमा मेरा कुनै गुनासो छैन । बरु ती दुई दलको बीचमा हुन लागेको एकीकरणमा मैले कहाँ सहयोग गर्नुपर्छ त्यो गर्न पनि तयार छु । तमलोपा र सद्भावनाबीचमा पहिला एकीकरण होस् अनि पछि देखाजाला ।

अन्त्यमा भनि दिनुस् त तीन दलको बीचमा अब पनि एकीकरण हुनु कतिको सम्भावना छ ?
–निकै सम्भावना छ । मैले अघि भने नि कि एकीकरणको प्रकृयामा हामी छौ । ढिलो चाँडो एकीकरण हुन्छ । हतार गरेर एकीकरण हुनुहुँदैन । हतारमा गरिएको एकीकरणले पछि पचताउनु पर्छ त्यसैले पहिला नीतिगत कुरामा सहमति गरेर मात्र अन्य विषयमा कुरा टुग्याएर अगाडि बढन्ुपर्छ ।
स्रोत सहाराटाइम्स


No comments:

Post a Comment