Labels

Wednesday, September 16, 2015

मधेशमा दलहरुको अवस्था


काठमाडौ भदौ २८ गते । सविधानसभामा सविधानको धारामाथि छलफल शुरु भएको छ । उता तराई मधेशमा सिमांकनलगायतको विषयमा असन्तुष्टि जनाउँदै मधेशी तथा थारु नेताहरुले आन्दोलन गरिरहेका छन् । मधेशी तथा थारुहरु नेताहरुले मधेशमा आन्दोलन गरेपनि बहुमतले असोज ३ गते नयाँ सविधान जारी हुन गइरहेको छ ।
सविधानसभामा रहेका स्वतन्त्रसहित ३२ दलमध्ये २१ दल सविधान निर्माणको प्रकृयामा भाग लिएका छन् भने स्वतन्त्रसहित ११ वटा राजनीतिक दल सविधान निर्माणको प्रकृयाभन्दा बाहिर रहेर आन्दोलन गरिरहेका छन् । यी ११ वटा दलसँग जम्मा ५७ जना सभासद् रहेका छन् । तराई मधेशका सम्पूर्ण जिल्ला अहिले आन्दोलित छन् । झापादेखि कञ्चनपुरसम्मका २० वटा जिल्लालाई तराई मधेशको जिल्लाको रुपमा चिनिएको छ ।
दोस्रो सविधानसभाको चुनावबाट सबभन्दा ठूलो पार्टीको रुपमा नेपाल काँग्रेस आएको छ ।

त्यसपछि एमाले र एमाओवादी रहेको छ । काँग्रेस पार्टीले देशैभरिबाट प्राप्त गरेको कुलमत (२४१८३७०) मध्ये मधेशको २० जिल्लाका ११६ क्षेत्रबाट १० लाख ३२ हजार मत प्राप्त गरेको छ भने एमालेले देशैभरिबाट प्राप्त गरेको कुलमत (२२३९६०९) मध्ये मधेशबाट मात्र नौ लाख ३२ हजार मत प्राप्त गरेको छ । त्यस्तै एमाओवादीले देशैभरिबाट कुलमत (१४३९७२६७) मध्ये मधेशबाट ६ लाख मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पनि तीन लाख मत त्यहीबाट प्राप्त गरेका छ । अर्थात २४० निर्वाचन क्षेत्रमध्ये ११६ निर्वाचन क्षेत्र रहेको मधेशबाट यी तीन दलले आधा जति मत त्यहीबाट प्राप्त गरेका छन् । काँग्रेसले समानुपातिकमा ९४ र एमालेले ८४ भने एमाओवादीले २४ सीट प्राप्त गरेका छन् ।

काँग्रेसले मधेशबाट ५१, एमालेले ३७ र एमाओवादीले १२ सीट प्रत्यक्षबाट प्राप्त गरेका छन्  भने तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल, मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सद्भावना पार्टी र सद्भावना पार्टी गरी मधेशवादी दलले १२ सिट मात्र प्राप्त गरेका छन् ।
उपेन्द्र यादव अध्यक्ष रहनु भएका फोरम नेपालले दुई लाख चार हजार, महन्थ ठाकुर अध्यक्ष रहनु भएका तमलोपाले एक लाख ६७ हजार, विजयकुमार गच्छदार अध्यक्ष रहनु भएका फोरम लोकतान्त्रिकले दुई लाख ७१ हजार, राजेन्द्र महतो अध्यक्ष रहनु भएका सद्भावना पार्टीले एक लाख ३२ हजार, महेन्द्र राय यादव अध्यक्ष रहनु भएका तराई मधेश सद्भावना पार्टीले ६५ हजार, शरतसिह भण्डारी अध्यक्ष रहनु भएका राष्ट्रिय मधेश समाजवादी पार्टीले ७५ हजार, राजकिशोर यादव अध्यक्ष रहनु भएका मधेशी जनअधिकार फोरम गणतान्त्रिकले ३५ हजार र अनिल झा अध्यक्ष रहनु भएका तत्कालिन संघीय सद्भावना पार्टीले २० हजार मत मधेशबाट प्राप्त गरेका छन् ।
अशोक राई अध्यक्ष रहेको संघीय समाजवादवादी पार्टीसँग फोरम नेपालको एकीकरण भएपछि फोरम नेपालको सीटसँख्या १५ पुगेको हो । त्यसअघि फोरम नेपालले प्रत्यक्षमा दुई र समानुपातिकमा ८ गरी १० सीट प्राप्त गरेका थिए ।
समानुपातिक मत जोडेर पनि मधेशवादी दल तथा थारुहरुको दल मिलाएर ५७ सिट रहेका छन् । जब कि काँग्रेसले मात्र प्रत्यक्षमा ५१ सीट मधेशमा जितेका छन् । तीन दल मात्र प्रत्यक्षमा एकसय जना सभासद् मधेशबाट नै जितेका छन् । सविधानसभा बहिष्कार गरेका आठ मधेशी दलले पुरै मधेश आफ्नै हो भनि दावी गर्दै आएका छन् । तराई मधेशमा आफ्नै बर्चस्व रहेको दावी पनि गर्दै आएका छन् । तराई मधेशको सिमांकनलगायतका विषय लिएर मधेशवादी दलको मात्र असन्तुष्टि देखिएको छैन ।
त्यहाँ काँग्रेस, एमाले र एमाओवादीका सभासद् र नेताहरुले पनि असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका छन् । काँग्रेस र एमाओवादीका सभासद्हरुले आफ्ना पार्टीमा आफ्नो असन्तुष्टि बारे पटक पटक जानकारी गराएका छन् । त्यति मात्र होइन, उहाँहरुले सविधानसभामा संशोधन प्रस्ताव पनि दार्ता गराउनु भएको छ । एमाओवादीका मधेशी सभासद् प्रभु साहले सविधान निर्माणको प्रकृयामा भाग नलिने कुराको जानकारी सविधानसभाका अध्यक्ष सुवाष नेम्वाङ्गलाई जानकारी गराई सक्नु भएको छ ।

No comments:

Post a Comment